
नेपाली कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेपछि ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ३ को मतगणना रोकिएको छ ।
कांग्रेस र नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवारको मत बराबर भएपछि पुन: मतगणना गर्ने क्रममा कांग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको २ थान मतपत्र तानेर च्यातेको चिशंखुगढी गाउँपालिकाकी निर्वाचन अधिकृत कमला काफ्लेले लोकान्तरलाई जानकारी दिइन् ।
उनले घटना निर्वाचन आयोगलाई जानकारी गराउने तयारीमा रहेको भन्दै पुन: मतगणनाका लागि केही समय लाग्ने जानकारी दिइन् ।
'मतगणना हिजो नै सकिएको थियो । तर त्यसमा बराबर मत आएपछि दुवै पक्षले फेरि मत गणना गर्न अनुरोध गरेका थिए । हामीले निर्देशिकाअनुसार सहमति गराएर गणना शुरू गरेका थियौँ,' लोकान्तरसँग उनले भनिन्,'वातावरण राम्रो नै थियो । बदर मतपत्र हामीले देखाएरै छुट्टै राखेका थियौँ । कांग्रेसका एक प्रतिनिधिले आक्रोशित भई एक्कासी मतपत्र तानेर च्यातिदिए ।'
घटनाको दृश्य सीसी क्यामेरामा कैद भएको र अन्य मतपत्र जस्ताको तस्तै राखेर गणना स्थगित गरिएको उनले जानकारी दिइन् ।
अब सर्वदलीय बैठक बसेर बाँकी मतको गणनाबारे निर्णय लिइने उनको भनाई छ ।
मतपत्र च्यातेपछि अहिले मतगणना स्थगित भएको छ भने कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगानासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।