
भारतको बिहार राज्यमा रहेको समस्तीपुरमा मानवता नै लज्जित हुनुपर्ने घटना सार्वजनिक भएको छ ।
त्यहाँ मृत्यु भएका एक युवकको शवको पोस्टमोर्टमका लागि स्वास्थ्यकर्मीले बुवाआमासँग थुप्रो पैसा मागे । उनीहरूले पैसा दिन नसकेपछि स्वास्थ्यकर्मीले शव दिन अस्वीकार गरे । गरीब आमाबुवा छोरोको पोस्टमोर्टमको पैसा जम्मा गर्नका लागि भिक्षा मागिरहेका छन् ।
महेश ठाकुरका २५ वर्षीय छोरा मानसिक रूपमा विक्षिप्त थिए । घरबाट निस्केर धेरै दिन हराएका उनको लाश फेला परेपछि सदर अस्पताल पठाइएको थियो ।
अस्पतालमा स्वास्थ्यकर्मीले लाशको पोस्टमोर्टमका लागि ५० हजार भारु माग्यो । त्यति ठूलो रकम दिन नसकेपछि मातापितालाई शव दिन स्वास्थ्यकर्मीले इन्कार गर्यो ।
त्यसपछि पैसा जुटाउन पिता महेशले भिक्षा माग्न थाले । आमाबुवा टोलटोलमा गएर पैसा मागिरहेका छन् । यी लाचार आमाबुवालाई देखेर सबैजना प्रशासनतन्त्रलाई गाली गरिरहेका छन् ।
सिभिल सर्जन डा एस के चौधरीले सञ्चारमाध्यमबाट आफूले घटनाको जानकारी पाएको र अनुसन्धानपछि कारवाही गर्ने बताए ।
पोस्टमोर्टम गर्नेहरूले यसअघि पनि पैसा माग्ने गरेका छन् ।