०९ साउन २०८३, शनिबार

चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको गुनासो

चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको गुनासो
प्रतिकात्मक तस्वीर

तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् ।

अस्पतालमा कार्यरत चिकित्सकले विक्रम संवत् २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् । 

अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका हुन् ।

अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले गत असोज महिनादेखि तलब पनि पाएका छैनन् । तलब नपाएपनि चिकित्सकहरूले विना पारिश्रमिक काम गरिरहेका छन् ।

कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले भने भत्ता नपाएको गुनासो गरेका छन् । कामबापत निरन्तर पाउनुपर्ने तलब भत्ताको लागि बारम्बार ताकेता गर्दा पनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन दिने कामबाहेक अन्य केही हुन नसकेको अस्पतालका डाक्टर सिन्जन पाण्डेले बताए ।

विगत लामो समयदेखि तलबभत्ता विना काम गरिरहँदा पनि सुनुवाइ नभएकाले चिकित्सक हतोत्साही भएको उनले बताए ।

तलबभत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । तलबभत्ता उपलब्ध नभएमा दैनिक कामकाज गर्न असमर्थ हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

‘अस्पतालका प्रमुखलाई माघ १६ गते नै निवेदन दिइसकेका छौं, १ हप्ताको समय बितिसक्दा पनि केही उपलब्धि नहुँदा हामी अस्पतालका चिकित्सक माघ २३ गते आइतवारदेखि दैनिक कामकाजबाट पछि हट्न बाध्य भएका छौं,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यसबाट सेवाग्राहीलाई हुन जाने असहजताका लागि क्षमाप्रार्थी छौं ।’

दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबभत्ता प्रदान गर्न पहल भइरहेको बताए । ‘बजेट निकासा नभएका कारण यो समस्या आएको हो, यसबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने ।

उनले अस्पतालमा कार्यरत २ जना विशेषज्ञ डाक्टरको तलब अर्थ मन्त्रालयले निकासा गरेपनि करारमा कार्यरत चिकित्सकको हकमा भने बजेट निकासा नगरिदिँदा समस्या भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्