१० साउन २०८३, आइतबार
अघिल्लो चुनावको मत विश्लेषण

विगतको चुनावी विश्लेषण: १०६ स्थान जितेको माओवादीसँग ५४४ मा अरूलाई जिताउन वा हराउन पुग्ने मत !

विगतको चुनावी विश्लेषण: १०६ स्थान जितेको माओवादीसँग ५४४ मा अरूलाई जिताउन वा हराउन पुग्ने मत !

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरूसँग तालमेल गरेर होमिने तयारीमा रहेको नेकपा (माओवादी केन्द्र)का लागि चुनावी गठबन्धनको रणनीति नै उपयुक्त हुने अघिल्लो निर्वाचनको मत परिणामले देखाएको छ ।

कुल ७ सय ५३ मध्ये १०६ स्थानीय तह जितेको माओवादीसँग दुई तिहाइभन्दा बढी स्थानीय तहमा यस्तो मत छ, जहाँ आफू एक्लै जित्न सके वा नसके पनि अन्य कुनै दललाई जिताउन वा हराउन पर्याप्त हुन्छ । सोही कारण गठबन्धन गर्दा आफूले पहिले जितेका स्थानीय तह जोगाउन र अन्यमा सहयात्री दललाई जिताउन माओवादी मत निर्णायक हुने विगतको परिणामले देखाएको छ ।

अघिल्लोपटक कांग्रेससँग आंशिक गठबन्धन गरेको माओवादीले १ सय ६ स्थानीय तह जितेको थियो भने ९९ वटामा दोस्रो र ३ सय ३९ वटामा तेस्रो भएको थियो । यसको कुल योगफल ५ सय ४४ हुन आउँछ । जुन दुईतिहाइ भन्दा बढी हो । यीमध्ये धेरैजसो स्थानीय तहमा माओवादी प्रतिस्पर्धी मत ल्याएर तेस्रो भएको छ ।

जितेका आधाभन्दा बढी स्थानीय तहमा ५ सयभन्दा कम मतान्तर!

माओवादीले अघिल्लोपटक जितेका १ सय ६ स्थानीय तहमध्ये ५६ वटामा ५ सयभन्दा कम मतान्तरले बाजी मारेको थियो । १२ स्थानीय तह त यस्ता थिए, जहाँ माओवादी १०० भन्दा कम मतान्तरले विजयी भएको थियो ।

डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादीका दत्तबहादुर शाहीले एमालेका लंकबहादुर रोकायालाई २ मतले पराजित गरेका थिए । यस्तै जुम्लाको हिमा गाउँपालिका र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका अध्यक्षका माओवादी उम्मेदवार ३-३ मतले विजयी भए । सिराहाको औरहीमा ६ मतले माओवादीको जीत सम्भव भएको थियो ।

१६ स्थानीय तहमा १०१ देखि २००, ९ वटामा २०१ देखि ३००, ८ वटामा ३०१ देखि ४००, ११ वटामा ४०१ देखि ५०० सम्मको मतान्तरले प्रमुख र अध्यक्ष पदका माओवादी उम्मेदवारहरूले बाजी मारेका थिए ।

यसैगरी २० वटा स्थानीय तहमा ५०१ देखि १००० सम्मको मतान्तर रहेकोमा १२ स्थानीय तहमा १००१ देखि १५०० तथा १८ स्थानीय तहमा १५०० भन्दा माथिको मतान्तरले माओवादी उम्मेदवार विजयी भएका थिए ।

माओवादीले सबैभन्दा बढी मतान्तरले जितेको स्थानीय तह सर्लाहीको बागमती नगरपालिका हो । त्यहाँ प्रमुख पदका माओवादी उम्मेदवार भरतकुमार थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुबहादुर मगरलाई २ हजार ९ सय ३८ मतले हराएका थिए।

यसैगरी दोस्रो र तेस्रोमा क्रमश: सिन्धुलीको मरिण गाउँपालिकामा २ हजार ८ सय ७५ र रोल्पाको दुईखोली गाउँपालिकामा २ हजार ६ सय १९ मतान्तरले माओवादी उम्मेदवार विजयी भएका थिए ।​

हेर्नुहोस्, माओवादीले जितेका स्थानीय तह :

९९ मा माओवादी दोस्रो,आधाजसोमा ५ सयभन्दा कम मतान्तर

अघिल्लोपटक माओवादी केन्द्र ९९ स्थानीय तहमा निकटतम प्रतिस्पर्धी दल रहेको थियो । त्यसमध्ये झण्डै आधा (४९) स्थानीय तहमा अध्यक्ष र प्रमुख पदका माओवादी उम्मेदवारहरूले ५ सयभन्दा कम मतान्तरले हार व्यहोरेका थिए ।

१ सयभन्दा कम मतान्तरले हारेका स्थानीय तहको संख्या ९ छ ।

माओवादीले सबैभन्दा कम मतान्तरले हारेको स्थानीय तह भोजपुरको रामप्रसाद राई गाउँपालिका हो । उक्त गाउँपालिकामा अध्यक्ष पदका माओवादी उम्मेदवार थामबहादुर राईले एमालेका विजय राईसँग ८ मतले हार व्यहोरेका थिए ।

यस्तै प्युठानको माण्डवी गाउँपालिकामा माओवादीका नमराज अधिकारी एमालेकै श्रीधर रोकासँग १२ मतले पराजित भएका थिए ।

१३ स्थानीय तहमा १०१ देखि २००, १० वटामा २०१ देखि ३००, १३ वटामा ३०१ देखि ४००, ४ वटामा ४०१ देखि ५०० सम्मको मतान्तरले प्रमुख र अध्यक्ष पदका माओवादी उम्मेदवारहरू पराजित भएका थिए ।

यसैगरी २६ वटा स्थानीय तहमा ५०१ देखि १००० सम्मको मतान्तर रहेकोमा १२ स्थानीय तहमा १००१ देखि १५०० तथा १२ वटै स्थानीय तहमा १५०० भन्दा माथिको मतान्तरले माओवादी उम्मेदवार पराजित भएका थिए ।

माओवादी दोस्रो भएका स्थानीय तह :

देशव्यापी रूपमा तेस्रो दल!

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय हैसियत अहिले तेस्रो दलको हो । अघिल्लो स्थानीय निर्वाचनको नतिजा हेर्दा पनि माओवादी आधाजसो स्थानीय तहमा तेस्रो स्थानमा आएको देखिएको छ ।

कुल ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ३९ वटामा माओवादी तेस्रो भएको थियो । यसमा केही तीन दलको मात्र उम्मेदवार रहेका क्षेत्र पनि छन् भने कतिपय स्थानमा कांग्रेस वा अन्य कुनै दललाई सघाउने गरी सहमति गरेका तर, उम्मेदवारी फिर्ता लिन नमिलेर चुनाव चिह्नमा थोर बहुत मत आएका समेत छन् ।

माओवादीले उम्मेदवारी नै नदिएर कांग्रेस वा अन्य कुनै दललाई छाडेका स्थानीय तहको समेत हिसाबकिताब गर्दा आधाआधी स्थानीय तहमा माओवादी तेस्रो हैसियतमा छ । करीब २८ प्रतिशत (२०५) स्थानीय तहमा भने माओवादी प्रतिस्पर्धी अवस्थामा रहेको अघिल्लो स्थानीय निर्वाचनको नतिजाले देखाउँछ ।

त्यसो त यसबीचमा माओवादी नेकपामा परिणत भएर पूर्ववत् अवस्थामा फर्किसकेको छ । नेकपाबाट माओवादीमा फर्किँदा केही नेता एमालेमै रहेको र केही अहिले पनि एमाले प्रवेश गरिरहेकाले त्यसको क्षति माओवादीलाई कति हुन्छ, त्यो भने आगामी निर्वाचनको नतिजाले नै बताउने छ ।

माओवादी नेताहरू भने पार्टीका केही नेता एमालेमै बस्दा जनमतमा खासै प्रभाव नपरेको दाबी गर्छन् । केही नेताले पार्टी परित्याग गर्दा भएको क्षतिभन्दा तुलनात्मक फाइदा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को सहयोगले हुने देखिएको उनीहरूको विश्लेषण छ ।

कांग्रेससँग तालमेल जस्तोसुकै भए पनि कम्तीमा माओवादी र एकीकृत समाजवादीले एकअर्कालाई दिलोज्यान दिएर सहयोग गर्ने राजनीतिक परिस्थिति निर्माण भएको बुझाइ दुवै पार्टीका नेताहरूको छ । एमालेलाई हराउने मनोविज्ञानका कारण उनीहरू एकमत छन् ।


हेर्नुहोस्, माओवादी तेस्रो भएका स्थानीय तह :

salt training

कमेन्ट गर्नुहोस्