१२ साउन २०८३, मंगलबार

चुनावी तालमेलबारे रणनीति बनाउँदै कांग्रेस, प्रदेश सभापतिसँग छलफल शुरू

चुनावी तालमेलबारे रणनीति बनाउँदै कांग्रेस, प्रदेश सभापतिसँग छलफल शुरू

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरूसँग प्रारम्भिक छलफल शुरू गरेको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल शुरू गरेको हो । 

सत्तारुढ गठबन्धन दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल शुरू गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तर्क्रिया गरिएको छ ।

सहमहामन्त्री पाण्डेले भने, ‘स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पार्टी उपसभापति पूर्णबहादुर खड्काज्यूको अध्यक्षतामा आज पदाधिकारीहरू र प्रदेश सभापतिहरू सम्मिलित प्रथम बैठक बस्यो । विशेषगरी स्थानीय तह निर्वाचन परिचालनका सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने र केन्द्रको प्रदेशसँगको समन्वय कसरी व्यवस्थित गर्ने, प्रदेशको जिल्लासँगको समन्वय, जिल्लाको निर्वाचन क्षेत्रसँगको समन्वय कसरी व्यवस्थित गर्ने ? विशेषगरी हामीले निर्वाचनका क्रममा टिकट वितरण गर्ने ठाउँहरू केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, उनीहरूका बीचमा समन्वयको स्थिति कसरी निर्माण गर्ने, यो एउटा विषयमा हामीले छलफल गर्‍यौं । अर्को तालमेलमा जाँदैछौं, सत्ता गठबन्धनमा भएका राजनीतिक दलहरूसँग तालमेलमा जाँदैछौं, तालमेलमा जाने सन्दर्भमा त्यसका जटिलताहरू के हुन सक्छन्, व्यावहारिक जटिलता के हुनसक्छ ? त्यो विषयमा पनि प्रारम्भिक छलफल गर्‍यौं ।’

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिका सदस्य समेत रहेका सहमहामन्त्री पाण्डेले बैठक सोही विषयमा केन्द्रित भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्