
नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरु विद्यालय जान मानेका छैनन् ।
गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम बेनी बजारकै प्रकाश माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको प्रकाश माविका विद्यार्थी रेशम घिमिरेले बताए ।
पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।