०९ साउन २०८३, शनिबार

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ५० लाखका बत्ती र फूलले सजाइँदै

फागुन १३, २०७८
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ५० लाखका बत्ती र फूलले सजाइँदै
फाइल फोटो

महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलिमिली बनाउन थालिएको छ ।

दाताको सहयोगमा बिहीवारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलिमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । 

पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ । 

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताए । फूल बाँदरले चुँड्ने भएकाले १ दिनअघि मात्र सजाउने तयारी कोषले गरेको हो । बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन् ।

दाताको करीब ५० लाख रुपैयाँ बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो । 

यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ । दाताले आफैं कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन् । पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ । खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएको छ । ठाउँ ठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ ।

महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना कुनामा भीड बढेको छ । हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्