३२ असार २०८३, बिहीबार

कांग्रेस र माओवादी गठबन्धन कहिलेसम्म ?

कात्तिक २०, २०७४
कांग्रेस र माओवादी गठबन्धन कहिलेसम्म ?

अमेरिकामा बाराक ओबामालाई राष्ट्रतिको चुनाव जिताउनको लागि युट्युबको प्रयोग गरिएको थियो । डोनाल्ड ट्रम्पलाई चुनाव जिताउनको लागि फेसबुक र ट्विटरको प्रयोग गरियो । भारतमा हालसालै भएको पाँचवटा प्रदेशहरुको प्रादेशिक निर्वाचनमा बिजेपीले सोचे भन्दा बढी उपलब्धी हासिल गर्नुको कारण गाउँ गाउँमा भएका हाते स्मार्टफोनहरुमा व्हाट्सएपको ब्यापक प्रयोग गरिएको थियो ।

यी चुनावी रणनीतिका प्रकारहरु भए । यद्यपि जित्नेले हार्नु पर्थ्यो हार्नेले जितेको भए परिस्थितिमा फरक स्वाद आउने थियो, त्यो राजनीतिक समीक्षाको बिषय भयो र संसारभरीका लोकतान्त्रिक मुलुकहरुमा यस्ता प्रयोगहरु अनि जितहारका समीक्षाहरु भईनै रहन्छन् ।

नेपालको पछिल्लो एक बर्षको समीक्षा गर्ने हो भने अहिलेको चुनावी नतिजालाई ब्यापक असर गर्ने गरि फेसबुकको प्रयोग भएको छ । झण्डै असी लाख नेपाली फेसबुक प्रयोगकर्ताहरुले एक करोड बीस लाख मतदाताहरुमा एउटा अघोषित ह्वीप नै जारी गरे जसरी चुनावी मैदानमा काण्ड र प्रोपोगन्डाहरुको भेल ल्याउने काम गरियो ।

नेपालको हकमा चुनावमा फेसबुकको व्यापक प्रयोग र दूरुपयोग गरियो । यो मात्र अन्तिम सत्य होइन । नेपालले धेरै पहिल्यै देखी प्रयोग गर्दै र भन्दै आईरहेको असंलग्न छिमेकी नीतिको धज्जी उडाउने काम गरियो । फेसबुकको प्रयोग गरेर नेपालीहरुलाई भारतको डर देखाएर अघोषित आतंक मचाइयो ।

हुँदै नभएका तानाबानाहरु बुनेर फेसबुकको मैदानमा असंख्य बुख्याँचाहरुको भीड जम्मा गरियो र उनीहरुबाट एउटै स्वर निकाल्न लगाइयो की भारतले नेपालको स्वाभिमानलाई काँचै निलिरहेको छ । भोको पेट बसेरै भए पनि त्यसको डटेर सामना गर्नुपर्ने छ ।

जबकी यथार्थ त्यो थिएन । भारतको हस्तक्षेपकारी भूमिका माओवादीको जन्मपछि या बहुदलको स्थापनापछि या गणतन्त्रको स्थापनापछि सतहमा आएको होइन ।

लेखक अर्याल


जसले जनतामा भारतको आतंक देखाएर  जनमतलाई प्रभावित पारेको छ, उसैले त्यो स्थानमा भारतलाई ल्याएर राखिदिएको हो ।

फेसबुकको प्रयोग गरेर चुनाव जित्नु नकारात्मक कुरा होइन तर फेसबुकमा नकारात्मक कुरा छरेर चुनावको नतिजा प्रभावित पार्नु चाहिँ राष्ट्रिय स्वाभिमानका हिसाबले क्षतिग्रस्त परिणाम निम्त्याउने एउटा खतरनाक खेल थियो ।

संसद्र सचिवालयको वेभसाइटमा संसद्मामा दर्ता भएका संशोधन विधेयक लगायतका तमाम विवरणहरुको जानकारी राखिएको हुन्छ । सरकारले संसद्मा दर्ता गराएको विधेयकमा न हिन्दी भाषाको कुरा थियो, न बैबाहिक अंगिकृतलाई राष्ट्रपति बनाउन सकिने कुरा लेखिएको थियो, न प्रदेशको सीमांकन मार्फत कुनै भूमी भारतलाई बुझाउने भनेर लेखिएको थियो ।

तर बिडम्बना भन्नु पर्छ त्यहाँ नलेखिएका या आधिकारिक रुपमा दर्ता नगरिएका कुराहरुले बर्षदिनभरी फेसबुकका भित्ताहरु चुटिए । चौतारोदेखि चिया पसल र साँईलीको भट्टी पसलदेखि संसद्सम्म त्यस्तो कुरालाई बहसमा ल्याईयो, जुन कुरा कहिल्यै आधिकारिक रुपमा कहिं पनि लिखित दर्ता गरिएको थिएन ।

त्यसको एउटै कुत्सित मनासय के थियो भने तराई मधेसमा बसोबास गर्ने आदिवासी र मधेसी मूलका बासिन्दाहरुलाई संविधानको अपनत्व नदिएर शरणार्थी बन्न बाध्य पार्दै युएनएचसीआर गुहारेर डलरमा कमिसन खाने । युएनको अनुदान मार्फत संचालित आइएनजिओहरुमा राष्ट्रवाद र स्वाभिमानको गुणगान गाउनेहरुकै पकड छ ।

अहिलेको प्रादेशिक सीमांकन, पहिचान स्थापित गर्ने मानकहरु, लगायत प्रदेश नम्बर दुईमा स्थानीय तह बढाउँदा सर्वोच्च अदालतले गरेको हस्तक्षेप लगायतका मिल्न नसकेका तमाम राष्ट्रिय मुद्दाहरुलाई भारतसंग मात्र जोडेर ढ्वाङ फुक्ने हो भने स्वाभिमानको मुरली त बज्छ, तर पश्चिमा स्वार्थबाट संचालित नेपालका एनजिओ आइएनजिओहरु र तिनिहरुको ’मास्टर की’ बोकेर हिँड्ने कथित राष्ट्रवादी दलहरुको नेपालीपनको रवैयालाई पश्चिमा स्वार्थले किनेको तथ्यलाई छताछुल्ल पार्ने हो भने स्वाभिमानका खातिर राष्ट्रवादको ढ्वाङ फुकेर बजाइएको मुरली सर्प आकर्षित गर्ने एउटा ’बिन’ भएको पुष्टि हुन्छ ।

दशबर्षे लामो सशस्त्र द्वन्द्वलाई शान्तिप्रक्रिया मार्फत अवतरण गराउने लगायत कतिपय कुराहरुमा सम्पन्न भएता पनि सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनको सन्दर्भमा र त्यस्को कार्यक्षेत्रका सन्दर्भमा उठ्ने गरेका असहमतिहरुले भारत भर्सेस पश्चिमा स्वार्थको क्रीडास्थल नेपाललाई बनाउन चाहेको पुष्टि हुन्छ ।

भारतको डर देखाएर सामाजिक संजालको चरम दुरुपयोग गर्दै संसारभर कुख्यात रहेको पश्चिमी स्वार्थलाई नेपालको भुमीमा निरुपण गर्ने र स्वाभिमानको आडमा जनताको आँखामा छारो हालेर आन्तरिक बिभेदलाई अझ उचाईमा पुर्याउने दल चुनावमा हावी देखिएको छ ।

यहि कुराले माओबादी केन्द्र र नेपाली काग्रेसबीचको गठबन्धन अझै लामो समयसम्म रहिरहनु पर्ने कुरालाई प्रतिकात्मक रुपमा झल्काएको छ ।

भलै शान्ति प्रक्रियामा कुनै भुमिका नखेलेको, राजनीति परिवर्तनहरुलाई उपहास गरेको भएपनि क्षणिक आवेग र असन्तुलनमा बहुसंख्यक जनताले आँखा चिम्लेको कुरामा इतिहास सँधै तथाकथित राष्ट्रवादीहरु प्रति नकारात्मक भएर प्रस्तुत हुनेछ ।

यसलाई सन्तुलन कायम राख्नपनि कांग्रेस र माओवादी केन्द्रको तालमेल र गठबन्धन अझ केही लामो समय जानु अपरिहार्य बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्