२३ असार २०८३, मंगलबार

संस्कृति संरक्षणका लागि गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण

संस्कृति संरक्षणका लागि गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण
फाइल फोटो

पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ ।

विभिन्न शुभकार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृति संरक्षणका लागि शुक्रवार पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।

उनले भने, ‘परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिन्छ त्यसैले संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेका हौं । संस्कृति र परम्परा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।’

पञ्चेबाजा लोप हुन नदिन चालू आर्थिक वर्षमा विनियोजन गरिएको ८ लाख रुपैयाँ बजेटबाट खरिद गरिएका बाजा विभिन्न वडाका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।

बाजा पाएपछि आँधीखोला–५ स्थित अरिङ्गालले बाजा समूहका अध्यक्ष ठाकुर परियारले भने, ‘धेरै वर्ष पहिले किनेका पुराना बाजालाई मर्मत गरेर चलाउने गरेका थियौं, नयाँ बाजा महंगो पर्ने भएकाले किन्न सक्ने अवस्था थिएन गाउँपालिकाले बाजा वितरण गरेकामा आज धेरै खुशी लागेको छ ।’

पञ्चेबाजा बजाउँदै आएका पालिकाका ६ वटै वडाका ८ बाजा समूहलाई नरसिंह, सनही, दमाहा, ढोलकी, ट्याम्को र एउटा झ्याली वितरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्