पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ ।
अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ ।
बागलुङको कूल जनसंख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको माध्यमबाट उपचार गराउँदै आएकामा अहिले यसको संख्या क्रमशः बढ्दै गएको छ । हजुरबुवा–हजुरआमाको पालामा प्रशस्त प्रयोग गरिएको औषधिको कोरोनाकै कारण पुनः खोजी र प्रयोग गर्ने क्रम बढेको हो ।
कोरोनाकालअघिसम्म फुर्सदिला देखिने औषधालयका कर्मचारी अहिले व्यस्त छन् । आफैं औषधि उत्पादनदेखि विद्यार्थीलाई योग प्रशिक्षण तथा आयुर्वेद शिक्षाका आयुर्वेद औषधालयका कर्मचारी व्यस्त भएको देखिन्छन् । नागरिकहरूमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो तर पछिल्लो २ वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ ।
कोरोनाकालमा गुमनाम भएको आयुर्वेद औषधि बेसार, गुर्जो, असुरो र अश्वगन्धा लगायत चर्चामा रहे ।
सक्रिय संक्रमितको समयमा कोरोनाको औषधिका रूपमा धेरैले आयुर्वेद औषधिको प्रयोग मात्रै गरेनन्, औषधिको प्रयोगले कोरोना जितेको अनुभव छ बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनको ।
‘बाजे, हजुरबुवा, आमाले आयुर्वेद औषधिमा भर परेको हामीलाई थाहा थियो तर, हामीले अहिले विश्वास गरेका थिएनौं,’ उनले भनिन्, ‘आफैंलाई कोरोना लागेपछि आयुर्वेदको प्रयोग गरियो, अहिले आयुर्वेदले विश्वास जित्दै गएको छ ।’
आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालय बागलुङले जनाएको छ । कार्यालयले यस क्रममै संक्रमितको हात–हातमा आयुर्वेद औषधि पुर्याउने अभियान चलाएको थियो । कोरोनाले गर्दा नै पुनः एकपटक आयुर्वेद चिकित्साले नागरिकको भरोसा जित्न सफल भएको औषधालयका प्रमुख डा. सरोज रायले जानकारी दिए ।
‘दैनिकरूपमा आयुर्वेद औषधि प्रयोग गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ, विशेषगरी कोरोनाका कारण नागरिकमा आयुर्वेद चेतनाको वृद्धि भएको छ,’ उनले भने, ‘नागरिकको बेवास्ताका कारण गुमनाम बनाइएको गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधु अहिले पुनः प्रयोगमा आएका मात्रै छैनन् नागरिकले खोजी–खोजी प्रयोग गर्न थालेका छन् ।’