२५ असार २०८३, बिहीबार

छ प्यार देशको (कविता)

बैशाख ३०, २०७९
छ प्यार देशको (कविता)

अर्जुन दुलाल

हिमाल यो पहाड यो मधेस एक सान हो

किराँत हिन्दु कृश्चियन् सबै समान हो

हसाउँदै म हाँस्दछु भुलेर भेदभाव त्यो

छ देश बग्छ रक्तमा म प्यार गर्छु देशको ।।१।।

फुटेर लर्नु छैन हे अनेक जात धर्ममा

किसानकै म पुत्र हूँ म गर्व गर्छु कर्ममा

बनाउनै छ जिन्दगी सजाउनै छ प्रेमले

कुभ्रष्ट मार्न हे युवा ल जाग भन्छ देशले ।।२।।

लुछेर देश हाँस्दछन् हजार दुष्ट दानव

बिकेर मासु भातमा म मर्न दिन्न मानव

म नाच्छु फर्फराउँदै बनेर चन्द्र सूर्य यो

भनौँ न एक साथ लौ म प्रेम गर्छु देशको ।।३।।

मजाक गर्दछन् कठै बनेर दुष्ट नायक

छ खोज्न लौ सुहाउँदो सुकर्मवीर लायक

सपार्न लाजनीति यो बुझेर जाग लौ सब

युवा भनेर भ्रष्टकै बनेर हुन्न पुच्छर ।।४।।

कुजाल झेलमा डुबी युवा भनेर भन्नु के ?

बसेर अन्धभक्त भै गुलामझैँ म बन्नु के ?

स्वरोजगार भन्दछौ छ रोजगार लौ कहाँ ?

पुगेछ टाट पल्टिँदै कठै युवा विदेशमा ।।५।।

नदी हिमाल ताल छन् सबै छ छैन के यहाँ ?

लिएर शान्तिको धुनी सुबुद्ध जन्मिए जहाँ

म देख्छु भ्रष्टाचारमा छ लोभिने अहो जतै

रनन्न रन्न रन्कँदै छ तातिँदै दिमागनै ।।६।।

रमाउने छ चाहना यही सुस्वच्छ देशमै

सुनेर वीरका कथा म खोज्छु अंशु पृथ्वीझैँ

जतै दलाल जाग्दछन् लुछी हसुर्न देशमा

चुनेर कर्मवीर नै क्रान्ति गर्न लौ यहाँ ।।७।।

रहेन राजनीति यो छ लाजनीति दम्भले

चुनाव जित्नु पर्छ लौ हरेर कंश कृष्णले

बनाउने सबै खुसी छ खोज्न एक बुद्ध त्यो

दिएर प्राणकै बली छ प्यार गर्न देशको ।।८।।

माई नगरपालिका, इलाम

salt training

कमेन्ट गर्नुहोस्