माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
बैशाख ६, २०७९
रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले लामो तयारीपछि रुसीहरूले डोनबास क्षेत्रमा आक्रमण शुरू गरेको सोमवार बताएका हुन् । रुसले जतिसुकै सैनिकहरू ल्याए पनि आफूहरू लड्न तयार रहेको र डोनबासलाई जसरी भए पनि प्रतिरक्षा गर्ने जेलेन्स्कीको भनाइ छ ।
डोनबासमा सैन्य कारवाही शुरू गरेसँगै यो युद्ध दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो चरणमा रुसले एकैपटक पूर्व, दक्षिण र उत्तरबाट मोर्चा खोलेको थियो भने यसपटक ऊ डोनबासमा केन्द्रित हुने देखिन्छ तर दक्षिणी युक्रेनमा गरिरहेको कारवाहीलाई उसले निरन्तरता दिनेछ ।
डोनबासको लुहान्स्कमा रहेको क्रेमेन्नायामा रुसी सैनिकहरू प्रवेश गरेर युक्रेनीहरूसँग लडिरहेको लुहान्स्कका गभर्नर सर्गे गाइदाइले बताएका छन् । लुहान्सककै पोपास्नाया र रुबेझ्नीमा भीषण लडाइँ चलिरहेको छ ।
त्यस्तै डोनत्स्कको मारिन्का, नोभोबाखमुतोव्का र ट्रोइट्स्की क्षेत्रमा पनि भयानक द्वन्द्व भइरहेको बताइएको छ । डोनबास क्षेत्रको दक्षिणमा रहेको पोक्रोव्स्कोये, स्टारोमायोर्सकोये, माकारोव्का लगायतका गाउँमा पनि रुसी र युक्रेनीहरूबीच लडाइँ भइरहेको खबर छ ।
रुसले डोनबास नियन्त्रणमा लिनका लागि किन जोड दिइरहेको हो ?
विगत आठ वर्षदेखि डोनबास क्षेत्रमा रहेका रुसीभाषीहरूमाथि युक्रेनी सेनाले गरेको ज्यादतीलाई सधैंका लागि अन्त्य गर्न डोनबासमा कारवाही चलाइएको रुसीहरू बताउँछन् ।
डोनबासमा रहेका दुईवटा क्षेत्र डोनेत्स्क र लुहान्स्कले सन् २०१४ देखि युक्रेनबाट छुट्टिनका लागि लडाइँ गरिरहेका छन् । उनीहरूलाई रुसले सहयोग गर्दै आएको छ ।
युक्रेनमाथि सैन्य कारवाही चलाउनुभन्दा ठीकअघि रुसले ती दुई क्षेत्रलाई स्वतन्त्र जनगणतन्त्रको मान्यता दिएको थियो । अहिले यी क्षेत्रले ओगटेको भूमि मात्र नभई सम्पूर्ण डोनबास क्षेत्रमा नियन्त्रण कायम गर्ने रुसको ध्येय देखिन्छ । त्यसले आफूलाई ‘स्ट्राटेजिक डेप्थ’ उपलब्ध गराउने रुसको आकलन देखिन्छ ।
यस्तो महत्त्वपूर्ण क्षेत्रमा रुसीभाषीहरूको बाहुल्य छ । सन् २०१४ मा रुससँग सुमधुर सम्बन्ध राख्न पैरवी गर्ने युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई सडक आन्दोलनमार्फत हटाइएपछि डोनबासमा पृथक्तावादी विद्रोह शुरू भएको थियो । यानुकोभिच पूर्वी युक्रेन निवासी हुन् ।
पृथक्तावादीहरूका विरुद्ध युक्रेनी सैनिकहरूले चलाएको लडाइँमा परी १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । डोनबासमा युक्रेनले रुसीभाषीहरूको नरसंहार गरिरहेको रुसको दाबी छ तर पश्चिमी मुलुकहरूले नरसंहारको दाबीमा कुनै प्रमाण नरहेको बताएका छन् ।
नरसंहार नै नभए पनि डोनबासमा रुसीभाषीहरूको मानवअधिकार उल्लंघन गरिएको दाबी चाहिँ पश्चिमकै विभिन्न मानवअधिकारवादी संस्थाहरूले गरेका छन् । विशेषगरी युक्रेन सरकारले डोनबासका बहुसंख्यक रुसीभाषीहरूमाथि युक्रेनी भाषा लाद्न खोजेको आरोप छ ।
मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले गत जनवरी महिनामा युक्रेन सरकारलाई रुसीभाषीलाई जबर्जस्ती युक्रेनी भाषा प्रयोग गर्न लगाउने काम रोक्न आग्रह गरेको थियो ।
त्यस्तै इन्टरनेसनल क्राइसिस ग्रुपले सन् २०१८ मा तयार पारेको प्रतिवेदनमा डोनबासका रुसीभाषीहरूले आफूलाई युक्रेन सरकारले नागरिकको व्यवहार नगरेको गुनासोको उल्लेख भएको छ । युक्रेनमा मानवअधिकारको पर्यवेक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय मिसनले पनि डोनबास क्षेत्रमा युक्रेनी अधिकारीहरूले स्वेच्छाचारी पक्राउ र लामो समयसम्म सम्पर्कविहीन थुना, अवैध कारावास लगायतका मानवअधिकार उल्लंघनका घटना गरेको प्रतिवेदन दिएको छ ।
त्यसैलाई आधार मानेर रुसले संरक्षणको दायित्व (रेस्पोन्सिबिलिटी टु प्रोटेक्ट) सिद्धान्त अपनाउँदै डोनबासमा हस्तक्षेप गरेको हो । रुसीभाषीहरूलाई समुचित व्यवहार गर्नका लागि बाध्य पार्ने मिन्स्क सम्झौतालाई युक्रेनले बारम्बार उल्लंघन गरेकाले उसविरुद्ध कारवाही चलाउनुपरेको रुसको दाबी छ ।
डोनबासलाई युक्रेनको नियन्त्रणबाट फुत्काएर बेग्लै राज्य बनाउने (नोभोरोसिया) अनि भविष्यमा त्यसलाई क्राइमिया जस्तै गरी रुसी भूमिमा मिसाउने रुसको लक्ष्य रहेको पश्चिमी विश्लेषकहरू बताउँछन् ।
डोनबासको आर्थिक महत्त्वलाई पनि रुसले विचार गरेर त्यसलाई नियन्त्रणमा लिन खोजेको देखिन्छ । डोनबास क्षेत्र प्राकृतिक स्रोत तथा उद्योग कलकारखानामा धनी ठाउँ हो । त्यहाँ रहेको कोइलाखानी युरोपकै चौथो सबभन्दा ठूलो हो । त्यसबाट १० अर्ब टनभन्दा बढी कोइला निकाल्न सकिने अनुमान गरिन्छ ।
डोनेत्स्क क्षेत्र एक्लैले युक्रेनको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत भाग ओगटेको छ । त्यस्तै युक्रेनको कुल निर्यातको एक चौथाइ भाग डोनेत्स्कबाटै उत्पादन हुने गरेको छ । युक्रेनका अन्य भागमा कृषिको दबदबा छ भने डोनबास औद्योगिक उत्पादनको क्षेत्रमा अग्रणी छ ।
जर्मन विश्लेषक जीनेट साइफर्टका अनुसार, डोनबासमा रुसको रुचि हुनुमा कच्चा पदार्थ उत्पादनको पनि ठूलो भूमिका छ । पूर्वी युक्रेनमा रहेका अनेकौं कम्पनीहरूले महत्त्वपूर्ण कच्चा पदार्थ उत्पादन गरी रुस निर्यात गर्ने गरेका छन् । विशेषगरी रुसको अन्तरिक्ष र रक्षा उद्योगका लागि आवश्यक वस्तुहरू पूर्वी युक्रेनले उपलब्ध गराउने गरेको छ ।
अर्थतन्त्रमा यस्तो योगदान गर्ने डोनबास क्षेत्रलाई युक्रेन कुनै पनि हालतमा गुमाउन चाहँदैन भने रुसले यो क्षेत्र नियन्त्रणमा लिएर युक्रेनलाई कमजोर बनाउने सोच पालिरहेको छ ।
तर युक्रेनले रुसलाई यो अभीष्ट पूरा हुन नदिनका लागि भरपूर कोशिश गर्नेछ । डोनबासको लडाइँ दोस्रो विश्वयुद्ध जस्तै हुने जेलेन्स्कीले पनि बताएका छन् ।
रुसलाई डोनबास नियन्त्रणमा लिन नदिनका लागि पश्चिमले पनि भरमग्दूर कोशिश गर्नेछ । अमेरिकाका राष्ट्रपति जो बाइडनले नेटोका सदस्य मुलुकहरूसँग आकस्मिक बैठक गरेर डोनबासका विषयमा छलफल गर्ने बताइएको छ ।
त्यसमा रुसलाई कसरी रोक्न सकिन्छ भनी चर्चा हुनेछ । अनि युक्रेनलाई घातक हातहतियार उपलब्ध गराउने विषयमा पनि सहमति बन्न सक्नेछ । त्यसो त डोनबास क्षेत्रमा कारवाही चलाउनका लागि युक्रेनी सेनालाई अमेरिका र नेटोले लामो समयदेखि तालिम दिँदै आएको थियो । हालै मात्र अमेरिकाले युक्रेनलाई हावित्जर र रेडार हतियारहरू उपलब्ध गराएको र त्यो चलाउन तालिम पनि दिने घोषणा गरेको छ ।
रुसले मरिउपोलमा अपनाएको युद्ध रणनीति नै डोनबास क्षेत्रमा अवलम्बन गर्ने सीएनएनमा डेनियल एल लेभिस लेख्छन् । यस्तो रणनीतिले डोनबासमा रहेका युक्रेनी सैनिकहरूलाई जोखिममा पार्ने उनको भनाइ छ ।
रुसीहरूले मरिउपोलमा घेराबन्दी गरी त्यहाँ रहेका युक्रेनी सैनिकहरूलाई खाद्यान्न, इन्धन र हातहतियारको पहुँचबाट वञ्चित गरेका थिए । त्यसपछि रुसीहरूले मरिउपोलमा पोजिसनमा रहेका युक्रेनी सैनिकहरूमाथि भारी बम तथा गोलाबारुद आक्रमण गरेका थिए ।
क्रमशः घेराबन्दीलाई कस्दै लगेर रुसीहरूले युक्रेनीहरूलाई नियन्त्रणमा लिने वा मार्ने काम गरे । पानी, खाद्यान्न र हातहतियार सकिएपछि युक्रेनीहरूले आत्मसमर्पण गरेका थिए ।
डोनबासको विशाल क्षेत्रमा यही रणनीतिमा काम गर्नका लागि रुसले बढी सैनिक परिचालन गर्नुपर्ने हुन्छ । यकिन संख्या थाहा नभए पनि रुसले लगभग ६० हजार सैनिक त्यहाँ परिचालन गरेको बताइन्छ । उता डोनबास रक्षाका लागि युक्रेनले ४० हजार सैनिक खटाएको बताइन्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गरेको अनुमान अनुसार, रुसका ७६ वटा कब्म्याट युनिटहरू डोनबास तथा युक्रेनको दक्षिणी क्षेत्रमा खटिएका छन् । पेन्टागनका प्रवक्ता जोन कर्बीले हालैका दिनमा रुसले आर्टिलरी र स्थल सैनिकको संख्या थपेको बताएका छन् ।
अमेरिकी सेनाका पूर्व लेफ्टिनेन्ट कर्नेल डेनियल डेभिसले डोनबासको लडाइँ युक्रेनका लागि सहज नहुने आकलन गरेका छन् । १९४५ डट्कममा प्रकाशित उनको लेख अध्ययन गर्दा रुसले पहिलो चरणमा गरेको भूललाई सुधार्दै डोनबासमा केन्द्रीकृत कारवाही चलाउने देखिएकाले उसलाई रोक्न युक्रेनलाई निकै नै मुश्किल पर्ने निष्कर्ष निकाल्न सकिन्छ ।
आफ्ना सैनिकहरूलाई विभिन्न ठाउँमा छरेर राखेकाले रुसलाई निर्णायक कारवाही चलाउन गाह्रो परेको थियो र उसका धेरै सैनिक पनि मारिएका थिए । तर रुसी सैनिकहरूमाथि युक्रेनले विश्वसनीय प्रत्याक्रमण चाहिँ नदेखिएकाले युक्रेनी क्षमतामा प्रश्न उठाउने ठाउँ छ ।
रुसी आक्रमणकारीहरूलाई पछि हट्न बाध्य बनाउने पर्याप्त संख्यामा सैनिक तथा सही किसिमको सैन्य उपकरण युक्रेनसँग नरहेको डेभिस लेख्छन् । उनीहरूले अमेरिकाबाट प्राप्त स्टिंगर र जेभलिन मिसाइलका साथै अट्याक ड्रोनहरूको उपयोग गरी डोनबासलाई मजबूत किल्ला बनाउने अनि रुसलाई डोनबास क्षेत्रको पूर्ण घेराबन्दी गर्नबाट रोक्नेसम्मको काम गर्न सक्छन् । त्यसक्रममा उनीहरूले रुसलाई बढीभन्दा बढी रगत बगाउन बाध्य पार्न सक्छन् ।
मुख्य कुरा, युक्रेनीहरूले आफूविरुद्ध घेराबन्दी हुन नदिएर आफ्ना सैनिकहरूलाई खाद्यान्न, पानी तथा हातहतियार उपलब्ध गराइरहन पाए भने रुसलाई अप्ठ्यारो पर्नेछ । तर यसको सम्भावना निकै कम रहेको डेभिसको आकलन छ ।
रुसले इस्कन्दर क्षेप्यास्त्र, टोर्नेडो–एस मल्टिपल रकेट लोन्चर सिस्टम, बीएमडी–४एम एयरबोर्न कब्म्याट भेहिकल्स लगायतका हतियार उपयोग गरेर युक्रेनीहरूलाई गाह्रो पार्न सक्ने सैन्य विश्लेषकहरूको मत छ ।
डोनबासको लडाइँ रुस र युक्रेन दुवैका लागि महत्त्वपूर्ण छ । यस लडाइँमा रुस विजयी भएमा आफ्नो शर्त मनाउन युक्रेनलाई उसले बाध्य पार्न पाउँछ । युक्रेन नेटोमा नजोडिने र तटस्थ रहने कुराको प्रत्याभूतिका साथै डोनबास क्षेत्र र क्राइमियालाई रुसी भूभागको मान्यता दिन बाध्य हुने स्थिति रुसी विजयले दिलाउनेछ । तर अहिलेसम्मको लडाइँमा युक्रेनले गरेको दह्रो प्रतिरक्षा तथा पश्चिमले उपलब्ध गराएको सैन्य सहायतालाई विचार गर्दा रुसलाई विजय पाउनका लागि निकै धेरै संघर्ष गर्नुपर्ने देखिन्छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...