१२ असार २०८३, शुक्रबार

सत्तारुढ गठबन्धनमा चुनावी समीक्षा : संघीय र प्रदेश निर्वाचनमा पनि होला तालमेल ?

जेठ ९, २०७९
सत्तारुढ गठबन्धनमा चुनावी समीक्षा : संघीय र प्रदेश निर्वाचनमा पनि होला तालमेल ?

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आवद्ध पाँचै दल हौसिएका हुन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेलबारे समीक्षा भएको थियो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेलबारे सत्ता गठबन्धनमा सन्तुष्टि रहेको र अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए ।

‘स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि छ, मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ, अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जान्छ, हाम्रा बीचमा चुनावी तालमेल जारी रहन्छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए ।

‘देशको अग्रगतिका लागि गठबन्धन अझै अघि जानुपर्छ, प्रतिगमन विरोधी शक्तिहरूलाई तह लगाउन पनि आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गठबन्धनको कोर्स प्रतिगमन विरुद्धको कोर्स रहेको र जनप्रतिनिधिमूलक संस्थालाई बचाउन तथा संविधानको रक्षा गर्न गठबन्धन अघि बढेको बताए ।

‘गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स हो, संघको निर्वाचनमा पुगेपछि त्यो कोर्स पूरा हुन्छ तर स्थानीय निर्वाचनमा गठबन्धनको जुन स्प्रिट थियो त्यो क्याच भएन,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।

आइतवार राति अबेरसम्म ७१८ स्थानीय तहको प्राप्त परिणामअनुसार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस ३१४ स्थानीय तहमा प्रमुख/ अध्यक्ष जितेर स्थानीय तहमा पहिलो शक्ति बन्ने निश्चित भइसकेको छ ।

नेकपा एमालेले २०७४ सालमा जितेका करीब ९० स्थानीय तह गुमाउने देखिँदा सो दलले आइतवार राति अबेरसम्म १९५ स्थानीय तहमा जित्दै दोस्रो शक्ति बन्ने पक्का भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा प्रमुख/अध्यक्ष एमालेले जितेको थियो भने कांग्रेसले २६६ स्थानीय तहमा जितेको थियो ।

सत्ता गठबन्धनको अर्को शक्ति माओवादी केन्द्रले विगतको परिणामलाई उछिन्दै १२० स्थानीय तहमा जीत हात पारिसकेको छ । सो दलले २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा १०६ स्थानीय तहमा जीत हात पारेको थियो ।

हालसम्म प्राप्त परिणामअनुसार गठबन्धनमा आवद्ध दल जसपा स्थानीय तहमा चौथो तथा नेकपा एस पाँचौं शक्ति बन्ने देखिएको छ । जसपाले आइतवार राति अबेरसम्म २९ र नेकपा एसले १७ स्थानीय तहमा जीत हात पारेका छन् ।

लोसपाले १४ स्थानीय तहमा जीत हात पार्दा अन्य दल तथा स्वतन्त्र उम्मेदवार गरी २९ तहमा जीत हात पारेका छन् । अब ५ महानगरपालिकासहित ३५ स्थानीय तहको परिणाम आउन बाँकी छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्