१३ असार २०८३, शनिबार
मुलुककै जेठो बिस्कुट कम्पनीको पुनरुदय

आगलागीको क्षति बिर्सिएर तंग्रिँदै नेबिको, 'प्रोडक्ट' थपेर आक्रामक बजार विस्तारमा

आगलागीको क्षति बिर्सिएर तंग्रिँदै नेबिको, 'प्रोडक्ट' थपेर आक्रामक बजार विस्तारमा

नयाँ आर्थिक वर्ष लागेसँगै नयाँ उत्साहका साथ काम तयारीमा थियो नेपालको सबैभन्दा जेठो बिस्कुट उद्योग ‘नेबिको प्रालि’ ।

साउन २२ गते शुक्रवार साँझसम्म म्यानेजमेन्ट टीम नयाँ ढंगले अगाडि बढ्न छलफल गर्दै थियो । 

त्यो दिन साँझ साढे ७ बजेसम्म बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको कार्यालयमा नयाँ रणनीतिका साथ अगाडि बढ्न छलफल गरिएको थियो । 

भोलिपल्ट शनिवार । प्रायः बिदामा थिए ।

कार्यालयबाट आफ्नै डिपार्टमेन्टका एक साथीको लगातारको फोन निन्द्राकै झोकमा उठाउन बाध्य भए, अरुण राज पौडेल ।

पौडेल नेबिकोका ब्राण्ड म्यानेजर हुन् । उनलाई आफ्नै डिपार्टमेन्टका साथीले बिहान सवा ४ बजे आसपासमा नै फोन गरेका थिए । फोनमा उनले सुनाएको कुराले झसंग भए, अरुण ।

फोनमा भनिएको थियो, ‘तपाईं तुरुन्तै अफिस आउनुपर्ने भयो । कार्यालयमा भीषण आगलागी भएको छ ।’

अरुणले झिसमिसेमै आएको फोनसँगै आँखा मिच्दै विस्ताराबाट उठे । 

साथीले भनेको कुरा विश्वास गर्नै नसक्ने खाले थियो । तर पनि विश्वास गर्न बाध्य भए उनी । 

त्यसपछि तयारी गरे अफिस निस्कने । 

हतास भएको र नियमित तालिकाभन्दा अगाडि नै उठेपछि उनकी पत्नीले पौडेललाई प्रश्न गरिन्– ‘के भयो ? कहाँ जान लाग्नुभयो ?’

अरुण नाजवाफ बने । उनीसँग कुनै शब्द नै थिएन । 

अघिल्लो दिन नयाँ योजना बनाएर अफिसबाट घर ढिला फर्किएका र पत्नीलाई खुशीका कुरा सुनाएका पौडेललाई निकै द्विविधा भयो एकाबिहानै आगलागीको खबर कसरी सुनाऔं । 

घरबाट निस्कनै लाग्दा मात्र उनले पत्नीलाई भने– म अफिस जान लागेको, आगलागी भयो रे !

त्यसपछि पत्नीको प्रतिक्रिया समेत केही नसुनी अरुण अफिसतर्फ लागे ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको फ्याक्ट्रीमा भएको आगलागी निकै ठूलो थियो । 

अफिस जाँदै गर्दा अरुणले महाराजगञ्जबाटै धूँवाको मुस्लो देखे । 

त्यसपछि उनको मन झनै आत्तियो । 

अफिस पुग्दा केही उज्यालो भइसकेको थियो । औद्योगिक क्षेत्रको प्रवेशद्वारमा नै निकै हल्लाखल्ला मच्चिरहेको थियो । 

उनी अफिस पुग्दा आगलागी निकै भीषण भइरहेको थियो । 

१२ घण्टाको निरन्तर प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । 

लोकान्तरसँगको कुराकानीमा ब्राण्ड म्यानेजर पौडेलले भावुक हुँदै सुनाएको कहानी हो यो । 

उनी प्रतिनिधि पात्र मात्रै हुन् । 

कम्पनीका व्यवस्थापक मात्र हैन प्रायः सबैका लागि आगलागीको खबर अप्रत्याशित थियो । 

‘५८ वर्षमा यात्रा गरिरहेको ऐतिहासिक उद्योग जलिरहँदा धेरैको मन जलिरहेको थियो,’ पौडेलले सुनाए ।

०००

अस्तित्व जोगाउने यात्रा

नेबिको प्रालि मुलुककै जेठो बिस्कुट उद्योग हो ।

सन् १९६० (वि.सं. २०२०)मा सञ्चालनमा आएको यस उद्योगप्रति धेरैको आस्था जोडिएको छ ।

नजोडियोस् पनि किन, निकै पुरानो यस कम्पनीका बिस्कुट प्रायः सबैको चियाखाजाको रूपमा रहँदै आएको छ । 

भावना पनि गहिरोसँग जोडिएको छ । 

नेबिको आगलागीपछि कसरी अगाडि बढ्ने ? त्यो सोच्नै सकिने अवस्था थिएन । 

५८ वर्षको यो उद्योग अब इतिहास बन्ने हो कि भन्ने चिन्ता र संशय पैदा भयो ।  

नेबिकोको टीम भने त्यतिखेर के गर्ने भन्ने सोच्न सक्ने अवस्थामा थिएन ।

आगलागी नियन्त्रणमा आएपछि खण्डहर बनेको थियो, प्लान्ट । 

आउने, मुखामुख गर्ने, अँध्यारो अनुहार लगाएर फर्कने दैनिकी नै बनेको थियो टीमको । 

अगाडि बढ्नका लागि नयाँ तयारी गर्ने सोच्न नै उद्योगका सञ्चालक समूहलाई एक साताभन्दा बढी लागेको ब्राण्ड म्यानेजर पौडेलले सुनाए । 

आगलागीबाट कम क्षति भएका मशिनहरूलाई मर्मत गरेर तत्कालका लागि उद्योग चलाउनुपर्ने बाध्यता थियो ।

आफ्नो अस्तित्व जोगाउनका लागि पनि तत्कालै उद्योग सञ्चालनमा ल्याउनुपर्नेमा कम्पनी पुग्यो । 

फलस्वरूप आगलागीको ४४ दिनपछि (गत असोज २३ देखि) उद्योग सञ्चालनमा ल्याइयो ।

‘भइरहेका मशिनहरूबाट नै जति सकिन्छ त्यति क्षमतामा उद्योग सञ्चालन गर्ने गरी ४४ दिनपछि हामीले पुनः काम शुरू गर्‍यौँ, यो अस्तित्व जोगाउनका लागि मात्रै थियो,’ पौडेलले भने ।

आगलागीपछि नेबिको अहिले ६० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको छ ।

आगलागीबाट ५० करोड रुपैयाँको नोक्सानी व्यहोरेको छ । 

क्षतिपछि पुनः सञ्चालनका लागि कम्पनीले करीब ३ करोड रुपैयाँ खर्च गर्‍यो । तर त्यो खर्च पूर्ण सञ्चालनका लागि होइन, आपतकालका लागि मात्रै थियो । 

आगलागीपछि उद्योग त क्षति भयो नै, बजारमा बिस्कुट नै पठाउन नपाउने हो कि भन्ने चिन्ताले कम्पनीका सञ्चालकहरू तनावमा थिए ।

अस्तित्व रक्षाका लागि र बजारमा बिस्कुट पुर्‍याउनकै लागि भएपनि जस्तो हुन्छ, त्यसै गरी उत्पादन शुरू गर्ने पक्षमा सबै सहमत भए । 

त्यसपछि शुरू भएको थियो पुनः उत्पादन ।

‘अस्तित्व रक्षाका लागि मात्रै शुरूआती दिनमा उद्योग सञ्चालनमा ल्याएका हौँ, अहिले पनि सोही अवस्था हो,’ पौडेल सुनाउँछन् । 

कसरी तंग्रिँदै छ उद्योग ?

नेबिकोमा आगलागी भएको अहिले ५ महिना बितेको छ ।  यस अवधिमा उद्योगले बिस्तारै तंग्रिने अभ्यास गर्दैछ ।  

५० करोड क्षति बेहोरे पनि बिमावापत २६ करोड रुपैयाँ मात्रै दावी भुक्तानी पाउने अवस्था गरेको कम्पनीको भनाइ छ ।

बिमाको रकम भुक्तानीको प्रक्रियामै छ ।

उद्योगको बालाजुस्थित प्लान्ट क्षत् विक्षत् अवस्थामा छ । तर कतिपय भने रेट्रोफिटिङ मात्रै गरेमा पुग्ने देखिएको छ । 

अहिले उद्योगले सो प्लान्टलाई मर्मत सम्भार गर्दै काम गरिरहेको कम्पनीका ब्राण्ड म्यानेजर पौडेलले बताए ।

यसबाहेक उद्योगले आगामी वैशाख महिनासम्ममा बालाजुमा नयाँ प्लान्ट स्थापना गर्दैछ ।

‘नयाँ प्लान्टको काम करीब अन्तिम चरणमा पुग्न लागेको छ, वैशाखसम्ममा हामीले यसलाई सञ्चालनमा ल्याउन सक्छौँ भन्ने विश्वास छ,’ पौडेलले भने । 

आगलागी भएको प्लान्टकै साटोमा नयाँ प्लान्ट ल्याउन लागिएको उनको भनाइ छ ।  

कति भइरहेको छ उत्पादन ?

नेबिकोको बालाजु प्लान्टमा आगलागीपश्चात दैनिक १५ टन बिस्कुट उत्पादन भइरहेको छ ।

आगलागी अगाडि भने उद्योगले बालाजु प्लान्टबाट २५ टन बिस्कुट उत्पादन गरिरहेको थियो । नयाँ प्लान्ट स्थापनापछि बालाजु प्लान्टबाट दैनिक ४० टन बिस्कुट उत्पादन हुनेछ ।

विगतमा ७७ वटै जिल्लाका हरेक कुनाकाप्चामा नेबिकोको बिस्कुट तथा कुकिज पुग्ने गरेको थियो । 

आगलागीपछि पनि सबैतिर पुर्‍याउने प्रयास भइरहेको छ । तर पर्याप्त भने पुर्‍याउन नसकिएको कम्पनीको भनाइ छ ।  

नयाँ उत्पादन बजारमा

उद्योगले नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको छ ।

‘मल्ट्रीग्रेन ट्रेकर्स् च्वाइस’ नामको यो बिस्कुटले केही दिनमा नै बजारमा बिक्री शुरू गर्नेछ ।

सय ग्राममा उपलब्ध हुने यस बिस्कुटको बजार मूल्य २५ रुपैयाँ कायम गरिएको छ ।

यस बिस्कुटमा जौ, तिल, बदाम, ओट्ससहितका पौष्टिक तत्व समावेश गरिएको उद्योगले जनाएको छ ।

उद्योगले चालू आर्थिक वर्षमा ४/५ वटा नयाँ प्रोडक्ट ल्याउने तयारी गरेको छ । ​

आक्रामक बजार विस्तार योजना

उद्योग आगामी वैशाखदेखि आक्रामक रूपमा बजार विस्तार गर्ने योजना छ ।

नयाँ प्लान्टसँगै उच्चतम प्रविधि समेत प्रयोगमा आउने र त्यसले बजार विस्तारमा उल्लेखनीय सहयोग गर्ने उद्योगको अपेक्षा छ ।

कम्पनीका ब्राण्ड म्यानेजर पौडेलका अनुसार, नयाँ प्लान्ट सञ्चालनमा आएसँगै मासिक २० करोडसम्मको व्यापार गर्ने क्षमतामा उद्योग पुग्नेछ ।

हाल कम्पनीले मासिक करीब १२ करोडसम्मको व्यापार गरेको समेत उनले बताए । 

नयाँ प्लान्ट सञ्चालनमा आएपछि आगलागी पहिलेको क्षमतामा पनि ४० प्रतिशत क्षमता थपेर बजारमा उत्पादन गर्ने उद्योगको तयारी छ ।

‘हामी वैशाखपछि पहिलेको क्षमतामा ४० प्रतिशत थप गरेर अगाडि बढ्नेछौँ, जसले गर्दा बजारमा हाम्रो एग्रेसिभ्ली उपस्थिति हुनेछ,’ पौडेलले भने । 

५८ वर्ष लामो ‘लिगेसी’ बोकेर अगाडि बढिरहेको नेबिकोमा करीब ४ सय जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्