०५ असार २०८३, शुक्रबार

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईसहित चार जनाको मृत्यु

फागुन ७, २०७८
भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईसहित चार जनाको मृत्यु

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्‍याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । 

मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई र सानोथिमिमै भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको हो । 

सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षीय शिवराम श्रीमालीको आफ्नै एकतले घरको भर्‍याङबाट अचानक लडेर मृत्यु भएको हो । 

लडेर घाइते भएका श्रीमालीलाई उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल थिमि लगिएकामा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए । 

त्यस्तै मध्यपुरथिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । 

तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए । 

यसै गरी मध्यपुरथिमि–२, सानोथिमिस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । 

मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुकुल लगाई अचेत अवस्थामा मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकामा तत्कालै प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले मगरको उद्धार गरी अस्पताल लगिएको थियो ।

यस्तै सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करीब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । 

गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियो ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । 

प्रहरीले चारवटै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । -रासस

salt training

कमेन्ट गर्नुहोस्