
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री आलेले बुधवार कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिए ।
उनले भने, ‘भव्य र सभ्यरूपमा महाशिवरात्रि मनाउन सबै लागि परौं, भक्तजनलाई कुनै पनि कुराको कमी नहोस् ।’
महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरूले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउ बनाउन समेत उनले निर्देशन दिए ।
शिवरात्रि पर्वको समयमा देशविदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्था लगायतका कुरामा अहोरात्र खट्न उनले आग्रह गरे ।
पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्था मिलाउन समेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिए ।
मन्त्री आलेले पशुपति क्षेत्रका पर्खालहरूमा भगवान्का चित्र निर्माणको कार्य तत्काल सक्न आग्रह गरेका छन् ।
यस वर्षको महाशिवरात्रि पर्व फागुन १७ गते मंगलवार परेको छ । यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा १० लाख दर्शनार्थी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको छ ।