
गाउँगाउँमा स्थानीय चुनावको माहोल जोडतोडले तातिरहेका बेला उम्मेदवारहरू भोट आकर्षित गर्न अनेक हतकण्डा अपनाउन व्यस्त छन् ।
चुनावी घरदैलोका क्रममा उम्मेदवारहरू मतदाता प्रभावित पार्ने खालका गतिविधि मात्र हैन, पैसा बाँडेर भोट आकर्षित गर्ने होडबाजीमा समेत लागेका छन् ।
यहाँसम्म कि बहालवाला मन्त्रीकै बयोवृद्धा आमाले नै एक उम्मेदवारले भोट माग्न आउँदा आफूलाई पैसा दिएर गएको खुलासा गरेकी छिन् ।
चुनावी रिपोर्टिङका लागि लोकान्तरकर्मी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको डोटीस्थित घरमा पुग्दा उनकी आमाले आफूलाई एमालेका उम्मेदवारले भोट माग्न आउँदा पैसा दिएर हिँडेको खुलासा गरेकी हुन् ।
मन्त्री आलेको गाउँपालिकामा आलेको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई कमजोर बनाउन एमाले उम्मेदवारले पैसा बाँडेको आरोप उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताको छ ।
डोटीको रुवास्काँडास्थित मन्त्री आलेको पुर्ख्यौली घरमै भेटिएकी ७९ वर्षीया आमा गंगादेवी आलेले आफूलाई एमालेका तर्फबाट जोरायल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर दर्लामीले १ हजार दिएर गएको बताइन् ।
‘एमालेका उम्मेदवार चुनावका लागि भोट माग्न आएका थिए, हिँड्ने बेलामा पैसा दिए । मैले चाहिँदैन, लिन्नँ भन्दाभन्दै चिया खानुहोला भनी छाडेर गए,’ उनले भनिन् ।

गंगादेवीका अनुसार मन्त्री आलेले घर व्यवहारलाई चाहिने पैसा आफैं दिने गरेका छन् ।
बुवा नभएको र आमा नशा तथा सुगरको बिरामी भएका कारण मन्त्री आले आमालाई भेट्न बेलाबेलामा घर पुग्ने गरेका छन् ।
तीन दिनअगाडि मात्रै पार्टीको कामका लागि जिल्ला आएका आले घर पुगेर फर्किएका थिए । आमा गंगादेवी गाउँमा कान्छा छोरा रुद्र आले मगरसँग बस्दै आएकी छन् ।
आलेका बुवा भारतको बम्बई रेल्वेको सुपरभाइजबाट अवकाशप्राप्त कर्मचारी भएकाले उनको पेन्सन र आफ्नो वृद्धभत्ता समेत गंगादेवीलाई आउँछ ।

कुनै खाँचो नभए पनि जबरजस्ती पैसा दिएर गएको मन्त्री आलेका भाञ्जा भरत कुँवरले बताए ।
‘चुनावको समय छ । मुमालाई पैसाको खाँचो पनि छैन । पैसा दिनुको उदेश्य के हो स्पष्ट छ नि, प्रभावमा पार्न दिइएको हो,’ कुवँरले लोकान्तरसँग भने ।
अघिल्लो दिन एमाले उम्मेदवारले पैसा दिएकै कारण आलेका घरअगाडि सवारी साधन रोकेर कुरा गर्दैगर्दा भाञ्जा कुँवरले लोकान्तरकर्मीलाई कहाँबाट आएको ? किन आएको भन्दै केहीबेर केरकार गरेका थिए ।
उनले मोबाइलमा भिडियो खिच्दै सोधे, ‘हिजो मात्रै एमाले उम्मेदवारले हजुरआमालाई पैसा दिएर प्रभावित पार्न खोजेका रहेछन् । तपाईंहरूको प्रयोजन पनि के हो ? कसले पठाएर आएको ? किन मन्त्रीकै घर खोज्दै आएको ?’
आफूहरू पत्रकार रहेको र मन्त्री सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले घर खोज्दै आएको भनेपछि बल्ल उनी चुप लागे ।
त्यसपछि पैसा दिएको विषयमा प्रतिक्रिया माग्दा वडाध्यक्षका एमाले उम्मेदवार दर्लामीले हामीलाई प्रमाण देखाउन चुनौती दिए । मन्त्री आलेकै घरमा पुगेको र उनकी आमाले बताएको भनेपछि उनले बल्ल पैसा दिएको स्वीकारे ।
‘बुढीआमा हुनुहुन्छ, उहाँलाई भेट्न जाँदा केही लिएर जानुपर्ने थियो, रित्तो हात गएकाले फलफूल किनेर खान पैसा दिएको हुँ,’ उनले भने ।
बुढापाकालाई भेट्न जाँदा अघिपछि पनि आफूले फलफूल लिएर जाने गरेको उनले बताए । दर्लामीले आफू ५ वर्ष विदेश बसेर आएको र गाउँमा फर्केपछि समाजसेवालाई प्राथमिकता दिएको दाबी पनि गरे ।
उनले भने ‘अघि पनि गरीब, दुःखी, बुढाबुढीको सेवा गर्ने, सामाजिक काम गर्न रुचाउने हुँदा उहाँलाई मात्रै नभएर अरू बुढाबुढीलाई भेट्न जाँदा खालि हात जाने गरेको छैन । पैसा बाँडेर मन्त्रीको आमालाई प्रभावित पार्न खोजेको हैन ।’
आफूलाई कमजोर बनाउन विपक्षीले अनर्गल प्रचार गरेको उनको आरोप छ । डोटीमा एमालेको प्रभाव राम्रो रहेको भन्दै चुनाव जित्नका लागि आफूलाई पैसा बाँड्नु आवश्यक नरहेको जिकिर समेत उनले गरे ।