
बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी भएका छन् । ३५ वर्षीय आचार्य १४ हजार १३४ मत प्राप्त गरी विजयी भएका हुन् ।
विजयी भएका नगरपालिका प्रमुखहरू मध्ये उनी सबैभन्दा कान्छो छन् ।
नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २०५ र नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९ हजार ७२५ मत पाए । उपप्रमुखमा कांग्रेसकै सङ्गीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी भएका छन् । एमालेका अस्मिता कुमारी थारूले १३ हजार ५१७ र नेकपा (एकीकृत समाजवादी)का नारायणी वलीले पाँच हजार ४२ मत प्राप्त गरेका छन् ।
कोहलपुर नगरपालिकामा यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरप्रमुख थिए । रावत २०४९ र २०५४ मा साबिक कोहलपुर गाविसको अध्यक्ष तथा २०७४ मा कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।
एमालेको किल्ला रूपमा परिचित कोहलपुरमा कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गरेका हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि आचार्यले पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको कोहलपुरलाई समृद्ध र नमसना सहरका रूपमा विकास गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
'सबैपक्षको साथ र सहयोगमा नयाँ नेतृत्व अघि बढ्नेछ,' प्रमुख आचार्यले भने,'योजनाबद्ध विकास गरे कोहलपुरलाई नमुना योग्य बनाउने छौँ ।' गोरखापत्र दैनिकमा खबर छ ।