२८ जेठ २०८३, बिहीबार
कर्मचारी व्यबस्थापनमा भद्रगोल

प्रधानमन्त्री कार्यालयमा जात्रा– दरबन्दीभन्दा दोब्बर सरुवा, ५ सचिव नै बेरोजगार !

पुस २९, २०७८
प्रधानमन्त्री कार्यालयमा जात्रा– दरबन्दीभन्दा दोब्बर सरुवा, ५ सचिव नै बेरोजगार !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ५ जना सचिवहरूलाई बेकामे बनाइएको छ । 

दरबन्दीभन्दा बढी संख्यामा सचिवहरूको सरुवा भएपछि जगेडामा थन्क्याइएका सचिवहरू बेकामे भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवबाहेक ६ जना सचिवहरूको मात्र दरबन्दी छ तर अहिले थप ४ जना सचिव समेतलाई सरुवा गरेर ल्याई जगेडामा राखिएको छ । उपयुक्त जिम्मेवारी नपाए पछि सरुवा भएर पुगेका ती सचिवहरू घाम तापेर दिन बिताउने र तलब पकाउने काममा सीमित भएका छन् ।

कार्यालयमा अहिले मुख्यसचिव शंकरदास बैरागी, सचिवहरू शिशिरकुमार ढुंगाना, यामकुमारी खतिवडा, लक्ष्मण अर्याल, डा. रमेशप्रसाद सिंह, रामप्रसाद थपलिया, सूर्यप्रसाद गौतम, धनराज ज्ञवाली, खगेन्द्रप्रसाद नेपाल कार्यरत छन् । त्यसबाहेक त्यहाँ सरुवा गरिएका सचिव मधुसुदन बुर्लाकोटी अहिले हाजिर भइसकेका छैनन् ।

प्रधानमन्त्रीले लिखित रूपमा सचिवलाई कामको अख्तियारी दिने प्रचलन छ । त्यसअनुसार शिशिरकुमार ढुंगानालाई आर्थिक तथा पूर्वाधार विकास, लक्ष्मण अर्याललाई प्रशासन र नतिजा व्यवस्थापन, रामप्रसाद थपलियालाई प्रादेशिक समन्वय र सामाजिक विकास, सूर्यप्रसाद गौतमलाई राष्ट्रिय सुरक्षा र सुशासन, धनराज ज्ञवालीलाई कानून तथा मानवअधिकार शाखाको जिम्मेवारी दिइएको छ ।

दरबन्दी अनुसार ती ५ जना सचिवले मात्र प्रधानमन्त्रीबाट लिखित रूपमा कामको अख्तियारी पाएका छन् । बाँकी सचिवहरूलाई त्यसै व्यवस्थापन गरिएको छ ।

जस्तैः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएकी सचिव यामकुमारी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेर्ने जिम्मेवारी दिइएको छ । जबकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको रूपमा डा. रोशन पोखरेल कार्यरत छन् । पोखरेलले नेतृत्व गरिरहेको मन्त्रालयमा खतिवडाले प्रधानमन्त्री कार्यालयबाट के कस्तो काम हेर्ने भन्ने कुरा प्रस्ट भएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार खगेन्द्रप्रसाद नेपाल फरक क्षमताको व्यक्ति भएका कारण उनको लागि विशेष दरबन्दी सिर्जना गरिएको हो । ‘उहाँले काम गर्न असमर्थ भएका कारण उहाँको लागि विशेष दरबन्दी नै सिर्जना गरिएको हो,’ उनले भने ।

शहरी विकास मन्त्रालयबाट सरुवा भएर पुगेका रमेशप्रसाद सिंहलाई विशेष प्राविधिक क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ तर के प्राविधिक हेर्ने भन्ने कुरा प्रस्ट छैन । ‘उहाँलाई पनि प्राविधिक क्षेत्र हेर्ने जिम्मेवारी दिइएको हो,’ पन्थले लोकान्तरसँग भने, ‘मधुसुदन बुर्लाकोटी अहिलेसम्म हाजिर हुनुभएको छैन, यहाँ हाजिर भइसकेपछि उहाँलाई पनि कुनै न कुनै शाखा हेर्ने जिम्मेवारी दिइन्छ होला ।’

दरबन्दीभन्दा बढी सचिव किन सरुवा गरिएको हो भन्ने विषयको जवाफ दिन नसकिने उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत एक सचिवका अनुसार जगेडामा राखिएका सचिवहरूलाई सरकारले उचित जिम्मेवारी दिन नसक्दा भद्रगोल देखिएको छ । ‘नचाहिँदो काम भएको छ, हेर्दै नहुने लाजमर्दो काम गरिएको छ,’ ती सचिवले लोकान्तरसँग भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले हस्तक्षेप नगरेर पनि त्यस्तो बेथिति बढेको हो, विभिन्न स्वार्थ समूहहरूले चलखेल गरेर सचिवहरूको सरुवा गराइरहेको हुनाले पनि अहिलेको स्थिति उत्पन्न भएको हो ।’

बढी सचिव थन्किएर कामविहीन भएको कुरा मुख्यसचिवले पनि हेर्नुपर्ने उनले बताए । ‘कस्तोसम्म भएको छ भने थपिएका सचिवहरूको भेट प्रधानमन्त्रीज्यूसँग विरलै हुने गरेको छ,’ ती सचिवले भने ।

नेपाल सरकारका अवकाश प्राप्त पूर्व मुख्यसचिव विमल कोइराला पनि प्रधानमन्त्री कार्यालयमा १० जनासम्म सचिव थुपार्नु भनेको विकृतिको नमूना नै भएको बताउँछन् । त्यहाँ धेरै जना सचिवको कुनै काम नै नभएको उनले बताए । २०६२ सालमा उनी मुख्यसचिव भएको बेला ३ जना सचिवको दरबन्दी थियो ।

‘त्यतिबेला पनि ३ जना सचिवको दरबन्दी बढी भयो भनेर मैले १ जना सचिवको दरबन्दी हटाउन लगाएको थिएँ,’ पूर्व मुख्यसचिव कोइरालाले लोकान्तरसँग भने, ‘तर त्यसपछि पनि ४, ५, ६ हुँदै अहिले १० जनासम्म सचिव राखिनु भनेको विकृतिको नमूना नै हो ।’

नियतवश कसैलाई बढुवा गर्नुपर्‍यो वा कतै राम्रो ठाउँमा व्यवस्थापन गर्नुपर्‍यो भने पनि बढी सचिव राखिएको हुनसक्ने उनले बताए ।

नेपाल सरकारका पूर्व सचिव विमल वाग्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ३ जनाभन्दा बढी सचिवहरूको कामै नरहेको बताउँछन् । ‘त्यसै पनि त्यहाँ मुख्यसचिव हुने हुनाले काम गर्ने सचिवहरू एक किसिमले सहसचिवसरह जस्तो मात्र हुन्छ,’ उनले थपे, ‘त्यसमा पनि १० जनासम्म सचिवहरू राख्नु भनेको काम नगराएर तलब दिनु मात्र हो ।’

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीकै विभिन्न क्षेत्रका सल्लाहकारहरू नियुक्त भएका हुन्छन् । वाग्लेका अनुसार ती सल्लाहकारहरूले नै सचिवले गर्नुपर्ने काम गरिरहेका हुनाले पनि मुख्यसचिव समेत गरेर कूल ३ जना सचिवको भन्दा बढीको काम नै छैन ।

सहसचिव, उपसचिव जस्तोलाई अहिले पनि कुनै जिम्मेवारी नहुँदा अतिरिक्त समूहमा राख्ने गरिन्छ । ‘तर विशिष्ट श्रेणीको सचिवलाई अतिरिक्त समूह भनेर राख्दा नमज्जा हुन्छ, बाहिर राम्रो सन्देश पनि जाँदैन,’ वाग्लेले लोकान्तरसँग भने, ‘त्यसैले अतिरिक्त समूह नभने पनि अहिले त्यहाँ थुपारिएका सचिवहरूलाई अतिरिक्त समूहजस्तै राखिएको छ ।’

११ जना सहसचिवको मात्र दरबन्दी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले १३ जना सहसचिवहरू कार्यरत छन् । यसअघिका प्रवक्ता कृष्णबहादुर राउत सचिवमा बढुवा भएपछि रिक्त भएको शाखामा एक जना तोकिनेछन् तर पनि २ जना सहसचिवको जिम्मेवारी हालसम्म तोकिएको छैन ।

सहसचिवहरूमध्ये महादेव पन्थलाई प्रादेशिक समन्वय तथा योजना महाशाखा, कौशलचन्द्र सुवेदीलाई मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौता महाशाखा, ध्रुव घिमिरेलाई लगानी, उत्पादन तथा रोजगार प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइएको छ ।

सहसचिवहरू शंकर नेपाललाई सामाजिक विकास तथा रूपान्तरण महाशाखा, बुद्धबहादुर गुरुङलाई मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय, शिवादेवी दाहाललाई नतिजा व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

मदन दहाललाई प्रशासन महाशाखा, राजेन्द्र पराजुलीलाई राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, तीर्थराज चिलुवाललाई पूर्वाधार विकास महाशाखाको जिम्मेवारी दिइएको छ । त्यसबाहेक केही सहसचिवहरू भने जिम्मेवारी विहीन भएर बेकामे भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थ भने सबै सहसचिवको जिम्मेवारी तोकिन बाँकी नै रहेकाले केही दिनपछि मात्र कति जना जिम्मेवारीविहीन छन् भनेर भन्न सकिने बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्