०४ असार २०८३, बिहीबार
स्थानीय चुनाव

पार्टी फुट्दा पनि मधेशमा एमालेको ‘कम ब्याक’, स्थानीय तहमा ५ सिट बढाएर दोस्रो

जेठ ८, २०७९
पार्टी फुट्दा पनि मधेशमा एमालेको ‘कम ब्याक’, स्थानीय तहमा ५ सिट बढाएर दोस्रो
रौतहटमा एमालेले निकालेको विजय जुलुस

पार्टी विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बन्दा पनि नेकपा एमालेले मधेश प्रदेशमा आफ्नो पूर्ववत शक्ति सुधार गरेको छ ।

हालसम्मको मतपरिणाम अनुसार एमाले थप ५ सिट जित्न सफल भएको छ । मधेश आधार ईलाका रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले समेत ३ उपमहानगर जित्न नसकेको अवस्थामा एमालेले कोर मधेशभित्र रहेको बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको नेतृत्व जित्न सफल भएको छ ।

नेकपा एमालेले मधेश प्रदेशमा कूल २३ स्थानीय तहमा अध्यक्ष/प्रमुख जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा १८ सिट मात्र जितेको नेकपा एमालेले यसपटक ४ थप सिट जित्न सफल भएको छ । एमाले विभाजित हुँदा मधेश प्रदेश सभामा विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी बलियो भए पनि स्थानीय तहमा एमाले नै फेरि पनि बलियो बन्न सफल भएको छ ।

मधेश प्रदेश सभामा नेकपा एमालेका ८ जना सांसद मात्र छ तर विभाजित पार्टी नेकपा एकीकृत समाजवादीका १३ जना सांसद छन् । त्यस आधारमा मधेशमा एमालेभन्दा अहिले पनि नेकपा एकीकृत समाजवादी नै बलियो र ठूलो छ तर स्थानीय तहको ताजा मतपरिणामले मधेशमा नेकपा एसभन्दा नेकपा एमाले निकै बलियो रहेको देखाएको छ ।

मधेश प्रदेशमा नेकपा एसले ३ नगरपालिका र १ गाउँपालिका गरी कूल ४ पालिकामा मात्र जित्न सकेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा २ र सप्तरी, सिरहामा १/१ पालिका जितेको छ ।

नेकपा एकीकृत समाजवादीले सप्तरीको शम्भुनाथ नगरपालिका, रौतहटको गौर र राजदेवी नगरपालिका र सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकासहित कूल ४ पालिकामा मात्र प्रमुख/अध्यक्ष जित्न सकेको छ ।

संविधान जारी हुने बेला नेकपा एमालेलाई मधेश प्रदेशमा सबैभन्दा बढी विरोध खेप्नुपरेको थियो । मधेश आन्दोलनको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै सबैभन्दा बढी पुत्ला दहन भएको थियो । यहाँसम्म कि एमालेका मधेशी नेताहरूलाई मधेशमै कालोमोसो दल्ने गरिएको थियो ।

एमालेका नेताहरूलाई मधेश प्रवेशमा निषेध नै लगाइएको थियो । त्यो राजनीतिक प्रतिरोधलाई चिर्न तथा आफ्नो पक्षमा चुनावको माहौल बनाउनका लागि एमालेले मेची महाकाली अभियान सञ्चालन गर्दा सप्तरीको मलेठमा ठूलो अवरोधको सामना गर्नु परेपछि एमालेले अभियान नै स्थगित गर्न बाध्य भएको थियो ।

तर अहिले आएर एमालेले मधेश प्रदेशमा आफ्नो स्थितिमा सुधार गर्न सफल भएको छ । एमाले अध्यक्ष ओली मधेशमा निरन्तर जानुका साथै मधेशमा बढी ध्यान केन्द्रित गरेको परिणामस्वरूप एमालेको अवस्था सुध्रिएको छ ।

यी हुन् एमालेले जितेका पालिकाहरू

एमालेले सप्तरीको अग्नीसाइर कृष्णासवरन र राजगढ गाउँपालिकासहित २ पालिकामा अध्यक्ष जितेको छ । सिरहाको नरहा, भगवानपुर, विष्णुपुर गाउँपालिका, सिरहा, कर्जन्हा, कल्याणपुर, धनगढीमाई नगरपालिका सहित ७ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रमुख जितेको छ ।

धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकासहित २ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ । महोत्तरीको रामगोपालपुर र रौतहटको मौलापुर नगरपालिकामा गरी २ पालिकामा प्रमुख जितेको छ ।

बाराको परवानीपुर, प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका, कलैया उपमहानगरपालिकासहित ४ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ । पर्साको छिपहरमाई, सखुवा प्रसौनी, ठोरी गाउँपालिका, पोखरिया र पर्सागढी नगरपालिकासहित ५ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्