२९ जेठ २०८३, शुक्रबार
स्थानीय चुनाव : वीरगञ्ज महानगरपालिका विशेष

खर्च नगरी चुनाव लड्दैछु, वीरगञ्जको विकास गर्ने भिजन मसँग छ– गिरीश गिरी [अन्तर्वार्ता]

खर्च नगरी चुनाव लड्दैछु, वीरगञ्जको विकास गर्ने भिजन मसँग छ– गिरीश गिरी [अन्तर्वार्ता]

काठमाडौंमा पत्रकार र लेखकको पहिचान स्थापित गरेका गिरीश गिरी वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चिह्न उम्मेदवार बनेका उनी वीरगञ्जको गर्मी नभनी व्यापक चुनावी अभियानमा छन् ।

चुनाव प्रचारकै क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१ छप्कैयामा गिरीलाई हामीले भेटका थियौं । दुई छोराहरूलाई साथमा लिएर सामान्य शैलीको चुनावी प्रचार अभियानमा उनी भेटिएका थिए । 

खर्च नगरी चुनावी अभियान चलाउने र जनतालाई आफ्ना कुरा सुनाउन घरदैलो गर्ने योजनामा रहेका गिरीसँग हामीले चुनावी अभियानकै क्रममा मतदाताकै अगाडि अन्तरवार्ता गर्यौं ।

आजभन्दा १८ वर्ष अगाडि गिरीशका बुवालाई तत्कालीन माओवादीले गोली हानी हत्या गरेको थियो । उनी तत्कालीन राजा ज्ञानेन्द्रले वीरगञ्ज नगरपालिकाको मेयरमा मनोनित गरेका व्यक्ति थिए । मेयर भएकै बेलामा माओवादीले पाँच लाख रुपैयाँ चन्दा मागेको र सार्वजनिक रूपमै दिन अस्वीकार गरेपछि माओवादीहरूले हत्या गरेको गिरीश बताउँछन् । त्यसपछि उनको परिवार वीरगञ्जबाट विस्थापित भयो ।

अन्तरवार्ताका क्रममा वीरगञ्जबाट विस्थापित हुनुपरेको कुरा बताउँदा उनी भक्कानिए । उनका आँखा रसाए । वीरगञ्जबाट विस्थापित हुनुपरेको र अहिले चुनावमा फर्किएको कहानी गिरीशले आशु पुछ्दै सुनाए ।

लामो समयको अन्तरलापछि गिरीश नगरप्रमुखको पदमा चुनाव लड्न आउँदा उनी वीरगञ्जमा चर्चाको विषय बनिरहेका छन् ।  

स्थानीय तहको चुनावमा वीरगञ्जमा नेकपा एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी र सत्तारूढ गठबन्धनको एकघटक जनता समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएर गिरीशले स्थानीय चुनावको अंकगणितमा उथलपुथल ल्याउन लागेको बताइँदैछ ।

गिरीशलाई चुनाव लड्न के कुराले प्रेरित गर्‍यो र मेयरमा निर्वाचित भएपछि उनले नगरवासीको हितका लागि के काम गर्छन् भन्ने विषयको वरिपरि रहेर लोकान्तरकर्मी विन्देश दहाल र उद्धव थापाले उनीसँग कुरा गरेका छन् । 

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाईं लेखन र पत्रकारिता गरिरहेको मान्छे, स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार बन्ने रहर कसरी आयो ?

म वीरगञ्जमै जन्मेहुर्केको व्यक्ति हुँ । त्यसबाहेक म यहाँको राजनीतिक परिवारको सदस्य हुँ । वीरगञ्जको जग बसालिँदा मेरो हजुरबुवा निर्वाचित प्रतिनिधि हुनुहुन्थ्यो । मेरो बुवा यहाँ पहिले मेयर भइसक्नुभएको थियो । 

मनोनित मेयर भएको बेलामा उहाँसँग तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले पाँच लाख रुपैयाँ चन्दा मागेका थिए । उहाँले जनताको पैसा म दिन सक्दिनँ भन्दा उहाँलाई निर्ममतापूर्वक गोली हानेर हत्या गरियो । त्यसपछि हामी वीरगञ्जबाट पलायन भयौं । अठार वर्ष वीरगञ्जबाहिर काठमाडौंमा बस्न हामी बाध्य भयौं ।

काठमाडौंमा बसेतापनि वीरगञ्जप्रतिको मेरो माया ममता कायम थियो । मैले वीरगञ्ज शीर्षकमा यस शहरको जीवनी लेखेर त्यो ममता दर्शाइसकेको छु । 

मलाई यहाँका स्थानीयहरूले जहिले पनि यहाँ आएर राजनीति नगर्ने भनी सोध्नुहुन्थ्यो । मनोनयन दर्ता गर्नुभन्दा दुई दिनअघि मात्र मलाई मेयरमा उठ्नुपर्‍यो भनेर  राप्रपाको फोन आयो । मैले परिवारको सल्लाह लिँदा सुरक्षित रहनुहुन्छ भने मात्र उठ्नुहोला भन्ने कुरा आयो । म छुट्टै क्षेत्रमा काम गरिरहेको मान्छे, मलाई राप्रपाले विश्वास गरेर राजनीतिमा ल्यायो । 

राप्रपा अध्यक्षको फोन नआएको भए तपाईं चुनाव लड्ने मनस्थितिमा हुनुहुँदैनथियो ?

थिइनँ । मलाई त लेखन क्षेत्रमै रुचि थियो । त्यसमाथि अहिलेको राजनीति एकदमै खर्चिलो भइसकेको छ । म पत्रकार मान्छे, त्यसमा पनि अहिले जागिर छाडेर बसेको छु ।

म चुनावमा खर्च गर्न सक्ने स्थितिमा छैन । तर राजेन्द्र लिङ्देनले हाम्रो पार्टीको नीति नै भ्रष्टाचाररहित निर्वाचन लड्ने भन्नुभयो ।

भ्रष्टाचार गर्नु आमाको रगत खाएबराबर हो, यही सन्देश बोकेर तपाईंले चुनाव लड्नुस् भन्नुभयो । त्यही सकारात्मक प्रेरणाको बलमा म चुनाव लडिरहेको छु ।

अन्य दलले गठबन्धन गरेर चुनाव लडिरहेका छन् । तपाईं एक्लै राप्रपाको उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । ठूला साँढेको जुधाइमा आफू बाच्छो जस्तो मिचिन्छु भन्ने लागेको छैन ?

गठबन्धनले अनि पैसाले चुनाव जिताउने हैन, जनताको मतले हो । जनमतको कुरा गर्दा मैले वडा नं १ बाट चुनावी अभियान शुरू गरेको छु । यहाँ सबैले मलाई जिताउने भन्नुभएको छ । अन्य वडामा पनि मेरो पक्षमा जनता हुनुहुन्छ । यही जनमतले मलाई जिताउँछ भनी विश्वास लिएको छु । 

कुनै पार्टीमा नलागेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएको भए झन् सजिलो हुने थियो भन्ने लागेन तपाईंलाई ?

स्वतन्त्र रूपमा म यति ढिलो लड्न आएको भए शायद म जमानत पनि जोगाउन सक्दिनथिएँ होला । संगठनै नभएको मान्छे, म कहाँ गएर कसलाई भेट्न सक्थें र ? त्यसैले एउटा पार्टीको आवश्यकता मलाई पर्थ्यो नै । त्यसमाथि लिङ्देनज्यूले राप्रपा भ्रष्टाचारविरोधी पार्टी हो भनेकाले पनि मलाई आकर्षित गरेको हो ।

अहिले लोकतन्त्रलाई सबभन्दा ठूलो खतरा महंगो चुनावी प्रणालीले पारेको छ । तर राप्रपाले भ्रष्टाचाररहित र कम खर्चमा चुनावी अभियान चलाउने अवसर दिएकाले मलाई यस पार्टीबाट लड्न कुनै दुविधा भएन । 

यस चुनावमा ५० करोड रुपैयाँ खर्च गर्ने भनेर अरू पार्टीका नेताहरूले त घोषणै गर्नुभएको छ । मसँग त त्यति धेरै खर्च गर्ने हैसियत नै छैन । तर मलाई वीरगञ्जको सेवा गर्नुछ र राप्रपाले मलाई त्यसको अवसर दिएको छ । 

मेयर बनेपछि तपाईंले गर्ने कामहरू के–के हुन् ?

वीरगञ्जलाई शिक्षाको केन्द्र बनाउने मेरो योजना छ । अहिले वीरगञ्जको शिक्षास्तर कमजोर भएकाले यहाँका अभिभावकले आफ्ना छोराछोरी पढाउन बाहिर पठाउनुपरेको छ । यहाँको ऐतिहासिक त्रिजुद्ध माध्यमिक विद्यालयलाई पहिलेकै स्तरमा पुर्‍याउने मेरो लक्ष्य छ । 

शिक्षाबाहेक अन्य क्षेत्रमा ?

वीरगञ्जमा ढल निकासको ठूलो समस्या छ । पानी जम्ने समस्याले शहरलाई सताएको छ । हामीले परम्परागत रूपमा यहाँ बनेका पोखरीहरूको संरक्षण नगरी कंक्रिटाइजेसन गरेकाले अहिलेको समस्या निम्तिएको हो । 

पोखरी हुँदा वर्षामा बढी भएको पानीलाई होल्ड गरेर राख्थ्यो अनि सुक्खाको बेलामा त्यही जमेको पानीले जमीनलाई रिचार्ज गरेर पानी खोज्न धेरै तल जानु नपर्ने गराउँथ्यो ।

अनि पोखरीमा भएको पानीले हामीलाई सुक्खा मौसममा घरायसी काम गर्न पुग्थ्यो । तर अहिले हामीले भएका सबै पोखरी सिध्यायौं । कंक्रिटाइजेसन रोकेर ती पोखरीहरूलाई पुनर्जीवित गर्ने मेरा लक्ष्य रहनेछ । 

अन्य योजनाहरूका बारेमा पनि बताइदिनुहोस् ।

विकास भनेको भिजन हो । मसँग भिजन छ । वीरगञ्जलाई संसारसँग जोड्ने भिजन मैले राखेको छु । ऐतिहासिक महत्त्व बोकेको शहर वीरगञ्जलाई संसारसँग जोडेर स्वायत्त बनाउन म लागिपर्नेछु । काठमाडौंको मुख ताकेर बस्नुपर्ने स्थिति अन्त्य गर्नेछु । वीरगञ्ज देशको आर्थिक राजधानी हो । यसलाई यसको आफ्नो मर्यादामा उभ्याउनु अहिलेको आवश्यकता हो । 

तपाईं मेयर बन्नुभएमा अबको पाँच वर्षमा वीरगञ्ज कस्तो हुनेछ ?

मेरो बुवाले मेयरका रूपमा जम्मा तीन महिना काम गर्न पाउनुभएको थियो । तर त्यस अवधिमा उहाँले गर्नुभएको जति काम त्यसपछि अरू कसैले गर्न सकेन । पाँच वर्ष भनेको त लामै समय हो । 

तपाईंसँग हजुरबुवा र बुवाको राजनीतिक विरासत छ तर व्यक्तिगत राजनीतिक अनुभव छैन भन्ने टिप्पणी गरिँदोरहेछ नि त ।

अहिले राजनीतिक अनुभव भनेर जेलाई भनिन्छ, त्यो ठगी, गुण्डागर्दी, बदमासी र गलतलाई पक्षपोषण गर्ने काम हो । त्यो अनुभव मसँग शून्य छ । तर मेरो सोच र भिजनलाई अनुमोदन गर्ने/नगर्ने जिम्मा वीरगञ्जवासीहरूमा छ । अरूले ठूलाठूला जुलुस निकाल्ने, शहरभरि झण्डा राख्ने काम गरेका छन् । म चाहिँ त्यस्तो अनावश्यक खर्च गर्ने पक्षमा छैन । 

मैले पार्टीलाई पनि भनिसकेको छु, सामान्य खर्चसम्म गर्ने हो । पैसा बाँड्ने काम मबाट हुँदैन । मैले पैसा बाँड्न थालें भने यी ठूला भनिएका दलले मलाई ढलाउनका लागि बहाना पाउनेछन् । म त आफ्नो कुरा लिएर वीरगञ्जका मतदातामाझ जाने हो । उहाँहरूले मेरो कुरालाई अनुमोदन गर्नुभएको दिन नै वास्तविक राजनीति के हो भन्ने कुरा प्रमाणित हुन्छ । 

अहिले गठबन्धन गरिरहेका मुख्य दलहरूलाई तपाईंले कत्तिको बलियो प्रतिस्पर्धी मान्नुभएको छ ?

मैले आफ्ना कोही पनि प्रतिस्पर्धीको बारेमा टिप्पणी गर्दिनँ भनेर संकल्प गरेको छु । वीरगञ्जवासीहरूसँग हात जोडेर म आफ्ना कुरा राख्छु, अरूहरू कस्तो हुनुहुन्छ भनेर म केही भन्दिनँ । मतदाताहरू सचेत हुनुहुन्छ, सबै उम्मेदवारलाई उहाँहरूले चिन्नुभएकै छ । त्यसैले उहाँहरूले नै यसको निर्णय गर्नुहुन्छ । 

चुनावमा कति जति खर्च होला भन्ने तपाईंको अनुमान छ ?

त्यो ठ्याक्कै त थाहा छैन । मैले आफ्नो व्यक्तिगत खर्च नै कम गरेको छु । सानोतिनो पण्डाल लगाउन र चियाचिसो पिलाउनका लागि मात्र खर्च गरेको छु ।

पार्टीले पनि मलाई आर्थिक सहयोग गर्ने स्थिति छैन । वडाध्यक्षमा उठेकाहरू पनि अरू पार्टीले जस्तो व्यापक खर्च गर्न सक्ने हैसियतमा हुनुहुन्न । अनि मैले अघि भनेजस्तै म खर्च गर्नतिर लागें भने मेरा प्रतिस्पर्धीहरूले मेरो खुट्टा काट्ने अवसर पाउनेछन् । त्यसैले म त्यतातिर जाँदै जान्नँ । म धरातल छाडेर माथिमाथि उड्न सक्दिनँ । 

चुनावी प्रचारमा कस्ता उपाय अपनाइरहनुभएको छ ?

म सामाजिक सञ्जालमार्फत जनतासमक्ष आफ्नो कुरा राखिरहेको छु । तपाईंहरू जस्तो मिडियाबाट मलाई सहयोग भइराखेको छ ।

म घरघर गइरहेको छु, आफ्नो कुरा बताइरहेको छु । वीरगञ्ज शहरलाई कहाँ लैजाने हो भनी निर्धारण गर्ने मतदाताहरूले नै हो ।

salt training

कमेन्ट गर्नुहोस्