३० जेठ २०८३, शनिबार
स्थानीय चुनाव : पोखरा महानगर विशेष

अघिल्लो मतान्तरभन्दा धेरै मत समाजवादीसँग छ, १५ हजार अन्तरले जित्छौं: धनराज आचार्य [अन्तर्वार्ता]

अघिल्लो मतान्तरभन्दा धेरै मत समाजवादीसँग छ, १५ हजार अन्तरले जित्छौं: धनराज आचार्य [अन्तर्वार्ता]

सत्ता गठबन्धनबीच केन्द्रीय स्तरबाट तालमेल भएको पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादी (एस)ले पाएको छ ।

देशभरबाट चासोका साथ हेरिएको पोखरामा गठबन्धनको एजेण्डा के छ, चुनाव जित्ने आधार के हुन् ? भनेर मेयरका उम्मेदवार धनराज आचार्यसँग लोकान्तरले गरेको कुराकानीको सम्पादित अंश :

गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्दा पोखरेली जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

– गठबन्धनको तर्फबाट पोखराको मेयरका लागि साझा उम्मेदवार बनेर आउँदा पोखरेली दिदीबहिनी, दाजुभाइबाट असाध्यै सकारात्मक प्रतिक्रिया पाएको छु । यहाँका मतदाताहरू जसले साँचो अर्थमा पोखरालाई विकसित र समृद्ध बनाउनुपर्ने कुरा राख्नुहुन्छ, उहाँहरूलाई हामी यसरी काम गर्नेछौं भनेर कुरा राख्दा साँच्चिकै पोखरा बनाउन सक्ने, परिवर्तन गर्न सक्ने लिडरशिप आयो भनेर उत्साहित भएको पाएँ । म जहाँ पुगेको छु, तपाईंको बारेमा सुनेका थियौं, आज प्रत्यक्ष भेट्न आएको हो । नाम सुनेको धेरै वर्ष भयो, विद्यार्थी राजनीति गर्ने बेलादेखि चिनेको हो, तपाईंलाई भेट्न आएको हो भनेर प्रतिक्रिया पाएको छु ।

चुनावी सभा र भेटघाट बढाएका छौं । मेयर/उपमेयरका उम्मेदवारसहित टोली/वडामा जाँदा गठबन्धनका उम्मेदवार लिएर हिँडेका छौं । पोखराका मतदाताबाट पाएको प्रतिक्रियाले हामी अत्यन्तै उत्साहित भएका छौं । 

पोखरामा असन्तुष्टि छ, कांग्रेस कार्यकर्ताले तपाईंलाई भोट हाल्छन् कि हाल्दैनन् भन्ने अन्योल छ भन्ने सुनिन्छ नि !

– उम्मेदवारी मनोनयनभन्दा पहिला टिकट मैले पाउनुपर्छ, पार्टीभित्र पनि मैले पाउनुपर्छ भनेर नेताहरूले गरेको लविङ स्वाभाविक कुरा थियो । नेपाली कांग्रेसका धेरै साथीहरू आकांक्षी हुनुहुन्थ्यो, जब गठबन्धनमा मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसबाट हुने भनेर निर्णय भएर आयो, त्यसपछि सामूहिक रूपमै नोमिनेसन गर्‍यौं । त्यसपछिका कार्यक्रम पनि योजनाबद्ध ढंगले मिलेरै गरिरहेका छौं ।

अहिलेको अवस्थामा त्यो कुरा छैन, ५ वटै पार्टी एकमनाका साथ साझा उम्मेदवार लिएर अगाडि बढेका छौं । पार्टीमा विद्रोह गरेर २ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो, त्यसलाई उहाँहरूले फिर्ता लिनुभयो । १ जनाले राख्नुभएको छ, कांग्रेसका साथीहरूले उहाँको उम्मेदवारीले फरक पर्दैन भन्नुभएको छ । 

कांग्रेस नेताहरू तपाईंको पक्षमा खुलेर लागेका छन् ?

– म गठबन्धनको साझा उम्मेदवार भएकाले नेपाली कांग्रेस लगायत गठबन्धन दलका नेताहरू प्यानल नै जिताउन लागिपर्नुभएको छ । हाम्रा साझा उम्मेदवार छन्, साझा एजेण्डा र घोषणापत्र भएकाले हामीहरू सँगसँगै छौं ।

विगतमा एमालेले फराकिलो मतान्तरले चुनाव जितेको थियो, यसपटक पनि एमाले बलियो छ भन्ने विश्लेषण गरिएको सुनिन्छ । तपाईंले कसरी चुनाव जित्नुहुन्छ ?

– अघिल्ला चुनावमा १४ हजार मतले तत्कालीन एमालेले चुनाव जितेको हो, त्यसका कारण थिए । लेखनाथ क्षेत्रको उम्मेदवार हुनुहुन्थ्यो, पुरानो नेता हुनुहुन्छ भन्ने सेन्टिमेन्ट थियो । अर्कोतिर कांग्रेसको उम्मेदवार यहाँ मतदातासँग नभिजेका कारणले गर्दा मतान्तर बढी थियो । विगतको मतान्तरभन्दा धेरै मत लिएर हामीले नेकपा एस बनाएका छौं । त्यो मतान्तरको कुरा रहेन, जब मतान्तरभन्दा बढी मत त्यो पार्टीबाट अन्यत्र गयो भने मतान्तर रहने कुरै भएन ।

नेपाली कांग्रेसले पनि आफ्नो संगठनलाई धेरै सुदृढ बनाएको छ, माओवादी केन्द्रको संगठन पनि उत्तिकै मजबुत भएको छ, महाधिवेशनले गर्दा सबैले ग्राउन्डमा राम्रो संगठन बनाएका छन्, जसपाको पनि पनि राम्रो पकड छ । 

त्योबाहेक पनि सामाजिक काम गरेको जनमतको हिसाबले पनि कास्कीका धेरै मतदाता भएको क्षेत्रको उम्मेदवार भएका कारणले पनि मैले चुनाव जित्छु । विगतको मतान्तरलाई अगाडि लगेका छौं, हाम्रो आकलन १५–१८ हजार मतान्तरले गठबन्धन अगाडि छ ।

३९ हजार मतदाता थपिनुभएको छ, उहाँहरू पढे–लेखेको, आईटी फ्रेन्डली नयाँ पुस्ता भएकोले अघिल्लो पुस्ताभन्दा सोच्न सक्ने, राम्रो काम गर्न सक्ने र क्रिटिकल एनालाइसिस गर्न सक्ने पुस्ता हो । उहाँहरूले विगतमा के भयो ? यतिका वर्षसम्म अवसर पाएर किन गर्न सक्नुभएन भन्ने प्रश्न उहाँहरूले हरेक पोइन्टमा राख्न सक्नुहुन्छ । 

पोखरामा थपिएका ३९ हजार मतदातालाई आकर्षित गर्ने नारा के छ ?

– ३९ हजार मतदाता थपिनुभएको छ, उहाँहरू पढे–लेखेको, आईटी फ्रेन्डली नयाँ पुस्ता भएकोले अघिल्लो पुस्ताभन्दा सोच्न सक्ने, राम्रो काम गर्न सक्ने र क्रिटिकल एनालाइसिस गर्न सक्ने पुस्ता हो । उहाँहरूले विगतमा के भयो ? यतिका वर्षसम्म अवसर पाएर किन गर्न सक्नुभएन भन्ने प्रश्न उहाँहरूले हरेक पोइन्टमा राख्न सक्नुहुन्छ । 

हामीले के गर्छाैं भन्ने भिजन प्रस्तुत गरेका छौं । नयाँ थपिएको मत हाम्रो पक्षमा आउँछ भन्ने हाम्रो बुझाइ छ । 

तपाईंका प्रतिस्पर्धी उम्मेदवारले मैले गठबन्धनलाई कुनै चुनौती ठानेको छैन, गठबन्धन पछारिन्छ भन्नुहुन्छ नि ?

– धेरै लामो जानु छैन, केही दिनमा परिणाम आइहाल्छ । कसैले कसैको अस्तित्व स्वीकार्न सक्दैन भने त्यहाँभन्दा नेगेटिभ कुरा केही हुँदैन । म उहाँ (एमाले उम्मेदवार) केही होइन भन्दिनँ, एउटा संगठित पार्टीको नेता भएकाले राम्रै चुनावी प्रतिस्पर्धा हुन्छ । मेरो आग्रह के छ भने चुनावलाई अलि स्वस्थ बनाऔं, हाम्रो ठाउँबाट अरुको ठाउँबाट पनि अस्वस्थ बनाउँदै लगेमा राजनीतिक प्रदूषण बढ्छ । उहाँले हामीलाई अवमूल्यन गर्दैमा केही फरक पर्दैन, वैशाख ३० गतेसम्म कुर्न आग्रह गर्छु । 

तपाईं पोखराको मेयर जित्नुभयो भने ५ वर्षपछि यहाँ घुम्न आउनेले के परिवर्तन देख्न पाउने छन् ?

– पोखरा एउटा अन्तर्राष्ट्रिय शहर हो, संसारभरिबाट जो पर्यटक नेपाल आउनुहुन्छ, अधिकांश पोखरा आएर मात्र फर्किनुहुन्छ । कम्तिमा २ रात भए पनि पोखरा बस्ने रेसियो छ, त्यसो भएको हुनाले पोखरालाई हामीले एउटा अन्तर्राष्ट्रिय स्तरको शहर बनाउन चाहन्छौं । कोत्रेबाट पोखरा छिर्ने वित्तिकै पोखरा महानगरमा प्रवेश गर्‍यौं भन्ने छनक दिने त्यस्ता केही विम्ब बनाउने छौं ।

कोत्रेदेखि पोखरा बजारसम्मको झण्डै १५ किलोमिटर सडकमा पोखरा झल्काउने खालका आकृति बनाउँछौं । कोत्रेदेखि पोखराको बाटोमा इलेक्ट्रिकट्राम चलाउने कुरा कार्यक्रममा राखेका छौं, त्यो पनि नयाँ कुरा हुनेछ । पोखरा प्रवेश गर्ने वित्तिकै पोखरा बसपार्क निर्माण गरिसकेका हुनेछौं । 

अहिलेको पोखरा बसपार्कलाई सिटी बसपार्कको रूपमा विकसित गर्छाैं, त्यो आधुनिक बसपार्क हुनेछ । पोखरा आउने २ वटा लाइफलाइन विजयपुर र चाइना पुलमाथि पुल बनाउनका लागि केन्द्रीय सरकारसँग विशेष पहल गर्नेछौं । पोखराको रिङरोडको लाइन बनिसकेको अवस्था हुनेछ ।

पोखरा आउँदा छुट्टै अनुभव महसूस गर्ने गरी ब्यूटिफिकेसन गरेका हुनेछौं, यो सफा र ग्रिनरी हुनेछ । सुन्दर, सफा पोखरा र हरियालीयुक्त पोखरा हुनेछ भने पर्यटकीयस्थल लेकसाइड वरपरको क्षेत्रलाई फरक ढंगले लाइटिङ गरेका हुनेछौं । साँझको बेलामा हामी कुन अन्तर्राष्ट्रिय शहरमा छौं भन्ने महसूस गराउन सौन्दर्यीकरण गरिएको हुनेछ ।

५ वर्षमा लेकसाइडलाई भेइकल फ्री जोन बनाइसकेका हुनेछौं । लेकसाइड २४ घण्टै खुलेको हुनेछ, त्योबाहेक डाउनटाउनभित्र अत्यावश्यक सेवा २४ घण्टै खुला गरेका हुनेछौं ।

महानगरभित्र अत्यावश्यक कुरा सार्वजनिक शौचालय कति ठाउँमा चाहिने जस्ता कुरा लिएर महानगरको न्यूनतम कुराहरू सबै बनाइसकेको हुनेछ । ठाउँठाउँमा सूचना केन्द्र राखिएको हुनेछ । पहिला त गएकै हो, फेरि एकपटक पोखरा हेर्न जाउँ न, धेरै परिवर्तन भएछ पोखरा, हेर्न जाउँ भन्ने खालको अवस्था ५ वर्षमा बनाउने छौं । पोखरालाई राम्रो बनाउने हाम्रो दृढ संकल्प छ ।

salt training

कमेन्ट गर्नुहोस्