०१ असार २०८३, सोमबार

वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी : विज्ञ

जेठ ३१, २०८३
काठमाडौं
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी : विज्ञ

 नेपालजस्ता कृषि प्रधान देशका लागि वैदिक प्राङ्गारिक कृषि पद्धति सबैभन्दा उपयुक्त र उपयोगी हुनेमा विज्ञहरूले जोड दिएका छन्।

नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको ‘वैदिक प्राङ्गारिक कृषि एकदिने राष्ट्रिय सम्मेलन’मा वक्ताहरूले वैदिक कृषि पद्धतिले खाद्य पदार्थको गुणस्तर सुधार्नुका साथै माटो, वातावरण र कृषकबीचको सम्बन्ध सुदृढ बनाउने भएकाले विश्वभर यसको आकर्षण बढ्दै गएको बताए।

फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले नेपालमा रासायनिक मल र विषादीको प्रयोग बढेसँगै माटोको गुणस्तर खस्किएको उल्लेख गर्दै आधुनिक प्रविधिसहित वैदिक तथा प्राङ्गारिक खेतीलाई विस्तार गर्नुपर्ने बताए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले कृषिमा विषादीको प्रयोगलाई क्रमशः घटाउँदै जैविक विकल्पको प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनले जैविक विधिसम्बन्धी नीति निर्माणमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए।

महर्षि वैदिक कृषिका निर्देशक भूपेन्द्र खनियाँले वैदिक कृषि प्राङ्गारिक खेतीकै उन्नत रूप भएको उल्लेख गर्दै यसले कृषक, खाद्यवस्तु, स्वास्थ्य र वातावरणबीच सन्तुलित सम्बन्ध स्थापित गर्ने बताए। उनले कृषि पेसालाई सम्मानजनक र आत्मनिर्भर बनाउन वैदिक तथा प्राङ्गारिक खेती प्रभावकारी माध्यम हुन सक्ने धारणा राखे।

कार्यक्रममा खनियाँद्वारा लिखित ‘वैदिक कृषि’ पुस्तक पनि लोकार्पण गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्