१२ साउन २०८३, मंगलबार

स्थानीय चुनावमा विद्युतीय मतदान नहुने

स्थानीय चुनावमा विद्युतीय मतदान नहुने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)को प्रयोग नहुने भएको छ । 

काठमाडौं उपत्यकामा वा नभए काठमाडौं महानगरमा मात्रै भए पनि ईभीएमको प्रयोग गर्न सकिन्छ कि भन्ने गृहकार्यमा लागेको निर्वाचन आयोगले उक्त सम्भावना सकिएको निष्कर्षमा पुगेको हो । 

केही साताअघि आयोगले ईभीएम मेसिनको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाउनका लागि गठन गरिएको कार्यदलले दिएको प्रतिवेदनको आधारमा निर्वाचन आयोग उक्त निष्कर्षमा पुगेको हो । 

निर्वाचन आयोगको उच्च स्रोतका अनुसार निर्वाचनमा प्रयोग गरिने मेसिनको गुणस्तरीयतालाई 'सर्टिफाई' गर्ने एजेन्सी नै नभएको तथा समय समेत अभाव भएकाले यस पटक मेसिनको प्रयोग गर्ने सम्भावना समाप्त भएको हो।

'आयोगले अब त्यस विषयमा निर्णय गर्न बाँकी नै छ, तर कार्यदलले निर्धारित समयभित्र बुझाएको प्रतिवेदनकै आधारमा अब ईभीएम मेसिन प्रयोग गर्न सम्भव नरहेको निष्कर्ष निकालिएको छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'मेसिनको गुणस्तरीयता प्रमाणित गर्ने एजेन्सी नै नेपालमा छैन, मेसिन किनेर ल्याए पनि त्यसको फिचर, सिस्टम, सेक्युरिटीलगायतको विषयमा प्रमाणित गर्ने एजेन्सी नभएका कारण पनि उक्त निष्कर्ष निकालिएको हो । 

आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा उक्त सम्भावनाको अध्ययन गरेर प्रतिवेदन बुझाउन ८ सदस्यीय कार्यदल गठन गरेको थियो । 

संविधान सभाको उपनिर्वाचनमा ईभीएम मेसिनको प्रयोग गरिएको थियो । 

भारत सरकारले त्यहाँको एजेन्सीबाट नै सर्टिफाई गराएर दिएको मेसिनको विश्वसनीयतामा सबै दल समेत सहमत भएपछि संविधान सभाको उपनिर्वाचनमा ईभीएम मेसिनको प्रयोग गरिएको थियो ।

कमेन्ट गर्नुहोस्