२५ असार २०८३, बिहीबार
काठमाडाैंकाे मतगणना

काठमाडौंको ‘कोर एरिया’मा अझै सम्भव छ केशव वा सिर्जनाको चमत्कार ?

जेठ ७, २०७९
काठमाडौंको ‘कोर एरिया’मा अझै सम्भव छ केशव वा सिर्जनाको चमत्कार ?

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् । 

काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने रैथाने नेवार वस्तीको मतको आधारमा काठमाडौंको मेयरको निर्णायक नतिजा आउने विश्लेषण हुने गरेको थियो । ती क्षेत्रको मतदाताले काठमाडौं बाहिरको उम्मेदवारलाई नरुचाउने तर्क सहित रैथाने उम्मेदवार नै हुँदा दलहरुलाई नतिजा निकाल्न सजिलो हुने भाष्य स्थापित थियो । तर, यस पटकको निर्वाचनमा त्यस्तो भाष्य खण्डित भएको छ । 

बैशाख ३० गते सम्पन्न स्थानीयत तह निर्वाचनको अर्को दिनदेखि शुरु भएको मतगणना मध्यान्तरमा पुगेको छ । १ लाख ९१ हजार हाहाहारीमा खसेको मतमध्ये शनिबार अपरान्हसम्म ९७ हजार ५३९ मत गणना भइसकेको छ । 

अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) १५ हजार मतान्तरले अगाडि छन् । शनिबार दिउँसो साढे ४ बजेसम्म बालेनले ३४ हजार ४८७ मत ल्याउँदा स्थापितले १९ हजार १५० र सिर्जना सिंहले १८ हजार ८३१ मत ल्याएकी छन् । 

अहिलेसम्म प्राप्त मतको अनुपात हेर्दा स्वतन्त्र उम्मेदवार बालेनलाई पछि पार्न स्थापित र सिर्जनाले चमत्कार गर्नुपर्ने हुन्छ । बालेनले लगभग ३६ प्रतिशत भोट ल्याएर छन् । एमालेका स्थापित र काँग्रेसकी सिंहले २० प्रतिशतको आसपासमा मात्रै मत ल्याएका छन् । 

शुरुमा महानरपालिकाको १ र ३२ नम्बर वडाको मतगणना भएको  थियो । दुवै वडामा वडाअध्यक्ष भने एमालेका उम्मेदवारले जितेका छन् । तर, मेयर पदमा भने बालेनलाई धेरै मत आएको छ । अहिलेसम्म १ देखि ६, ८, २८, २९, ३० र ३२ नम्बर वडाको मतगणना सकिएको छ । त्यसमध्ये कांग्रेसले ६, २९ र ३० नम्बर वडा जितेको छ। बाँकी १ देखि ५, ८, २८ र ३२ वडामा भने एमालेले अध्यक्ष जितेको छ ।

स्थापित र सिंह दुवैले कोर एरियाबाट आफूलाई धेरै मत आउने अपेक्षा गरेका थिए । रैथाने नेवारी वस्तिभन्दा बाहिरको मत स्वीङ हुने भएकाले बालेनले धेरै मत पाएको तर, कोर एरियामा पुग्दा नतिजा उल्टिने विश्लेषण एमाले र कांग्रेस दुवैको थियो । तर, कोर एरियामा पनि उनीहरुको जोर चल्ने देखिएन । कोर क्षेत्रको मतगणनामा पनि स्वतन्त्र उम्मेदवार बालेन नै आगाडि देखिएका छन् । 

‘कतिपय वडामा हामीलाई राम्रो मत नआएको होइन, तर बालेको पक्षमा जसरी हुरी चलिरहेको छ, अब उनलाई पछि पार्न कठिन छ’ मतगणना स्थलमा भेटिएका कांग्रेसका एक नेताले लोकान्तरसँग भने । 

केशव स्थापितको वडा २८ नम्बर वडामा एमालेले जिते पनि बालेनको भोट स्थापितको भन्दा थोरै मात्रै कम छ । त्यो वडामा ७ सय ४१ मत स्थापितले पाउँदा बालेनले ७ सय १७ मत ल्याएका छन् । सिर्जनालाई उक्त वडामा ७१० मत मात्रै आयो । अर्को कोर एरिया मानिएको २९ नम्बर वडामा त झन स्थापित भन्दा ७०२ मतले बालेन अगाडि भए । 

मतको अहिलेको अनुपात हेर्दा कोर क्षेत्र मानिएको २० देखि २८ नम्बर वडामा पनि एमाले–कांग्रेस भन्दा बालेन नै अगाडि हुने देखिन्छ । 

यद्यपी, अझै ९० हजारको हाराहारीमा मतगणना हुन बाँकी छ । एमालेका स्थापित वा कांग्रेसकी सिंहले बालेनलाई जित्नको लागि बालेनलाई जित्नको लागि उनले पाउने मत २० प्रतिशतमा सीमित हुनुपर्छ र स्थापित वा सिंहले पाउने मत ४० प्रतिशतमा बढोत्तरी हुनुपर्छ । यस्तो चमत्कारको सम्भावना लगभग सकिएको छ ।

शनिबार दिउँसोसम्मको मत गणनामा वडा नम्बर– २४ र २७ मा भने केशव स्थापित अगाडि छन् । ‘मेयरको मत लौरोमा र बाँकी रूख या सूर्यमा हालेका छन् । मतदाताको मनोविज्ञान बुझ्नै सकिएन’ गणना स्थलमा भेटिएका एमालेका एक कार्यकर्ताले भने । 

८ नम्बर वडामा राम्रो मत पाएपछि बिहीबार दिउँसो सिर्जना सिंह मतगणना स्थल पुगेकी थिइन् । ‘कोर एरियामा गएपछि मेरो राम्रो भोट आउँछ, त्यही मतको आधारमा जित्नेमा आशावादी छु’, त्यसदिन सिंहले भनेकी थिइन् ।

सुस्त गतिमा भइरहेको मतगणनाको नतिजा आफ्नो पक्षमा नआएपछि राष्ट्रिय सभागृह बाहिर एमाले र कांग्रेसका कार्यकर्ताको चहलपहल घटिरहेको छ । अहिलेकै रफ्तारमा मत गणना हुँदा काठमाडौं महानगरको नतिजा आउन अर्को हप्ता कुर्नुपर्ने सम्भावना छ । गणना सकिएका ठाउँका कर्मचारी ल्याएर भए पनि आइतबारदेखि गणना छिटो गराउने तयारी भइरहेको निर्वाचन आयोगले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्