१४ असार २०८३, आइतबार

जो १ मतले विजयी भए…

जेठ ७, २०७९
जो १ मतले विजयी भए…

स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् ।

यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित हार भएको छ । मधेस प्रदेशको पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश चौरसिया १ मतले विजयी भएका छन् ।

चौरसियाले १ हजार १ सय ८५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हनिफ मियाँ जोलाहाले १ हजार १ सय ८४ मत ल्याएर पराजित हुनुप¥यो । लुम्बिनी प्रदेशको गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका २ मा कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले एक मतले वडाध्यक्षमा विजयी भएका छन् ।

न्यौपानेले ७ सय ५६ मत पाउँदा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाकर न्यौपाने ७ सय ५५ मत ल्याएर पराजित भएका छन् । मधेस प्रदेशकै महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भए ।

चौधरीले ३ सय ६६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहम्मद अनामुल राइनले ३ सय ६५ ल्याएर पराजित भएका छन् । महोत्तरीकै बर्दिवास नगरपालिका–१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो १ मतले विजयी भएका छन् ।

महतोले ५ सय ८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत हमाल ५ सय ७ मत ल्याएर पराजित भएका छन् । यसैगरी, महोत्तरीको बर्दिवास नगरपालिका ७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भएका छन् ।

उनले ७ सय २७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरीले ७ सय २६ मत ल्याएर पराजित भएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन् ।

उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार चाम्लिङले २ हजार ३ सय ७५ मत पाएका छन् । काभ्रे जिल्लाको ३ स्थानीय तहका ३ वडामा एक÷एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी १ मतले विजयी भएका छन् ।

उनले ५ सय ३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका कालदास तामाङले ५ सय ३० मत पाएर पराजित भएका छन् । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तमान थिङ १ मतले विजयी भएका छन् ।

थिङले ५ सय ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका आशाराम गोलेले ५ सय ४७ मत प्राप्त गरी पराजित भएका छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका सुशील लामा पनि १ मतले विजयी भएका छन् । उनले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत पाएर पराजित भएका छन् ।

यस्तै अर्घाखाँचीकोे मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन् । अर्यालले ८ सय ४९ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उदयबहादुर पुन मगर ८ सय ४८ मत ल्याएर पराजित भएका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि दुई मतको अन्तरले हारजित भएको छ । आफ्ना प्रतिस्पर्धीभन्दा दुई मत बढी ल्याएर कांग्रेसका मोहनसिंह लालचन वडा अध्यक्षमा विजयी भए । निर्वाचनमा लालचनले ७ सय ६० मत पाउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका थिए ।

यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा विपक्षीको भन्दा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उदयराज गडेरियाले एक मत बढी पाएर विजयी भएका छन् । गडेरियाले ९ सय ९२ मत पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ९ सय ९१ मत पाएर पराजित भएका छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्