
नेपाल दलित महिला सङ्घ (एड्वान)ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ ।
एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान सुरु गरेको हो । एड्वानले महिला र दलित समुदायभित्र पनि सबैभन्दा बढी दलित महिलाले नै हिंसा भोग्नुपरेको अवस्था उल्लेख गर्दै उनीहरूले भोग्नुपरेको सबै प्रकारका हिंसाको अन्त्य गर्ने उद्देश्यले पनि सो अभियानको सुरुआत गरेको हो ।
रत्ननगर नगरपालिकाका उपप्रमुख विमलादेवी दुवाडीले अभियानको सुरु गर्दै संवैधानिक र कानुनीरूपमा प्राप्त अधिकारलाई व्यवहारिकरूपमै कार्यान्वयनको निम्ति समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याइन् । एड्वानले विशेषगरी ग्रामीणस्तरका महिला र किशोर–किशोरीको अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जनलगायत क्षेत्रमा काम गर्दै आएको छ । विसं २०५५ मा स्थापना भएको एड्वानले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बाग्लुङ र तनहुँलगायतका जिल्लामा विपन्न समुदायका २०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।