०६ असार २०८३, शनिबार

आईईई प्रतिवेदन स्वीकृत नहुँदा मयुरधाप औद्योगिक क्षेत्रमा भौतिक पूर्वाधार निर्माण ठप्प

माघ २४, २०७८
आईईई प्रतिवेदन स्वीकृत नहुँदा मयुरधाप औद्योगिक क्षेत्रमा भौतिक पूर्वाधार निर्माण ठप्प

संघीय वन तथा वातावरण मन्त्रालयले मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृत नगर्दा भौतिक संरचना निर्माण कार्य अलपत्र परेको छ ।

हेटौंडा उपमहानगरपालिका–१३ मयुरधापमा निर्माण शुरू भएको मयुरधाप औद्योगिक क्षेत्रको आईईई प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नगर्दा औद्योगिक क्षेत्र स्थापनाको काम १ वर्षदेखि रोकिएको छ ।

निर्माणाधीन औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्न आनाकानी गरेको छ । 

वन मन्त्रालयले आईईई प्रतिवेदन स्वीकृत नगर्दा भौतिक पूर्वाधार निर्माणले कार्यले गति लिन नसकेको हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्रप्रसाद कँडेलले  बताए ।

‘गत वर्ष नै आईईई प्रतिवेदन पनि तयार गरी वन मन्त्रालयबाट स्वीकृति माग्दा मन्त्रालयले स्वीकृति दिन आनाकानी गरिरहेको छ । त्यसयता कुनै काम अघि बढ्न सकेको छैन,’ उनले भने ।

पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडाको १६ नम्वर वडा र दक्षिणमा उत्तरपानी पर्ने ४ किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्न २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

२०७५ कात्तिक ५ गते मयुरधाप औद्योगिक क्षेत्र परियोजनाको लागि भन्दै कार्यालय पनि स्थापना गरिएको छ भने २०७७ फागुन १४ गते मयुरधाप औद्योगिक क्षेत्रको तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले तारबारको काम शुरू गरेकोमा पर्सा राष्ट्रिय निकुञ्जले काम रोकेको छ । 

आफ्नो क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी अनुमति विना औद्योगिक क्षेत्र स्थापना गर्न खोजको भन्दै निकुञ्जले काम रोकेपछि शुरू भएको विवाद वन मन्त्रालय र भूमि सुधार मन्त्रालयमा पुगेर अड्किएको छ । वन मन्त्रालय र भूमि सुधार मन्त्रालयबीच भोगाधिकारको कुरा नमिल्दा निर्माण कार्य अलपत्र परेको कँडेलले बताए । १९९ विगाह १२ कट्ठा जमिन मयुरधाप औद्योगिक क्षेत्रलाई छुट्याई भोगाधिकार दिइएको छ तर औद्योगिक क्षेत्रको निर्माण कार्यले गति लिन सकेको छैन ।

औद्योगिक क्षेत्रमा ७–१४ रोपनीसम्मका ६२ वटा प्लट छुट्याइएको थियो । पूर्वाधार विकासका लागि ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ लागतमा स्थापना हुने औद्योगिक क्षेत्रबाट १० हजार जनाले रोजगारी प्राप्त गर्ने अनुमान गरिएको छ । 
 

कमेन्ट गर्नुहोस्