काठमाडौं, १८ असार –यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालयका १६ कर्मचारीविरुद्ध ड्राईभिङ लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपक विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कसरी भयो अनियमितता ?गत साल कार्तिक ५, ६, ७ र ८ गते भएको चारपाङ्ग्रे सवारी लाईसेन्सको लिखित परिक्षाको नजिता प्रकाशनमा अनियमितता भएको अख्तियारले जनाएको छ । उक्त परीक्षामा कुल १२ हजार ६ सय ३१ जना परीक्षार्थी सहभागी भई लिखित परीक्षामा ९ हजार ४ सय ९ जना उत्तिर्ण गराई नतिजा प्रकाशन भएको थियो ।
उक्त परीक्षामा जम्मा ४६५ जना परीक्षार्थीहरू प्रयोगात्मक परीक्षामा समेत उत्तिर्ण भएका थिए । परिक्षा समितिको चैत ७, १२ र १३ गतेको बैठकले ती परीक्षार्थीहरूको नाममा सवारी चालक अनुमतिपत्र जारी गर्ने निर्णय गरेको थियो ।
चालक अनुमतिपत्र जारी भएका ती सवारी चालकको उक्त परीक्षामा उत्तरपुस्तिकामा प्रदान गरिएको अंकको सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । उक्त परीक्षाको वस्तुगत बहुबैकल्पिक तर्फको प्रश्नमा कम्तीमा ९ वटा प्रश्नको सही उत्तर दिने परीक्षार्थीमात्र लिखित परीक्षामा उत्तिर्ण गराउनु पर्नेमा ९ वटा भन्दा कम सही उत्तर दिने सवारी चालकको अनुमतिपत्र पनि जारी गरेर अनियमितता गरिएको अख्तियारले जनाएको छ ।
लाईसेन्स जारी भईसकेको ४ सय ६५ विद्यार्थीमध्ये ९० जना परीक्षार्थीलाई तथा उत्तरपुस्तिका परिक्षण नै नगरिएका ३३ जना परीक्षार्थीहरूलाई समेत लिखित परीक्षामा उत्तिर्ण गराई परीक्षाको परिणाममा फेरबदल गरिएको अख्तियारले जनाएको छ ।
उक्त अनियमिततामा सहभागी भएका १६ कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कसूर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । ती कर्मचारीविरुद्ध सोही ऐनको सोही दफा बमोजिम सजाय हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको हो ।