
रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले लामो तयारीपछि रुसीहरूले डोनबास क्षेत्रमा आक्रमण शुरू गरेको सोमवार बताएका हुन् । रुसले जतिसुकै सैनिकहरू ल्याए पनि आफूहरू लड्न तयार रहेको र डोनबासलाई जसरी भए पनि प्रतिरक्षा गर्ने जेलेन्स्कीको भनाइ छ ।
डोनबासमा सैन्य कारवाही शुरू गरेसँगै यो युद्ध दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो चरणमा रुसले एकैपटक पूर्व, दक्षिण र उत्तरबाट मोर्चा खोलेको थियो भने यसपटक ऊ डोनबासमा केन्द्रित हुने देखिन्छ तर दक्षिणी युक्रेनमा गरिरहेको कारवाहीलाई उसले निरन्तरता दिनेछ ।
डोनबासको लुहान्स्कमा रहेको क्रेमेन्नायामा रुसी सैनिकहरू प्रवेश गरेर युक्रेनीहरूसँग लडिरहेको लुहान्स्कका गभर्नर सर्गे गाइदाइले बताएका छन् । लुहान्सककै पोपास्नाया र रुबेझ्नीमा भीषण लडाइँ चलिरहेको छ ।
त्यस्तै डोनत्स्कको मारिन्का, नोभोबाखमुतोव्का र ट्रोइट्स्की क्षेत्रमा पनि भयानक द्वन्द्व भइरहेको बताइएको छ । डोनबास क्षेत्रको दक्षिणमा रहेको पोक्रोव्स्कोये, स्टारोमायोर्सकोये, माकारोव्का लगायतका गाउँमा पनि रुसी र युक्रेनीहरूबीच लडाइँ भइरहेको खबर छ ।
रुसले डोनबास नियन्त्रणमा लिनका लागि किन जोड दिइरहेको हो ?
विगत आठ वर्षदेखि डोनबास क्षेत्रमा रहेका रुसीभाषीहरूमाथि युक्रेनी सेनाले गरेको ज्यादतीलाई सधैंका लागि अन्त्य गर्न डोनबासमा कारवाही चलाइएको रुसीहरू बताउँछन् ।
डोनबासमा रहेका दुईवटा क्षेत्र डोनेत्स्क र लुहान्स्कले सन् २०१४ देखि युक्रेनबाट छुट्टिनका लागि लडाइँ गरिरहेका छन् । उनीहरूलाई रुसले सहयोग गर्दै आएको छ ।
युक्रेनमाथि सैन्य कारवाही चलाउनुभन्दा ठीकअघि रुसले ती दुई क्षेत्रलाई स्वतन्त्र जनगणतन्त्रको मान्यता दिएको थियो । अहिले यी क्षेत्रले ओगटेको भूमि मात्र नभई सम्पूर्ण डोनबास क्षेत्रमा नियन्त्रण कायम गर्ने रुसको ध्येय देखिन्छ । त्यसले आफूलाई ‘स्ट्राटेजिक डेप्थ’ उपलब्ध गराउने रुसको आकलन देखिन्छ ।
यस्तो महत्त्वपूर्ण क्षेत्रमा रुसीभाषीहरूको बाहुल्य छ । सन् २०१४ मा रुससँग सुमधुर सम्बन्ध राख्न पैरवी गर्ने युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई सडक आन्दोलनमार्फत हटाइएपछि डोनबासमा पृथक्तावादी विद्रोह शुरू भएको थियो । यानुकोभिच पूर्वी युक्रेन निवासी हुन् ।
पृथक्तावादीहरूका विरुद्ध युक्रेनी सैनिकहरूले चलाएको लडाइँमा परी १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । डोनबासमा युक्रेनले रुसीभाषीहरूको नरसंहार गरिरहेको रुसको दाबी छ तर पश्चिमी मुलुकहरूले नरसंहारको दाबीमा कुनै प्रमाण नरहेको बताएका छन् ।
नरसंहार नै नभए पनि डोनबासमा रुसीभाषीहरूको मानवअधिकार उल्लंघन गरिएको दाबी चाहिँ पश्चिमकै विभिन्न मानवअधिकारवादी संस्थाहरूले गरेका छन् । विशेषगरी युक्रेन सरकारले डोनबासका बहुसंख्यक रुसीभाषीहरूमाथि युक्रेनी भाषा लाद्न खोजेको आरोप छ ।
मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले गत जनवरी महिनामा युक्रेन सरकारलाई रुसीभाषीलाई जबर्जस्ती युक्रेनी भाषा प्रयोग गर्न लगाउने काम रोक्न आग्रह गरेको थियो ।
त्यस्तै इन्टरनेसनल क्राइसिस ग्रुपले सन् २०१८ मा तयार पारेको प्रतिवेदनमा डोनबासका रुसीभाषीहरूले आफूलाई युक्रेन सरकारले नागरिकको व्यवहार नगरेको गुनासोको उल्लेख भएको छ । युक्रेनमा मानवअधिकारको पर्यवेक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय मिसनले पनि डोनबास क्षेत्रमा युक्रेनी अधिकारीहरूले स्वेच्छाचारी पक्राउ र लामो समयसम्म सम्पर्कविहीन थुना, अवैध कारावास लगायतका मानवअधिकार उल्लंघनका घटना गरेको प्रतिवेदन दिएको छ ।
त्यसैलाई आधार मानेर रुसले संरक्षणको दायित्व (रेस्पोन्सिबिलिटी टु प्रोटेक्ट) सिद्धान्त अपनाउँदै डोनबासमा हस्तक्षेप गरेको हो । रुसीभाषीहरूलाई समुचित व्यवहार गर्नका लागि बाध्य पार्ने मिन्स्क सम्झौतालाई युक्रेनले बारम्बार उल्लंघन गरेकाले उसविरुद्ध कारवाही चलाउनुपरेको रुसको दाबी छ ।
डोनबासलाई युक्रेनको नियन्त्रणबाट फुत्काएर बेग्लै राज्य बनाउने (नोभोरोसिया) अनि भविष्यमा त्यसलाई क्राइमिया जस्तै गरी रुसी भूमिमा मिसाउने रुसको लक्ष्य रहेको पश्चिमी विश्लेषकहरू बताउँछन् ।
डोनबासको आर्थिक महत्त्वलाई पनि रुसले विचार गरेर त्यसलाई नियन्त्रणमा लिन खोजेको देखिन्छ । डोनबास क्षेत्र प्राकृतिक स्रोत तथा उद्योग कलकारखानामा धनी ठाउँ हो । त्यहाँ रहेको कोइलाखानी युरोपकै चौथो सबभन्दा ठूलो हो । त्यसबाट १० अर्ब टनभन्दा बढी कोइला निकाल्न सकिने अनुमान गरिन्छ ।
डोनेत्स्क क्षेत्र एक्लैले युक्रेनको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत भाग ओगटेको छ । त्यस्तै युक्रेनको कुल निर्यातको एक चौथाइ भाग डोनेत्स्कबाटै उत्पादन हुने गरेको छ । युक्रेनका अन्य भागमा कृषिको दबदबा छ भने डोनबास औद्योगिक उत्पादनको क्षेत्रमा अग्रणी छ ।
जर्मन विश्लेषक जीनेट साइफर्टका अनुसार, डोनबासमा रुसको रुचि हुनुमा कच्चा पदार्थ उत्पादनको पनि ठूलो भूमिका छ । पूर्वी युक्रेनमा रहेका अनेकौं कम्पनीहरूले महत्त्वपूर्ण कच्चा पदार्थ उत्पादन गरी रुस निर्यात गर्ने गरेका छन् । विशेषगरी रुसको अन्तरिक्ष र रक्षा उद्योगका लागि आवश्यक वस्तुहरू पूर्वी युक्रेनले उपलब्ध गराउने गरेको छ ।
अर्थतन्त्रमा यस्तो योगदान गर्ने डोनबास क्षेत्रलाई युक्रेन कुनै पनि हालतमा गुमाउन चाहँदैन भने रुसले यो क्षेत्र नियन्त्रणमा लिएर युक्रेनलाई कमजोर बनाउने सोच पालिरहेको छ ।
तर युक्रेनले रुसलाई यो अभीष्ट पूरा हुन नदिनका लागि भरपूर कोशिश गर्नेछ । डोनबासको लडाइँ दोस्रो विश्वयुद्ध जस्तै हुने जेलेन्स्कीले पनि बताएका छन् ।
रुसलाई डोनबास नियन्त्रणमा लिन नदिनका लागि पश्चिमले पनि भरमग्दूर कोशिश गर्नेछ । अमेरिकाका राष्ट्रपति जो बाइडनले नेटोका सदस्य मुलुकहरूसँग आकस्मिक बैठक गरेर डोनबासका विषयमा छलफल गर्ने बताइएको छ ।
त्यसमा रुसलाई कसरी रोक्न सकिन्छ भनी चर्चा हुनेछ । अनि युक्रेनलाई घातक हातहतियार उपलब्ध गराउने विषयमा पनि सहमति बन्न सक्नेछ । त्यसो त डोनबास क्षेत्रमा कारवाही चलाउनका लागि युक्रेनी सेनालाई अमेरिका र नेटोले लामो समयदेखि तालिम दिँदै आएको थियो । हालै मात्र अमेरिकाले युक्रेनलाई हावित्जर र रेडार हतियारहरू उपलब्ध गराएको र त्यो चलाउन तालिम पनि दिने घोषणा गरेको छ ।
रुसले मरिउपोलमा अपनाएको युद्ध रणनीति नै डोनबास क्षेत्रमा अवलम्बन गर्ने सीएनएनमा डेनियल एल लेभिस लेख्छन् । यस्तो रणनीतिले डोनबासमा रहेका युक्रेनी सैनिकहरूलाई जोखिममा पार्ने उनको भनाइ छ ।
रुसीहरूले मरिउपोलमा घेराबन्दी गरी त्यहाँ रहेका युक्रेनी सैनिकहरूलाई खाद्यान्न, इन्धन र हातहतियारको पहुँचबाट वञ्चित गरेका थिए । त्यसपछि रुसीहरूले मरिउपोलमा पोजिसनमा रहेका युक्रेनी सैनिकहरूमाथि भारी बम तथा गोलाबारुद आक्रमण गरेका थिए ।
क्रमशः घेराबन्दीलाई कस्दै लगेर रुसीहरूले युक्रेनीहरूलाई नियन्त्रणमा लिने वा मार्ने काम गरे । पानी, खाद्यान्न र हातहतियार सकिएपछि युक्रेनीहरूले आत्मसमर्पण गरेका थिए ।
डोनबासको विशाल क्षेत्रमा यही रणनीतिमा काम गर्नका लागि रुसले बढी सैनिक परिचालन गर्नुपर्ने हुन्छ । यकिन संख्या थाहा नभए पनि रुसले लगभग ६० हजार सैनिक त्यहाँ परिचालन गरेको बताइन्छ । उता डोनबास रक्षाका लागि युक्रेनले ४० हजार सैनिक खटाएको बताइन्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गरेको अनुमान अनुसार, रुसका ७६ वटा कब्म्याट युनिटहरू डोनबास तथा युक्रेनको दक्षिणी क्षेत्रमा खटिएका छन् । पेन्टागनका प्रवक्ता जोन कर्बीले हालैका दिनमा रुसले आर्टिलरी र स्थल सैनिकको संख्या थपेको बताएका छन् ।
अमेरिकी सेनाका पूर्व लेफ्टिनेन्ट कर्नेल डेनियल डेभिसले डोनबासको लडाइँ युक्रेनका लागि सहज नहुने आकलन गरेका छन् । १९४५ डट्कममा प्रकाशित उनको लेख अध्ययन गर्दा रुसले पहिलो चरणमा गरेको भूललाई सुधार्दै डोनबासमा केन्द्रीकृत कारवाही चलाउने देखिएकाले उसलाई रोक्न युक्रेनलाई निकै नै मुश्किल पर्ने निष्कर्ष निकाल्न सकिन्छ ।
आफ्ना सैनिकहरूलाई विभिन्न ठाउँमा छरेर राखेकाले रुसलाई निर्णायक कारवाही चलाउन गाह्रो परेको थियो र उसका धेरै सैनिक पनि मारिएका थिए । तर रुसी सैनिकहरूमाथि युक्रेनले विश्वसनीय प्रत्याक्रमण चाहिँ नदेखिएकाले युक्रेनी क्षमतामा प्रश्न उठाउने ठाउँ छ ।
रुसी आक्रमणकारीहरूलाई पछि हट्न बाध्य बनाउने पर्याप्त संख्यामा सैनिक तथा सही किसिमको सैन्य उपकरण युक्रेनसँग नरहेको डेभिस लेख्छन् । उनीहरूले अमेरिकाबाट प्राप्त स्टिंगर र जेभलिन मिसाइलका साथै अट्याक ड्रोनहरूको उपयोग गरी डोनबासलाई मजबूत किल्ला बनाउने अनि रुसलाई डोनबास क्षेत्रको पूर्ण घेराबन्दी गर्नबाट रोक्नेसम्मको काम गर्न सक्छन् । त्यसक्रममा उनीहरूले रुसलाई बढीभन्दा बढी रगत बगाउन बाध्य पार्न सक्छन् ।
मुख्य कुरा, युक्रेनीहरूले आफूविरुद्ध घेराबन्दी हुन नदिएर आफ्ना सैनिकहरूलाई खाद्यान्न, पानी तथा हातहतियार उपलब्ध गराइरहन पाए भने रुसलाई अप्ठ्यारो पर्नेछ । तर यसको सम्भावना निकै कम रहेको डेभिसको आकलन छ ।
रुसले इस्कन्दर क्षेप्यास्त्र, टोर्नेडो–एस मल्टिपल रकेट लोन्चर सिस्टम, बीएमडी–४एम एयरबोर्न कब्म्याट भेहिकल्स लगायतका हतियार उपयोग गरेर युक्रेनीहरूलाई गाह्रो पार्न सक्ने सैन्य विश्लेषकहरूको मत छ ।
डोनबासको लडाइँ रुस र युक्रेन दुवैका लागि महत्त्वपूर्ण छ । यस लडाइँमा रुस विजयी भएमा आफ्नो शर्त मनाउन युक्रेनलाई उसले बाध्य पार्न पाउँछ । युक्रेन नेटोमा नजोडिने र तटस्थ रहने कुराको प्रत्याभूतिका साथै डोनबास क्षेत्र र क्राइमियालाई रुसी भूभागको मान्यता दिन बाध्य हुने स्थिति रुसी विजयले दिलाउनेछ । तर अहिलेसम्मको लडाइँमा युक्रेनले गरेको दह्रो प्रतिरक्षा तथा पश्चिमले उपलब्ध गराएको सैन्य सहायतालाई विचार गर्दा रुसलाई विजय पाउनका लागि निकै धेरै संघर्ष गर्नुपर्ने देखिन्छ ।