
चैत कृष्ण औंसीका अवसरमा मनाइने घोडेजात्राका क्रममा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा शुक्रवार विशेष कार्यक्रम गरेको छ ।
टुँडिखेलस्थित सैनिक मञ्चमा सेनाले गरेको अश्वकला, मोटरसाइकल खेल लगायत प्रदर्शन गर्ने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाण लगायत सहभागी भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको भ्रमणमा शुक्रवार नै प्रस्थान गरेकाले कार्यबाहक प्रधानमन्त्रीका रूपमा गृहमन्त्री खाँण सहभागी भए । उनले उपत्यकामा मनाइने घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकावासी लगायत समस्त नेपालीलाई सुख समृद्धिका साथै गतिशीलताको शुभकामना व्यक्त गरे ।
‘उपत्यकामा मनाइने घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकावासी लगायत समस्त नेपाली दाजुभाइ दिदीबहिनीलाई सुख समृद्धिका साथै गतिशीलताको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ गृहमन्त्री खाँणले भनेका छन्, ‘नेपाली सेना, समस्त सुरक्षाकर्मी र राष्ट्रसेवकहरूलाई घोडेजात्रा पर्वका अवसरमा थप गतिशीलताको शुभकामना !’
विजयोत्सवका रूपमा मनाइने घोडेजात्राले मुलुकमा समृद्धि ल्याउने कामना पनि कार्यबाहक प्रधानमन्त्री खाँणले गरेका छन् ।
परापूर्वकालदेखि उपत्यकाको बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख यातना दिने गरको र राक्षसलाई घोडाको टापले कुल्चिएर मारेको किम्वदन्ती अनुसार घोडेजात्रा मनाइन्छ ।
प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको शुरूआत हुने विश्वास अनुरूप चैत्र कृष्ण औंसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन पनि छ । जात्राको अवसरमा शुक्रवार काठमाडौं उपत्यकामा शुक्रवार सरकारले सार्वजनिक बिदा दिएको थियो ।