२५ असार २०८३, बिहीबार

राष्ट्रपतिलाई १६ करोडको गाडी, गणतन्त्रमा लूटतन्त्रको झल्को !

कात्तिक २०, २०७४
राष्ट्रपतिलाई १६ करोडको गाडी, गणतन्त्रमा लूटतन्त्रको झल्को !

गतसालको पुसमा संविधान संशोधन गर्न तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि नेकपा एमालेको नेतृत्वमा देशभर प्रायोजित आन्दोलनको ज्वारभाटा चलाईयो ।

हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन खोजियो र प्रदेश नम्बर पाँचलाई टुक्र्याएर लुम्बिनी भारतलाई सुम्पिन खोजियो भन्ने मनगढन्ते कुराहरु लिएर शुरु गरिएको विरोधका क्रममा बुटवलको सडकमा आगजनी गरेर करोडौंको नोक्सान गरियो ।

जबकी संसद सचिवालयमा दर्ता गरिएको संशोधन विधेयकमा आन्दोलनमा उठेका कुनै कुराहरु समेटिएका थिएनन् । नजिकिँदो निर्वाचनमा सोझा जनताको मत आफ्नो तर्फमा पार्ने चालबाजी रचेर जनतालाई भड्काउन एमालेले ‘राष्ट्रियता’को आन्दोलन गरेको थियो । राजनीतिक स्वार्थका लागि सार्वभौम संसदको अधिकारलाई चुनौती दिने काम गरेको थियो ।

आन्दोलनकै निरन्तरता स्वरुप काठमाडौंमा एउटा सरकारी गाडीमा आगजनी गरिएको थियो । अचम्म लाग्दो कुरा त के थियो भने १६ पुसमा गरिएको त्यो आगजनीमा राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा काम गर्ने एकजना एमालेकी कार्यकर्ता सुमित्रा थापा प्रत्यक्ष रुपमा संलग्न थिइन् । सार्वजनिक भएको सो आगजनीको भिडियो फुटेजमा कोको संलग्न थिए त्यो प्रत्यक्ष देख्न पाइन्छ ।

एमाले युवा संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा उक्त गाडीमा आगजनी गरिएको थियो । राष्ट्रपति भण्डारीको सहयोगी रहेकी युवा संघकी कार्यकर्ता सुमित्रा थापाले राष्ट्रपति कार्यालयको गाडी लिएर युवासंघको कार्यालयसम्म आएकी थिइन् भने गाडीमा आगजनी गरेपछि युवा संघका ती कार्यकर्ताहरुलाई अर्कै सरकारी गाडीमा घरघरमा छोडिएको खुल्न आएको थियो । आगजनी लगत्तै खिचिएको तस्वीरमा थापासहित राष्ट्रपति कार्यालयको गाडी युवासंघको कार्यालय अगाडि देख्न सकिन्छ । ल्होछार पर्वको बिदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनी गर्ने एमाले कार्यकर्ता भने सरकारी गाडीमा नै आएको पुष्टि भएको थियो ।

आइतवारका सामाजिक सञ्जाल राष्ट्रपतिका लागि नयाँ गाडी किन्ने प्रसंगले तातेका छन् । सरकारले राष्ट्रपतिको सवारी र कारगेडको लागि छुट्याएको चार करोड रुपैयाँ रकम अपुग भयो भनेर राष्ट्रपति कार्यालयले १६ करोड रुपैयाँ माग गरेको समाचार प्रमुखताका साथ छापियो । केहीले राष्ट्रपति कार्यालयबाट आएको उक्त मागको बचाउ पनि गर्न भ्याए, तर बहुसंख्यक सामाजिक सञ्जाल प्रयोगकर्ता गरीब देशकी राष्ट्रपतिले रुसी राष्ट्रपतिको भन्दा महंगो गाडी किन चढ्नु पर्र्यो भनेर आलोचना गरे ।

बचाउमा आउनेहरुको तर्क भने हास्यापद थियो– राष्ट्रिय ढुकुटीमै थपिने गाडीको जति मूल्य भए पनि बिरोध गर्न नहुने रे ! कतिपयले त अझ सो गाडी निकासा गर्न धेरै नै समय लाग्ने र त्यतिबेला सम्म वर्तमान राष्ट्रपतिको कार्यकाल समाप्त भैसक्ने हुँदा विरोध न्यायसंगत नरहेको प्रतिक्रिया दिएर राज्यको ढुकुटी लुट्ने लुटतन्त्रलाई प्रोत्साहन गरेको पनि भेटियो ।

करिब २४ हजार डलर प्रतिव्यक्ति आय भएको रुसका राष्ट्रपति आठ करोड हाराहारी मूल्यको गाडी चढ्छन् । त्यसको कसीमा राखेर तौलिने हो भने नेपालको प्रतिव्यक्ति आय आठ सय डलर पनि छैन । सामन्तवादको चर्को नमुना भनौं या सामान्य जनताको पसिनाको कमाईबाट तिरिएको करको भद्दा दुरुपयोग भएको अवस्था भनौं, यो लेखिरहँदा पंक्तिकार भावुक बनेको छ ।

नेपाली सेनाको मातहतबाट गाडी खरिद गर्ने भनिएको कुरा पनि बाहिर आएको छ । यदि त्यसो हो भने सबै कुराको चाँजोपाँजो रक्षा मन्त्रालयले गर्नु पर्ने थियो । यसै पनि करोडौं मूल्य पर्ने बुलेटपु्रफ गाडीहरु थन्किएका छन् भनेर बेलाबेलामा समाचारहरु आईरहने गर्दछन । तिनिहरुको र्ममतसंभार र उचित प्रयोग गर्न सक्ने हो भने सरकार र राष्ट्रपतिको कार्यालय यो अप्रिय निर्णय गर्नुबाट बच्न सक्ने थिए ।

लेखक अर्याल
सप्तरीका बाढीपीडितहरुलाई सहयोग गर्न देश –विदेशमा अभियान नै चलेको छ । देशमा आउने प्रकोपहरुको व्यवस्थापन जनताले नै गरिदिनुपर्ने र उच्चपदस्थहरुलाई विलासिताको जीवनको व्यवस्था पनि जनताले नै गरिदिनुपर्ने कस्तो खालको बिडम्वनापूर्ण राजनीतिक संस्कारको सिकार भएका छौं हामी गणतन्त्र नेपालमा ?

माथी जुन घटनाको वर्णन गरियो, त्यसको पृष्ठभुमिमा गर्न खोजिएका यस्ता घोटालाहरुको समर्थन कसरी गर्न सकिएला र ? आफ्नो प्रतिकूल हुँदा तिनै गाडीहरु जलाउने र अनुकुल हुँदा तिनै गाडीहरु खरिद गर्न लगाउने ‘पावर एलिट’हरुको यस्तो रवैया सदैव भर्त्सनायोग्य रहनेछ ।

कर्णालीका जनताले दुई छाक खान नपाउने देश, बाढी पीडितहरुले छानो नपाउने देश, भूकम्पपीडितहरुले अझै पनि पाल र टहरोमा जिन्दगी बिताइरहनु परेको देश, झाडापखाला लाग्दा जीवनजल नपाउने जनता भएको देशमा नितान्त विलासिताको लागि करोडौंको निकासा हुन्छ भने हामिले वर्षौंसम्म लोकतन्त्र भन्दै आएको यो व्यवस्था लुटतन्त्र हो भन्ने कुरामा कुनै दुईमत रहँदैन ।

salt training

कमेन्ट गर्नुहोस्