२४ असार २०८३, बुधबार
विवादैविवादको घेरामा जोनसन

बेलायती प्रधानमन्त्रीको 'पार्टीकाण्ड' र जोनसन सरकारविरुद्ध आक्रोशको बढ्दो ग्राफ

बेलायती प्रधानमन्त्रीको 'पार्टीकाण्ड' र जोनसन सरकारविरुद्ध आक्रोशको बढ्दो ग्राफ
Photo : Getty Image

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन हिजोआज निकै गम्भीर चुनौतीको सामना गरिरहेका छन् । दिनदिनै उनको राजीनामा माग्दै प्रदर्शनहरू भइरहेकाले उनी अभूतपूर्व दबाबको स्थितिमा छन् । 

पोहोर साल बेलायतमा कोरोना संक्रमण रोक्नका लागि कठोर लकडाउन लगाइएको बेलामा जोनसन र उनका सहयोगीहरू प्रधानमन्त्री कार्यालयमा जाँडपार्टीमा रमाएको एकपछि अर्को खुलासा भएपछि जोनसनको राजीनामाको माग आइरहेको हो । जनता भटाभट मरिरहेको अनि लकडाउनका कारण कष्टकर जीवन बिताइरहेको बेलामा सरकारी अधिकारीहरूले मोजमस्ती गरेको खुलासा हुँदा आक्रोशको लहर दौडिनु स्वाभाविक हो ।  

उक्त घटना सार्वजनिक भएपछि सबै बेलायतीहरू रिसाएका छन् भने सत्तारूढ कन्जर्भेटिभ पार्टी समेत लज्जास्पद स्थितिमा पुगेको छ ।

बेलायती सञ्चारमाध्यमले विभिन्न खुलासा गरी जोनसन सरकार अनैतिक, असहानुभूतिशील र अमर्यादित रहेको देखाए पनि जोनसन र उनका अधिकारीहरूले त्यसमा प्रतिक्रिया दिएका थिएनन् । तर आफैं रक्सी लिएर प्रधानमन्त्री कार्यालयको प्रांगणमा गई पार्टी गरेको भन्ने पछिल्लो खुलासापछि चाहिँ जोनसनले बेलायती जनतासमक्ष माफी मागेका थिए । 

अझ पोहोर साल रानी एलिजाबेथका पति राजकुमार फिलिपको मृत्यु भएको बेलामा समेत प्रधानमन्त्री कार्यालयमा पार्टी गरिएको पाइयो । अन्त्येष्टि समारोहको अघिल्लो रात पार्टी गरी असंवेदनशीलता देखाएको पाइएपछि जोनसनले रानीसँग पनि माफी माग्नुपरेको छ । 

यी घटनाहरूको अनुसन्धान गर्नका लागि वरिष्ठ सरकारी कर्मचारी सु ग्रेको संयोजकत्वमा एउटा छानबिन समिति गठन गरिएको छ । दिनदिनै नयाँ खुलासा भइरहँदा ग्रेको अनुसन्धानको दायरा पनि बढेको बढ्यै छ । 

जोनसनका कदमले कुनै कानून तोडेको हो कि हैन भन्ने कुरा ग्रेको प्रतिवेदनले निर्धारण गर्न सक्दैन । तर प्रतिवेदनमा गरिएको विस्तृत वर्णनले जोनसनलाई राजीनामा दिनका लागि दबाब दिन सक्छ । 

त्यसो त यस काण्डका बावजूद जोनसन सत्तामा रहिरहन सक्छन् किनकि उनी लोकप्रिय मतादेशका साथ प्रधानमन्त्री बनेका हुन् । अहिले उनको समर्थन सूचकांक घटेको अनि जनताको आक्रोश उनीतर्फ तेर्सिएको भए पनि सन् २०१९ मा भएको आमनिर्वाचन उनले ब्रेक्जिटको मुद्दालाई टुंगो लगाउने प्रतिबद्धताका साथ जितेका थिए । उनको त्यो आकर्षण अब कायम नरहेको र उनी सत्तामा रहिरहेमा कन्जर्भेटिभ पार्टीलाई घाटा हुने सोच पार्टीले राखेछ भने मात्र उनलाई राजीनामा दिन दबाब दिनेछ । 

अबको केही महिनामा जोनसनको लोकप्रियता मापन गर्ने अवसर आउन लागेको छ । मे ५ मा इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्समा स्थानीय निर्वाचन हुनेछ । 

त्यस मितिअघि जोनसनलाई पदबाट हटाउनु निकै जोखिमपूर्ण हुने सोच कन्जर्भेटिभ पार्टीले राखेको छ किनकि त्यसको परिणाम के हुन्छ भनी कसैलाई थाहा छैन । 

‘कन्जर्भेटिभहरू जोनसनलाई हटाउने विषयमा गम्भीर छन् भने उनीहरूले सन् २०१० देखि सत्तामा रहेको दललाई नवीनता दिने व्यक्ति खोज्नुपर्छ,’ साउथह्याम्पटन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक विल जेनिङ्सले बताए । ‘उनीहरू स्थानीय निर्वाचनमा नराम्ररी पराजित भएमा नयाँ नेतालाई त्यसले तत्कालै ब्याकफूटमा पुर्‍याइदिन्छ ।’

कन्जर्भेटिभ पार्टीका कैयौं वरिष्ठ सदस्यहरूले स्थानीय निर्वाचनमा ठूलै हार बेहोरिएमा जोनसनलाई हटाउनका लागि उपाय खोज्ने सीएनएनलाई बताएका छन् । 

कन्जर्भेटिभ पार्टीका कैयौं वरिष्ठ सदस्यहरूले स्थानीय निर्वाचनमा ठूलै हार बेहोरिएमा जोनसनलाई हटाउनका लागि उपाय खोज्ने सीएनएनलाई बताएका छन् । 

नयाँ नेताले ब्रेक्जिटको भन्दा बढी जटिल परियोजना ल्याएर त्यसलाई जनतासमक्ष व्याख्या गर्न समय पाउनुपर्ने एक वरिष्ठ कन्जर्भेटिभ अधिकारीले बताए । ‘गेट ब्रेक्जिट डन’को नारा दिएर जोनसनले कन्जर्भेटिभ पार्टीलाई सन् २०१९ मा विशाल जीत दिलाएका थिए । 

सन् २०१९ मा ब्रेक्जिटको मुद्दा अवरोधक बनेको थियो र त्यसलाई हल गर्नैपर्ने थियो । ब्रेक्जिटका लागि जनमतसंग्रहमा मत दिएको तीन वर्ष बित्दा पनि बेलायत युरोपेली संघबाट प्रभावकारी रूपमा बाहिरिन नसक्दा जनता निराश तथा थकित भएका थिए । जोनसनले ब्रेक्जिट गराउने भनी स्पष्ट धारणा राखेकाले उनलाई जनताले पत्याएका थिए ।

सन् २०१० देखि सत्तामा रहेको दललाई नयाँ परियोजना ल्याउन सहज छैन । त्यस्तो परियोजनालाई पूर्ण रूप दिएर सन् २०२४ को मे महिनाअघि तयार पारिसक्नुपर्नेछ । त्यसबेलामा नयाँ आमनिर्वाचन गरिनेछ । 

राजनीतिमा त्यो लामो समय जस्तो लाग्छ तर त्यस अवधिसम्म पार्टीको साख कायम राखिरहन कुनै पनि राजनीतिकर्मीलाई गाह्रै पर्छ । 

प्रधानमन्त्री बन्नुअघि नै लोकप्रियता हासिल गरेका जोनसनलाई स्थानीय निर्वाचनमा नराम्रो हारका बावजूद हटाउन कन्जर्भेटिभ पार्टीलाई गाह्रो पर्नेछ किनकि जनतालाई अपील गर्ने परियोजना बनाउन नै मुश्किल देखिन्छ । 

‘कन्जर्भेटिभ पार्टीलाई यस विषयमा निर्णय लिन एकदमै गाह्रो छ । आँकडा केलाएर भन्दा पनि मनले के भन्छ त्यसका आधारमा निर्णय लिनुपर्ने देखिन्छ,’ सलमा शाहले बताइन् । उनी कन्जर्भेटिभ पार्टीकी पूर्व विशेष सल्लाहकार हुन् । 

‘एकातर्फ बहालवाला प्रधानमन्त्रीलाई अपदस्थ गरी नयाँ मान्छे ल्याउनु उचित छ कि छैन भन्नेमा विचार गर्नुपर्ने हुन्छ भने अर्कातर्फ केही नगरी बस्दा पार्टीले चुनाव हार्ने सम्भावना पनि बढ्दै जान्छ,’ उनले थपिन् । 

अहिले जतिसुकै विवाद उठेको भए पनि कन्जर्भेटिभ पार्टीलाई आमचुनाव जिताउने सबभन्दा आशालाग्दा व्यक्ति जोनसन नै भएकाले उनैलाई निरन्तरता दिइने देखिन्छ । कन्जर्भेटिभ पार्टीका कर्मचारीका अनुसार, उनलाई विस्थापित गर्नका लागि गतिलो योजना भएको व्यक्ति पार्टीमा छैन । 

जोनसनका निकट रहेका अर्का वरिष्ठ कन्जर्भेटिभ अधिकारीले सीएनएनलाई बताएअनुसार, जोनसनले निकै खराब प्रदर्शन गरिरहेको भए पनि उनलाई हटाउँदा अहिलेको भन्दा नराम्रो स्थिति आउनेछ । 

‘उनी प्रधानमन्त्री पदबाट कुनै हालतमा हट्न चाहँदैनन् जसले गर्दा उनलाई हटाउन खोज्ने प्रयास निकै विवादित हुनेछ । यसरी हटाउन खोज्दा पार्टी एकताबद्ध नरहेको र अस्तव्यस्त भएको सन्देश जनतासमक्ष पुग्छ,’ वरिष्ठ कन्जर्भेटिभ नेताले बताए । 

अनि आगामी निर्वाचनको आर्थिक परिस्थिति कन्जर्भेटिभ पार्टी अनुकूल छैन । जीवनयापन खर्च बढेर संकटको स्थिति छ, सार्वजनिक सेवाहरू अपर्याप्त छन्, कोभिड महामारीबाट मुक्ति पाइएको छैन अनि ब्रेक्जिटका कारण अनेकथरी समस्या कायम छन् । 

कुनै पनि कन्जर्भेटिभ नेताका लागि यी समस्याहरूको व्यवस्थापन गर्न निकै कठिन हुनेछ किनकि पार्टी सत्तामा बसेको धेरै लामो समय भइसकेको छ । अनि जोनसनका लाख खराबी भए पनि उनी चिरपरिचित व्यक्ति हुन् र निकै सफल चुनावी अभियन्ता हुन् भन्ने कुरा स्थापित भएकाले पार्टी सत्तामा रहनका लागि जोनसन नै उत्तम विकल्प हुन् । उनले आगामी आमनिर्वाचनमा झिनै भए पनि बहुमत ल्याएर पार्टीलाई जिताए भने सम्मानजनक बहिर्गमनका लागि पार्टीले उनीसँग सम्झौता गर्न सक्छ । 

तर अहिले र आमनिर्वाचनसम्म पार्टीले विभिन्न राजनीतिक लडाइँका लागि उत्साह, ऊर्जा र उमंग खोज्नुपर्नेछ । त्यसो गर्न नसकेमा बेलायतमा राजनीतिको नयाँ युग शुरू हुन सक्छ । सरकारी खर्चकटौती गर्ने, ब्रेक्जिट गराउने अनि देशको छविलाई नै परिवर्तनको कोशिश गर्ने कन्जर्भेटिभ पार्टी सत्ताबाट बाहिरिएमा त्यसलाई नितान्त भिन्न कुराले विस्थापित गर्नेछ । 

सीएनएनमा प्रकाशित ल्युक मकगीको विश्लेषणलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्