
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ ।
एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँणबीच एक अर्कालाई पछि पार्ने क्रम शुरूदेखि नै चलिरहेको छ ।
आइतवार बिहान ९ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ७८ मत अन्तरले अगाडि छन् । खाँणले १० हजार ९६६ मत पाउँदा एमालेका चापागाईँले १० हजार ८८८ मत पाएका छन् । रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।
उपमेयरमा भने शुरूदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीको अग्रता कायम छ ।
उनले १० हजार ५७८ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई दोब्बर मत अन्तरले पछाडि पारेकी छन् । पाण्डेले ५ हजार २२७ ल्याएकी छन् । अहिलेसम्म २८ हजार २७१ मत गणना भएको छ ।