
अर्जुन दुलाल
हिमाल यो पहाड यो मधेस एक सान हो
किराँत हिन्दु कृश्चियन् सबै समान हो
हसाउँदै म हाँस्दछु भुलेर भेदभाव त्यो
छ देश बग्छ रक्तमा म प्यार गर्छु देशको ।।१।।
फुटेर लर्नु छैन हे अनेक जात धर्ममा
किसानकै म पुत्र हूँ म गर्व गर्छु कर्ममा
बनाउनै छ जिन्दगी सजाउनै छ प्रेमले
कुभ्रष्ट मार्न हे युवा ल जाग भन्छ देशले ।।२।।
लुछेर देश हाँस्दछन् हजार दुष्ट दानव
बिकेर मासु भातमा म मर्न दिन्न मानव
म नाच्छु फर्फराउँदै बनेर चन्द्र सूर्य यो
भनौँ न एक साथ लौ म प्रेम गर्छु देशको ।।३।।
मजाक गर्दछन् कठै बनेर दुष्ट नायक
छ खोज्न लौ सुहाउँदो सुकर्मवीर लायक
सपार्न लाजनीति यो बुझेर जाग लौ सब
युवा भनेर भ्रष्टकै बनेर हुन्न पुच्छर ।।४।।
कुजाल झेलमा डुबी युवा भनेर भन्नु के ?
बसेर अन्धभक्त भै गुलामझैँ म बन्नु के ?
स्वरोजगार भन्दछौ छ रोजगार लौ कहाँ ?
पुगेछ टाट पल्टिँदै कठै युवा विदेशमा ।।५।।
नदी हिमाल ताल छन् सबै छ छैन के यहाँ ?
लिएर शान्तिको धुनी सुबुद्ध जन्मिए जहाँ
म देख्छु भ्रष्टाचारमा छ लोभिने अहो जतै
रनन्न रन्न रन्कँदै छ तातिँदै दिमागनै ।।६।।
रमाउने छ चाहना यही सुस्वच्छ देशमै
सुनेर वीरका कथा म खोज्छु अंशु पृथ्वीझैँ
जतै दलाल जाग्दछन् लुछी हसुर्न देशमा
चुनेर कर्मवीर नै क्रान्ति गर्न लौ यहाँ ।।७।।
रहेन राजनीति यो छ लाजनीति दम्भले
चुनाव जित्नु पर्छ लौ हरेर कंश कृष्णले
बनाउने सबै खुसी छ खोज्न एक बुद्ध त्यो
दिएर प्राणकै बली छ प्यार गर्न देशको ।।८।।
माई नगरपालिका, इलाम