०१ असार २०८३, सोमबार
आधुनिक कृषि कर्म

कृषक आसरे बडायकको नयाँ अभ्यास : उखुमा लगानी, आलुबाट मनग्ये आम्दानी

फागुन ७, २०७८
कृषक आसरे बडायकको नयाँ अभ्यास : उखुमा लगानी, आलुबाट मनग्ये आम्दानी

एउटा नेपाली उखान छ – एक पन्थ दुई काज अर्थात् एक प्रयत्नबाट दुईटा लाभ । 

हो, त्यही भावसँग मेल खान्छ कञ्चनपुरका एक अगुवा कृषकको कृषि कर्म । उनी एउटा बालीमा गर्छन् लगानी, अर्को बालीबाट शून्य लगानीमा लिन्छन् मनग्यै आम्दानी । 

उनी हुन् कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३७ वर्षीय आसरे राम बडायक । उनी ६ विघा जमिनमा धान, गहुँसहित व्यावसायिक उखु र आलु खेती गर्छन् । 

उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः त्यो प्रयोगले लागत अनुपात घट्दै गएको छ भने बालीको उत्पादन दर र मूल्य श्रृंखला वृद्धि भई उनी मनग्यै आम्दानी गर्न सफल भएका हुन् ।

उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ । त्यसको प्रतिफल नै मुनाफा हो । आजको नयाँ प्रविधि र त्यसप्रतिको लगनशिलताले निकै सहज छ ।’

विगत ७ वर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक बडायकले ३ वर्षदेखि मिश्रित बालीको रूपमा उखु र आलु खेती एकैसाथ गर्दै आएका छन् ।

चालू आर्थिक वर्ष २०७८/२०७९ कात्तिक १६ गते आलु र १८ गते रोपिएको उखुसँगै हुर्किरहेको छ । आलु लटरम्म फलिसकेको छ । उखुको अँखला बेर्नामा ३–४ पात सहितको पालुवा आइसकेको छ ।

मिश्रित बालीमा लाभैलाभ

कृषि फर्ममार्फत व्यावसायिक उखु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाले हौस्याएको हो ।

‘महाकाली सुगर मिल र बेलौरी नगरपालिकाले हामीलाई उखु खेती सिकायो । उखुसँगै मिश्रित बालीको रूपमा आलु खेती गर्न सकिन्छ भनेर हामीलाई तालिम नै दिइयो । जसबाट म निकै प्रभावित भए । आलु आलीमा र उखु केही दूरीमा रहेको नालीमा रोपिन्छ,’ मिश्रित बालीबारे उनले भने, ‘यसरी उखुमा प्रयोग हुने मल आलुलाई काम लाग्ने हुन्छ । आलुको उत्पादन करीब ४ महिनामै लिन सकिन्छ । आलुको पात सहितको डाँठ उखुका लागि हरियो मलको काम गर्छ । आलुखन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने मजदुर खर्चमा बचत हुन्छ । यसरी एकै समयमा रोपिने हुँदा १ बालीमा लाग्ने लगानी २ बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ ।’

शुरूआती वर्षमा १ विघा क्षेत्रफलमा मिश्रित बालीको रूपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा व्यहोर्नुपरेको थियो तर उनी पहिलो वर्षको असफलताले कत्ति पनि हतोत्साहित भएनन् । दोस्रो वर्षमा पनि उनको मेहनतले रंग ल्यायो ।  

वर्षमा २५ लाखसम्म मुनाफा

व्यावसायिक कृषिलाई आफ्नो जीवनको लक्ष्य बनाइसकेका बडायक आफूलाई अपुग रहेका ज्ञान र सीप सिक्ने कुरामा कहिल्यै पछि पर्दैनन् । कहिले इन्टरनेटको माध्यमबाट प्राविधिक ज्ञान हासिल गरिरहेका हुन्छन् त कहिले अन्य निकायको सहयोग माग्छन् ।

महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषकले भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषद्बाट तालिम समेत लिइसकेको बताउँछन्  उनी ।

बडायक पछिल्लो समय उखु र थारु आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोग समेत पाउँदै आएका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले चालू आर्थिक वर्ष २०७८/२०७९ मा बडायकलाई आलु विस्तार कार्यक्रम अन्तर्गत थारु आलुको बिउको लागि १ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ तर अनुदानमुखी काम कहिल्यै नगरेको उनको भनाइ छ ।

उनी २ विघा ५ कठ्ठा जमिनमा उखु र रैथाने थारु आलु खेती गरेका छन् भने १ विघामा आलु खेती मात्रै गरेका छन् । आलु खेतीमा मात्रै ६ लाख रुपैयाँ लगानी गरेको उनले बताए ।

प्रतिविघा १०० क्वीन्टलका दरले चालू वर्ष ३०० क्वीन्टल आलु उत्पादन हुने उनको अनुमान छ । थारु आलुको औसत बजार मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको सुनाउँदै उनले करीब १५ लाख रुपैयाँको आलु उत्पादन हुने बताए । यसरी उनलाई आलु खेतीबाट ४ महिनाको अवधिमा ९ लाख रुपैयाँसम्म मुनाफा हुने भएको छ ।

उखुमा पनि नयाँ प्रविधि

उखु खेतीमा पनि कृषक बडायक राम्रो आम्दानी लिँदै आएका छन् । साढे २ विघामा उखु खेती गर्दै आएका उनी प्रतिविघा ११ सय क्वीन्टल उत्पादन गर्दै आएका छन् ।

उखु खेतीमा उनी बिउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी वर्ड प्रविधि अर्थात् बड कटर मशिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बिउ उत्पादन गर्न सकिने उनी सुनाउँछन् ।

उखु खेतीबारे अनुभुव सुनाउँदै उनले भने, ‘मैले बड कटर मशिन आफैं बनाएको छु । मैले प्रतिविघामा २ क्वीन्टल उखुको अँखला बिउ प्रयोग गर्छु । जबकि  अन्य कृषक प्रतिविघामा ७० क्वीन्टल बिउ प्रयोग गर्छन् ।’

कृषि कार्यमा यान्त्रिकरण गरेका उनी प्रतिवर्ष २०–२५ लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् । ८ जनाको परिवार रहेको बडायकको ३ जना मात्रै कृषि कार्यमा संलग्न छन् ।

उनैबाट प्रभावित भएका उनका भतिजा बीएससी एजी (कृषि विज्ञान) अध्ययनरत छन् । उनी १०–१५ जनालाई नियमित रोजगारी समेत प्रदान गर्दै आएका छन् ।

व्यावसायिक आलु र उखु खेतीको बजार सम्भावना उच्च रहेको बडायक बनाउँछन् । निकट भविष्यमा टिस्युकल्चर प्रविधिबाट उखुको बेर्ना तयार पार्ने उनको योजना छ ।

salt training

कमेन्ट गर्नुहोस्