
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले विजय घलानलाई १ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।
गाउँपालिकाले बिहीवार एक कार्यक्रम गरी एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत पालिका–२ घर भएका घलानलाई जेहेन्दार विद्यार्थी छात्रवृत्तिस्वरूप सो रकम हस्तान्तरण गरेको हो ।
उनी पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटीमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै पहिलो बैठकले गरेको ३ महत्त्वपूर्ण निर्णय मध्येको प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति दिने घोषणाअनुरूप बिहीवार रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले बताए ।
‘पालिका अध्यक्षको पहिलो निर्णयअनुसार बिहीवार जेहेन्दार छात्रवृत्ति बापतको १ लाख प्रदान गरेको छौं,’ उनले भने, ‘अध्ययन पूरा गरेर फर्केपछि उहाँलाई पुनः थप १ लाख प्रदान गर्ने गाउँपालिकाले निर्णय भएको छ ।’
स्थानीय तह निर्वाचन २०७९ बाट बेथानचोक गाउँपालिकामा अध्यक्ष पदमा नवनिर्वाचित भएपछिको पहिलो बैठकमा अध्यक्ष भगवान अधिकारीले प्रत्येक आर्थिक वर्षमा ५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने, स्नातक तहमा अध्ययनरत प्राविधिक तथा अप्राविधिक विषयमा अध्ययनरत जेहेन्दार छात्रछात्रालाई वार्षिकरूपमा छात्रवृत्ति उपलब्ध गराउने र ६० वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्करूपमा पूर्ण शरीर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णय मध्येको जेहेन्दार छात्रवृत्ति वितरण गरेको गाउँपालिकाले जनाएको छ ।