×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव : जितपुर–सिमरा उपमहानगर विशेष

जितपुर–सिमराको ‘टफ भिडन्त’: एमाले–माओवादी आमनेसामने, कसको पल्ला भारी ?

बैशाख १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकाभित्रका चिया पसलहरू अहिले मध्यदिनको गर्मीजत्तिकै रापतापयुक्त बनिरहेका छन् ।

Muktinath Bank

उपमहानगरपालिका र यसअन्तर्गतका वडाहरूमा जनप्रतिनिधि छान्न उम्मेदवारी दर्ता भएसँगै जितपुर–सिमरा उपमहानगरपालिकाभित्रको राजनीति गर्माएको छ । हरेकजसो चियापसलमा जीतहारका अड्कलबाजी भइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिया गफमा हुने कुराकानीमा आउने उम्मेदवारहरूका विषयमा मात्रै होइन, विगतका जनप्रतिनिधिको कामको बारेमा पनि समीक्षा भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

२०७४ को चुनावमा जितपुर–सिमरा उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको थियो । एमालेका डा. कृष्ण पौडेलले मेयर र सरस्वती चौधरीले उपमेयरमा चुनाव जितेका थिए ।

अहिले एमालेका पौडेलले मेयरमा टिकट दाबी नै गरेनन् । एमालेबाट १० जनाले मेयरको टिकट दाबी गरेको भए पनि पार्टीले उपमेयर सरस्वती चौधरीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गर्‍यो । 

जितपुर–सिमरा उपमहानगरपालिकामा एमालेविरुद्ध चार राजनीतिक दलको गठबन्धन छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रले राजन पौडेललाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा कांग्रेसकी युवा नेत्री मेघा शाही उम्मेदवार बनेकी छन् ।

अघिल्लो चुनावमा उपमहानगरपालिकाको नेतृत्वको लागि त्रिपक्षीय भिडन्त भएको जितपुर–सिमरामा यसपटक भने द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । चुनावी मैदानमा एमाले र सत्तारूढ गठबन्धन आमनेसामने हुने भएका छन् । राप्रपाको पक्षमा पनि जनलहर देखिएको छ तर त्यसले निर्वाचनमा निर्णायक भूमिका नखेल्ने स्थानीय बासिन्दाको विश्लेषण छ ।

पौडेलको मेहनत र कांग्रेसभित्रको असन्तुष्टि 

अहिले माओवादी केन्द्रले जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएका राजन पौडेल २०७४ को निर्वाचनमा मेयरमा लडेर पराजित भएका थिए । त्यसबेला एमालेले मेयर जित्दा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको थियो । 

त्यो निर्वाचन हारेपछि माओवादी केन्द्रका नेता पौडेल अर्को निर्वाचनको तयारीमा तत्कालै जुटेको बताउँछन् । 

‘चुनाव हारेपछि पनि म जनताकै बीचमा गएँ । उनीहरूको सुखदुःखमा सहभागी भएँ । महानगरभित्रको समस्या समाधानको लागि पहलकदमी लिएँ । त्यसले गर्दा यहाँका जनतालाई अबको मेयर राजन पौडेल नै हो भन्ने कुरा मानसिक रूपमा तयार गराइसकेको छ । मेरो चुनाव जित्ने आधार नै यही हो’, पौडेलले भने । 

माओवादी केन्द्रको मधेश प्रदेश कमिटीको सदस्य रहेका पौडेलले उपमहानगरभित्र स्वच्छ छविका युवा नेताको पहिचान स्थापित गरेका छन् । 

जितपुर–सिमरा उपमहानगरपालिकाको वडा नम्बर ३ का एक मतदाता भन्छन्, ‘उहाँले विगत दुई तीन वर्षदेखि मेयरको चुनावको राम्रो तयारी गर्नुभएको छ । युवाहरूसँग घुलमिल गर्ने, जनताको समस्या समधानमा अग्रसर भएर लाग्ने र सबैलाई समेटेर अघि बढ्न खोज्ने स्वभाव उहाँको छ ।’

जितपुर–सिमरा उपमहानगरपालिकामा शिक्षा र सामाजिक क्षेत्रमा काम गरिरहेका सिमरा क्याम्पसका प्रमुख शालिग्राम अधिकारी पनि पौडेलले केही वर्षदेखि मेयरको चुनावको लागि राम्रोसँग तयारी गरेको बताउँछन् ।

‘आफूले चुनाव हार्नुको कारण, त्यसको विश्लेषण र अर्को चुनाव जित्ने उपाय खोजेर तीन वर्षदेखि उहाँले चुनावको तयारी गर्नुभएको देखिन्छ’, अधिकारीले भने । 

अघिल्लो चुनावमा जितपुर–सिमरा उपमहानगरपालिकाको २४ मध्ये १० वटा वडाको वडाअध्यक्ष माओवादी केन्द्रले जितेको थियो । त्यसले पनि यस उपमहानगरपालिकामा माओवादी केन्द्र बलियो शक्तिको रूपमा रहेको देखाउँछ ।

त्यसबेलाको चुनावमा देशभर माओवादी केन्द्रको प्रस्तुति राम्रो नभएको र मधेश प्रदेशमा तेस्रो चरणमा चुनाव भएको कारण देशभरको प्रभाव जितपुर–सिमरामा पनि पर्दा आफूले चुनाव हार्नुपरेको पौडेल बताउँछन् । तर, यसपटक भने अघिल्लो चुनावमा दोस्रो स्थानमा आएको कांग्रेससहितको गठबन्धनमा रहेर चुनावी प्रतिस्पर्धामा आएको कारण जित्नेमा ढुक्क रहेको पौडेलको भनाइ छ । 

मेयरको चुनाव जितेपछि सबैभन्दा बढी मानवीय क्षेत्रमा काम गर्ने र उपमहानगरलाई सुशासनको नमूना बनाउने एजेन्डा रहेको उनले बताए । उपमहानगरमा शिक्षा, स्वास्थ्य, वातावरण र पूर्वाधार विकासको क्षेत्रमा काम गर्ने योजना रहेको उनले जानकारी दिए । 

तर, गठबन्धनमा उपमेयरको टिकट कनिष्ठलाई दिएको भन्दै सहयात्री दल कांग्रेसभित्र भने असन्तोष चुलिएको छ । 

कांग्रेसकी नेत्री मेघा शाही काठमाडौंमा रहेर विद्यार्थी राजनीति गरिरहेको र जितपुर सिमरामा खासै सक्रिय नरहेको अनि नेताको पहुँचको भरमा उनलाई उम्मेदवार बनाइएको गुनासो जितपुर सिमरा क्षेत्रको कांग्रेस वृत्तमा छ । 

स्थानीय कांग्रेसले यसअघिको उपमेयरको उम्मेदवार नारायणी रायमाझीलाई उम्मेदवार बनाउन खोजेको भए पनि पहुँचको भरमा शाहीलाई उम्मेदवार बनाइएको कांग्रेस कार्यकर्ताहरूको आरोप छ । 

कांग्रेसको क्रियाशील सदस्य रहेका केशव अधिकारी उम्मेदवार छनौटमा पार्टीले विवेक नपुर्‍याएका कारण अधिकांश कांग्रेस कार्यकर्ता चुनावी प्रचार अभियानमा र मतदानमा सहभागी नहुने सम्भावना रहेको बताउँछन् । 

उनी भन्छन्, ‘जितपुर–सिमरा उपमहानगरपालिकामा कांग्रेस एक्लैले चुनाव जित्न सक्ने अवस्था थियो तर पनि गठबन्धन गरियो । गठबन्धन गर्दा पनि कांग्रेसले जनतामा भिजेको उम्मेदवार ल्याउन सकेन ।’

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुरको मान्छे भएको कारण शाहीले टिकट पाएको आरोप उनले लगाए । मन्सुर संघीय सरकारको मन्त्री भएका बेला शाहीले स्वकीय सचिव भएर काम गरेकी थिइन् । 

कांग्रेसभित्रको यो अन्तर्विरोधको असर गठबन्धनतर्फका उम्मेदवारलाई पनि पर्ने देखिन्छ । ​

सरस्वतीको अनुभव र उपमेयरमा उम्दा उम्मेदवार 

नेकपा एमालेले मेयरको उम्मेदवार बनाएकी सरस्वती चौधरीले उपमेयरका रूपमा पाँच वर्ष काम गरिसकेकी छन् ।

अहिले नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएकी उनी उपमेयरका रूपमा काम गरेको अनुभव नै आफ्नो जीतको आधार भएको बताउँछिन् । 

शिक्षण पेशाको पृष्ठभूमीबाट उनी राजनीतिमा आएकी हुन् । उपमेयरका रूपमा उपमहानगरपालिकामा न्यायिक समितिको संयोजक समेत भएर काम गरेको अनुभवले सफल मेयर बन्न सघाउने उनले बताइन् ।

‘उपमेयरको रूपमा कतिपय विषयमा निर्णय लिने अधिकार थिएन । त्यसबेला शुरू गरेका कतिपय काम सम्पन्न गर्नुपर्ने पनि छ । उपमहानगरलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ भन्ने अनुभव हासिल भएको छ । मैले पाँच वर्षमा गरेको कामको मूल्यांकन गरेर जनताले मलाई मेयरको जिम्मेवारी दिलाउँछन् भन्ने विश्वास गरेकी छु’, उनले भनिन् ।

नेकपा एमाले विभाजन हुनुअघि माधव नेपाल खेमामा रहेकी चौधरी पार्टी विभाजनमा साथ नदिएर मूल पार्टीमै बसेकी थिइन् ।

१० औं महाधिवेशनपछि उनी केन्द्रीय सदस्य मनोनित भइन् । अहिले पार्टीले उनलाई मेयरको उम्मेदवार बनाएको छ । 

प्रमुख र उपप्रमुख पदका एमाले उम्मेदवार

जितपुर सिमरालाई मेगासिटी र स्मार्ट सिटी बनाउने आधारशिला तयार गरेको र आगामी वर्षमा त्यसलाई पूर्णता दिने योजनासहित मेयरको उम्मेदवार बनेको चौधरीले बताइन् । 

पालिकामा हुँदा आमनागरिकसँग सिधा सम्पर्कमा रहेर काम गर्न पाइने भएकाले मेयरको टिकट दाबी गरेको उनको भनाइ छ । 

‘एमालेले जुन नीति ल्याउँछ, त्यो कार्यान्वयन गरेर देखाउँछ भन्ने छाप जनतामा परेको छ’, चौधरीले भनिन्, ‘उपमेयरमा दोहोरिने इच्छा मलाई भएन र मेयरको टिकट नदिने भए स्थानीयस्तरमा पार्टीकै काम गरेर बस्छु भनेको थिएँ । एमालेमा जसले टिकट पाए पनि पार्टीलाई मिलेर जिताउने प्रतिबद्धता थियो । स्थानीय जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न पाउने भएकाले मैले मेयरको टिकट दाबी गरेकी हुँ र पार्टीले मलाई पत्यायो पनि ।’

उपमेयरका रूपमा चौधरीलाई जितपुर–सिमरा उपमहानगरपालिकाका मतदाताले निर्णय क्षमता भएको नेत्रीका रूपमा मूल्यांकन गरेका छन् । ‘उहाँको निर्णय लिने क्षमता राम्रो छ । उहाँ जस्तोसुकै विषयमा पनि साहसी निर्णय गर्न सक्नुहुन्छ । निर्णय गर्दा कोही रिसाउला भन्नेमा ध्यान दिनुहुन्न । गलत निर्णय नगरेपछि भोलिको चिन्ता लिनुपर्दैन भन्ने उहाँको कुरा हुन्छ’, शालिग्राम अधिकारीले भने ।

उपमेयरको तुलनामा एमालेबाट मेयर जितेका डा. कृष्ण पौडेलको भने निर्णय क्षमता कमजोर रहेको स्थानीयहरू बताउँछन् । 

उनले कुनै पनि विषयमा स्पष्ट निर्णय नलिई अड्काएर राख्ने र त्यसमा अरूले खेल्ने गर्दा उनी आफैं बदनाम हुन पुगेको कतिपय स्थानीयको विश्लेषण छ । 

एमालेले उममेयरमा भोलाप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ । उनीसँग यसअघि गाउँ विकास समितिको अध्यक्षको रूपमा काम गरेको अनुभव छ । अधिकारी पार्टीका पुराना नेताका रूपमा चिनिन्छन् । सादा र सरल नेताको पहिचान बनाएका उनको प्रभाव गाउँबस्तीमा अहिलेसम्म छ । अहिले पनि कहीँ कतै झगडा मिलाउनुपर्दा उनैलाई बोलाउने गरिन्छ । 

उनका बारेमा सिमरा क्याम्पसका क्याम्पस प्रमुख शालिग्राम अधिकारी भन्छन्, ‘जनतामा भिजेको र लामो राजनीतिक अनुभव भएको नेता हो उहाँ । अहिले पनि गाउँमा झगडा पर्दा उहाँलाई मुखियाको रूपमा बोलाएर समस्या समाधान गर्छन् ।’

जितपुर–सिमरा उपमहानगरपालिकाका लागि उनी उम्दा उम्मेदवार भएको चर्चा जितपुर सिमरा क्षेत्रमा छ । 

मेयर र उपमेयरमा मात्रै गठबन्धन

देशव्यापी रूपमा चुनावी गठबन्धन गरेको सत्तारूढ पाँच राजनीतिक दलले जितपुर–सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयरमा मात्रै गठबन्धन गरेका छन् । उपमहानगरपालिकाको २४ वटै वडामा एकलौटी रूपमा उम्मेदवारी दर्ता भएको छ । 

कतिपय वडामा यसअघि जितेका उम्मेदवार र कतिपयमा भने यसअघिको चुनावमा हारेका व्यक्ति नै उम्मेदवार बनेका छन् । 

माथिल्लो दुईवटा पदमा मात्रै उम्मेदवार बनेका कारण जितपुर–सिमरा उपमहानगरपालिकामा गठबन्धनमा रहेका पार्टीका कार्यकर्ताले इमान्दारीपूर्वक गठबन्धनका उम्मेदवारलाई मत हाल्नेमा यहाँका मतदाता नै आशंका व्यक्त गर्छन् । 

स्वतन्त्र भूमिकामा रहेका सिमरा क्याम्पसका प्रमुख अधिकारी भन्छन्, ‘तल्लो तहसम्म गठबन्धन देखिएको छैन । मुख्य पदमा भएको गठबन्धनलाई मतदाताले कत्तिको अनुमोदन गर्छन् भन्ने चुनावले नै बताउनेछ । वडामा पनि गठबन्धन भएको भए त्यसको प्रभाव मेयर र उपमेयर पदमा पनि पर्न सक्थ्यो ।’

जितपुर–सिमराका साझा मुद्दा

जितपुर–सिमरा बसाइँसराइ गरेर आएका मानिसहरूले बनाएको शहर हो । यहाँ पहाडी, मधेशी र थारू समुदायका मानिसको बसोबास छ । औद्योगिक शहरका रूपमा पनि यसको पहिचान छ । जितपुरमा ठूला उद्योग कलकारखानाहरू छन् । पछिल्लो समय तीव्र रूपमा आर्थिक प्रगति गरिरहेको शहरको रूपमा यसलाई चिनिन्छ । 

निर्माणाधीन निजगढ विमानस्थल, फास्ट ट्रयाक, विशेष आर्थिक क्षेत्र (सेज) आदिका कारण जितपुर सिमरा उपमहानगरपालिकाले सबैतिरको ध्यान खिचिरहेको छ । 


शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण संरक्षण र भौतिक पूर्वाधार विकास यहाँका महत्त्वपूर्ण एजेन्डा हुन् ।

उद्योगी व्यवसायी र स्थानीय बासिन्दाबीचको अन्तर्विरोधलाई सामञ्जस्यका साथ सम्बोधन गर्नु उपमहानगर नेतृत्वको प्रमुख चुनौती हो । यसपछि व्यवस्थित शहरीकरण स्थानीयको माग छ । शहरको ढल र फोहोर व्यवस्थापन सबैभन्दा चर्काे मुद्दाको रूपमा उठ्ने गरेको छ । चुनाव जितेर मेयर बनेका व्यक्तिले यिनै विषयलाई प्रमुख मुद्दा बनाएर काम गर्नुपर्ने अवस्था जितपुर–सिमरा उपमहानगरपालिकामा छ । 


hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x