
शुक्रवार चलचित्र रिलिजको प्रतिस्पर्धा हुने गरे जस्तै गीतहरूमा पनि प्रतिस्पर्धा देखिने गरेको छ ।
अन्य दिनको तुलनामा शुक्रवार गीत रिलिजको होडबाजी नै हुने गरेको छ ।
नेपालसँगै विदेशको सार्वजनिक बिदालाई लक्षित गर्दै धेरैले शुक्रवार गीत रिलिज गर्ने गरेका हुन् । यो शुक्रवार पनि डेढ दर्जन बढी गीतहरू यूट्युबमा रिलिज गरिएका छन् ।
आशा गरिएका म्युजिक भिडियोहरू पनि यो शुक्रवार धेरै छन् । जसमा प्रमोद खरेल, अस्मिता अधिकारीको स्वर रहेको ‘क्या छ खबर’देखि दुर्गेश थापाको ‘हुकुमको एक्का’सम्म छन् ।
दीपक शर्माको शब्द संगीत रहेको ‘क्या छ खबर’को भिडियोमा ओबी रायमाझी र जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडा प्रस्तुत छन् । डान्सिङ विटको गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।
दुर्गेश थापाले ४ महिनाको अन्तरमा ‘हुकुमको एक्का’ बोलको गीत शुक्रवार रिलिज गरेका हुन् । आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा पनि दुर्गेश नै प्रस्तुत छन् । रुपेश थापाको निर्देशन रहेको भिडियोमा दुर्गेशलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
रानी शाक्य र बलबहादुर राजवंशीको स्वरमा ‘म डुब्दै गएँ’ बोलको गीत पनि यूट्युबमा रिलिज गरिएको छ । यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल गीता ढुंगानाको अभिनय छ ।
अस्मिता अधिकारी र सुवास ओकेको स्वरमा ‘तिमीसँग’ बोलको गीत शुक्रवार नै यूट्युबमा रिलिज गरिएको छ । यसको भिडियोमा सागर लम्साल र अनिता चलाउनेको अभिनय छ । भिडियोलाई राजिव समरले निर्देशन गरेका छन् ।
निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको मात्रै ३ वटा गीत शुक्रवार साँझसम्म रिलिज भइसकेका छन् । अझै एउटा गीत केही समयमा सार्वजनिक हुने उनले बताएकी छन् । शान्तीश्री परियार, अमृत सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘तीन फुर्के डोरी’ शुक्रवार नै रिलिज भएको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार यस तीज गीतको भिडियोमा कमल बुढाथोकी, अञ्जली अधिकारी र जुना सुन्दासको अभिनय छ ।
अन्य केही तीज गीत पनि शुक्रवार रिलिज भएका छन् । हिट गीत ‘छुट्नलाई पो रैछ क्यारे’को अध्याय २ भनिएको ‘एउटा कथा’ पनि शुक्रवार रिलिज हुँदैछ ।
केही समयमा गीत सार्वजनिक गर्ने गायक तथा संगीतकार थानेश्वर गौतमले जनाएका छन् ।