३० जेठ २०८३, शनिबार
लोकान्तर सम्पादकीय

अस्वीकार्य छ चुनावप्रति संशय जगाउने अभिव्यक्ति

अस्वीकार्य छ चुनावप्रति संशय जगाउने अभिव्यक्ति

वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् ।

निर्वाचन आयोगले आचारसंहिता समेत लागू गरिसकेको, दलहरूले चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको र उम्मेदवार मनोनयनको मिति नजिकिँदै गरेको समयमा गठबन्धनकै शीर्षस्थ नेताबाट चुनावप्रति संशय उत्पन्न हुने अभिव्यक्ति आएका छन् । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले शनिवार त्यस्तै असान्दर्भिक अभिव्यक्ति दिएका छन्, जुन गठबन्धनको नेताको रूपमा स्वाभाविक मान्न सकिँदैन । राजधानीमै आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले अघिल्लोपटक असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा नहुने कारण देखाउँदै चुनावका सम्बन्धमा संशय उत्पन्न गराउने काम गरेका छन् ।

यस्ता हल्लालाई अन्य नेताले फैलाउनु सामान्य मान्न सकिएला, तर सत्तारुढ गठबन्धनकै शीर्षस्थ नेताबाट आउनु गम्भीर छ । गठबन्धनका शीर्ष नेताले त चुनावप्रतिको संशय मेटाउने काम गर्नुपर्ने हो ।

कुनै पनि बाहानामा वैशाख ३० को चुनाव सार्नु या टार्नु प्रतिगमन हुनेछ । चुनाव सार्ने कसैको ‘प्रतिगामी’ हर्कतमा सर्वोच्च अदालत साधक हुने छैन् । पाँच वर्षमा गर्नुपर्ने आवधिक निर्वाचनका लागि अदालतले यसअघि नै ग्रीन सिग्नल दिइसकेको छ । 

किन्तु, परन्तु कुनै बाहानामा चुनाव सारियो भने संविधान फेरि ट्रयाक बाहिर पुग्नेछ । वैशाखको चुनाव सर्नेबित्तिकै मंसिरमा गर्नुपर्ने प्रतिनिधि सभा चुनाव पनि तलमाथि पर्न सक्छ ।

आममानिसहरू चुनावमा भोट हाल्नका लागि मनस्थिति बनाएर बसिरहेको अवस्थामा नेताहरूले नै चुनावप्रति संशय जगाउने अभिव्यक्ति दिनु जनताको भावनामाथिको कुठाराघात हो । 

वैशाख ३० को चुनावका सम्बन्धमा गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति स्वागतयोग्य छ । माओवादी अध्यक्ष प्रचण्डका अनुसार देउवाले भनेका थिए, ‘भोट हाल्ने बेलासम्म पनि कतिपय मानिसहरू आशंका गरिरहन्छन्, तर चुनाव तोकिएको मितिमै हुन्छ ।’ 

चुनाव सार्न खोज्ने षड्यन्त्रविरुद्ध सचेत नेपाली नागरिक जागरुक बन्नुपर्छ । वैशाख ३० को चुनावलाई तलमाथि गर्नुपर्ने कुनै कारण छैन । चुनाव नगर्नका लागि न कुनै महामारी छ, न सुरक्षा चुनौती । यस्तो अनुकूल समयमा चुनाव सार्ने या टार्ने प्रतिगामी निर्णयमा प्रधानमन्त्री देउवा पक्कै राजी हुने छैनन् । 

ब्याक गियर लगाउने कुनै प्रस्ताव आएमा निर्वाचन आयोगले पनि अस्वीकार गरोस । विक्रम संवतको नयाँ वर्षको उत्साह शुरू हुने बेला वैशाख ३० को राष्ट्रिय पर्वमाथि कालो बादल मडारिन नपाओस् ।

salt training

कमेन्ट गर्नुहोस्