०८ साउन २०८३, शुक्रबार

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा
प्रतिकात्मक तस्वीर

बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । 

प्रदेशको प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधवार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।

प्रदेश भित्रका स्थायी वासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने भएको हो । प्रदेश सरकारले एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ ।

किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य प्रवद्र्धन तथा परामर्श सेवा प्रदान गर्न एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पुर्‍याउन २८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न संघीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा लागू गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ । 

प्रदेश सरकारले महिलामा हुने पाठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुला लगायतका समस्याको समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । कोभिड–१९ महामारी तथा संक्रामक रोगविरुद्ध लड्न कम्तिमा ५० शय्याको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजनग गरिएको छ । 

प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, रगत, ग्लुकोज, दिसा, पिसाब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्यान्सर लगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा जनता पोषण कार्यक्रम सञ्चालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तिमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्