
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
चौतारा साँगाचोकगढी-७, सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बैंकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नुपर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्त्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोवारसम्बन्धी जानकारीका सम्बन्धमा प्रष्ट पारेका थिए ।
बैंकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैंकको इतिहास बताउँदै वित्तीय साक्षरतातर्फ अग्रसर बन्नुपर्ने बताए । साथै उनले बैंकले दिइरहेको सेवासुविधासम्बन्धी जानकारी गराए ।
कार्यक्रममा एक सय बढीको उपस्थिति थियो । साक्षरता कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागी भएका थिए ।
सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमा बैंकका प्रबन्धक सम्पूर्ण गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुविधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी दिए । उनले बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताए ।
त्यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबद्ध रहेको कुरामा थप प्रष्ट पार्दै उनले सहभागीहरुलाई धन्यवाद दिए । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले सञ्चालन गरेका थिए ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम वुथहरू सञ्चालन छन् ।
२५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको बैंकले जनाएको छ ।