०७ साउन २०८३, बिहीबार
नेटो-रुस तनाव

नेटो विस्तारमा अमेरिकाको भित्री स्वार्थ, थप दुई छिमेकी सदस्य बन्दा किन तर्सिएन रुस ?

असार १९, २०७९
नेटो विस्तारमा अमेरिकाको भित्री स्वार्थ, थप दुई छिमेकी सदस्य बन्दा किन तर्सिएन रुस ?
Photo : AP

पश्चिमी सैन्य संगठन नेटोको गत साता सम्पन्न शिखर सम्मेलनले रुस (र चीन) सँगको द्वन्द्व चर्काउन विभिन्न गतिविधि गरेको छ । स्पेनको राजधानी मड्रिडमा सम्पन्न उक्त सम्मेलनमा केही महत्त्वपूर्ण घटनाक्रम विकसित भए जसको दीर्घकालीन परिणाम विश्वले भोग्नेछ । 

वर्षौंदेखि तटस्थ हैसियतमा रहेका फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्ने लगभग पक्कापक्की भएको छ । टुर्कियेले उनीहरूलाई सदस्य बन्नमा लगाएको तगारो अन्तिम समयमा हटाएपछि उनीहरू मड्रिड सम्मेलनमा पर्यवेक्षकको हैसियतमा सहभागी भए । उनीहरूको प्रवेशसँगै रुसविरुद्ध नेटोको सीमाक्षेत्र बढ्ने भएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही नचलाएको भए फिनल्यान्ड र स्विडन नेटोमा जोडिने थिएनन् त्यसैले यो कदम पुटिनका लागि प्रत्युत्पादक बनेको पश्चिमी सञ्चारमाध्यमहरूको दाबी छ । तर कुनै पनि निष्कर्षमा पुग्नुअघि पुटिनले यसमा जनाएको प्रतिक्रियालाई विचार गर्नुपर्ने हुन्छ । 

गत साता तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा आयोजित क्यास्पियन शिखर सम्मेलनमा पुटिनले फिनल्यान्ड र स्विडन जुनसुकै संगठनमा जोडिन स्वतन्त्र रहेको प्रतिक्रिया दिए ।

ती मुलुकहरूसँग रुसको सीमाविवाद नरहेको बताउँदै पुटिनले उनीहरू नेटोमा जोडिएपछि उनीहरूको भूमिमा नेटोको सैन्य संरचना तैनाथ गरिएमा चाहिँ रुसले त्यसको उचित जवाफ फर्काउने र आफूहरूलाई जोखिम आएजस्तै उनीहरू पनि जोखिममा पर्ने चेतावनी दिएका छन् । 

त्यसो त रुसका अधिकारीहरूले फिनल्यान्ड र स्विडन नेटोमा जोडिएमा रुसले सैन्य सन्तुलन पुनर्बहाली गर्नका लागि बाल्टिक क्षेत्रमा आफ्नो सैन्य तैनाथी बढाउन बाध्य हुने चेतावनी दिँदै आएका छन् । उनीहरूको संकेत बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग कालिनिनग्राडमा आणविक हतियार तैनाथीतर्फ रहेको छ ।

तर पुटिनको भनाइमा विश्वास गर्ने हो भने फिनल्यान्ड र स्विडन नेटोमा जोडिए पनि त्यसमा रुसले धेरै आपत्ति जनाउने छैन । त्यसका केही कारणहरूका बारेमा अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोले चर्चा गरेका छन् । 

गत साता तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा आयोजित क्यास्पियन शिखर सम्मेलनमा पुटिनले फिनल्यान्ड र स्विडन जुनसुकै संगठनमा जोडिन स्वतन्त्र रहेको प्रतिक्रिया दिए । ती मुलुकहरूसँग रुसको सीमाविवाद नरहेको बताउँदै पुटिनले उनीहरू नेटोमा जोडिएपछि उनीहरूको भूमिमा नेटोको सैन्य संरचना तैनाथ गरिएमा चाहिँ रुसले त्यसको उचित जवाफ फर्काउने र आफूहरूलाई जोखिम आएजस्तै उनीहरू पनि जोखिममा पर्ने चेतावनी दिएका छन् । 

उनका अनुसार, फिनल्यान्ड र स्विडन दुवै वर्षौंदेखि नेटोका वस्तुगत सदस्य थिए र अहिले आएर उनीहरू कानूनी रूपमा आधिकारिक सदस्य बन्दैमा त्यसले धेरै फरक पार्दैन । 

दोस्रो, नेटोले युक्रेनमा झैं गरी ती दुई देशमा गोप्य रूपमा सैन्य संरचना बनाएको छैन । तर भविष्यमा नबनाउला भन्न सकिँदैन र बनाएछ भने पनि त्यसको उचित बन्दाबस्त गर्न सकिने आत्मविश्वास रुससँग छ । फिनल्यान्ड बढी आक्रामक बनेमा जर्जियामा जस्तो ‘फ्रोजन कन्फ्लिक्ट’ गराउने रणनीति रुसले अपनाउन सक्छ ।

तेस्रो, पुटिनले भनेअनुसार ती दुई देशसँग रुसको सीमाविवाद नभएकाले युद्धको स्थितिसम्म पुग्ने ‘फ्ल्याशपोइन्ट’ विद्यमान छैन । दोस्रो विश्वयुद्धताका तत्कालीन सोभियत संघ र फिनल्यान्डबीच भएको युद्धमा फिनल्यान्डले कारेलिया गुमाएको भए पनि त्यसलाई फिर्ता लिनका लागि त्यस देशका मुख्य राजनीतिक दलले कुनै चासो देखाएका छैनन् । भूभागीय विवादका आधारमा रुसविरोधी गतिविधिको अवसर नेटोले पाउन सक्ने स्थिति छैन । 

त्यसैले रुसलाई त्यति चित्त नबुझेको भए पनि फिनल्यान्ड र स्विडन नेटोमा जोडिँदा रुसको अस्तित्व नै खतरामा परेको चाहिँ हैन । उल्टो, नेटोमा जोडिँदा रुसको कोपभाजनको शिकार बन्ने जोखिम चाहिँ ती दुई देशलाई आइलागेको छ किनकि आफ्नो अस्तित्व जगेर्नाका लागि नेटोसँग पनि भिड्न तयार रहेको संकेत रुसले दिएको छ । 

अहिले नै रुसी आकाश प्रयोग गर्न नपाउँदा फिनल्यान्डका एयरलाइन्सहरूलाई अतिरिक्त भार परेको छ । फिनएयरको एसियाली कारोबार लगभग बन्द हुन लागेको छ ।

मड्रिड शिखर सम्मेलनको अर्को महत्त्वपूर्ण घटनाक्रमका रूपमा नेटोको सबभन्दा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति जो बाइडनले नेटोको सम्पूर्ण भूभागको प्रतिरक्षाका लागि युरोपमा अमेरिकी सैनिकहरूको संख्या बढाउने घोषणा गरे । रुसबाट नेटो सदस्यहरूलाई जोखिम बढेको भन्दै त्यसको निवारणका लागि रोमानियामा पाँच हजार सैनिक राखेर अमेरिकाले युरोपमा रहेका सैनिकको संख्या एक लाख पुर्‍याएको छ । 

त्यससँगै बाइडनले जर्मनी र पोल्यान्डमा पनि अमेरिकी सैनिकहरू पुनः तैनाथ गर्ने घोषणा गरेका छन् । इराक र अफगानिस्तान युद्धमा पराजयपछि विश्वका अन्य कुनामा अमेरिकी सैनिकहरूको तैनाथीलाई क्रमशः घटाउने अमेरिकी जनचाहनाविपरीत ‘बूट्स अन द ग्राउन्ड’मा बाइडनले जोड दिइरहेका छन् । 

अमेरिकाले रुससँग सीमा जोडिएको मुलुक पोल्यान्डमा यूएस फिफ्थ आर्मी कोर्प्सको स्थायी केन्द्रीय कार्यालय पनि स्थापना गर्नेछ । उसले युरोपको सुरक्षालाई बलियो बनाउन विशेष सैन्यबल, सशस्त्र वाहनका साथै हवाई प्रतिरक्षाको तैनाथीमा पनि वृद्धि गर्ने बताएको छ । 

नेटोको नयाँ रणनीतिक अवधारणमा रुसलाई सबभन्दा उल्लेख्य तथा प्रत्यक्ष जोखिम मानिएकाले त्यस खतरालाई न्यूनीकरण गर्नका लागि सैन्य तैनाथी बढाइएको हो । तदनुरूप बेलायतलाई थप दुई एफ–३५ लडाकू विमान, जर्मनी र इटलीलाई हवाई प्रतिरक्षा तथा अन्य क्षमता, स्पेनमा राखिएका चारवटा डिस्ट्रोयर जहाजको संख्या बढाएर ६ वटा पुर्‍याइने लगायतका गतिविधि गरिएका छन् ।

मड्रिड सम्मेलनअघि नेटोले आफ्नो द्रुत प्रतिक्रिया बलको संख्या ह्वात्तै बढाउने घोषणा गरेको थियो । नेटो महासचिव जेन्स स्टोल्टनबर्गले हाल विद्यमान त्यस्ता ४० हजार सैनिकको संख्या बढाएर चार लाखभन्दा बढी सैनिक तैनाथ गर्ने घोषणा गरेका थिए । 

स्टोल्टनबर्गले यी सैनिकहरू कहाँ तैनाथ गर्ने भनी स्पष्ट पारेनन् । तर नेटोको नयाँ योजनाअनुसार कुनै एक सदस्य मुलुकमाथि आक्रमण भएको खण्डमा १० दिनभित्र एक लाख सैनिक तथा एक महिनाभित्र थप दुई लाख सैनिक तैनाथ गर्ने क्षमता चाहिँ नेटोले प्राप्त गरेको छ । 

तर रुसलाई तर्साउनका लागि नेटोले आफूलाई विस्तार गरिरहेको हो भने ऊ त्यसमा खासै सफल देखिएको छैन । नेटो सदस्य लिथुएनियासँग कालिनिनग्राडमा रेलमार्गमार्फत सामान आपूर्ति विषयमा रुसको विवाद चर्किएको बेलामा रुसले त्यहाँ उचित कारवाही गर्ने चेतावनी दिएको छ । 

पढनुहोस्, यो पनि :


अर्को बाल्टिक मुलुक तथा नेटो सदस्य इस्टोनियाको हवाईक्षेत्रमा रुसका सैन्य हेलिकप्टरहरू हालैका दिनमा बाक्लै गरी उडिरहेका छन् । बाल्टिक मुलुकहरूले निहुँ खोजेपछि उनीहरूसँग सीमा जोडिएको मुलुक बेलारुसलाई आणविक हतियार र आणविक क्षमताका क्षेप्यास्त्र दिने चेतावनी पनि पुटिनले दिएका छन् । यस्तो घटनाक्रमलाई नियाल्दा नेटोको विस्तारका कारण तर्सिनुको साटो रुस झन् सुरिँदै गएको देखिन्छ । 

रुस यसरी सुरिइरहेको बेलामा नेटोले चीनलाई पनि शत्रुका रूपमा प्रस्तुत गर्दै चीनले नेटोविरुद्ध प्रणालीगत चुनौती तेर्स्याएको नेटोको भनाइ छ । रुस र चीनले आफूहरूको मित्रता सीमाहीन रहेको भन्दै घनिष्ठ साझेदारीको उद्घोष गरिरहँदा नेटोले युरोपका साथै हिन्द–प्रशान्त क्षेत्रमा पनि ध्यान दिने संकेत देखाएको छ । यसरी दुईवटा मोर्चामा एकैपटक ध्यान केन्द्रित गर्ने क्षमता नेटोसँग छ कि छैन भन्ने ज्वलन्त प्रश्न छ । 

पढनुहोस्, यो पनि :​


रुसलाई युरोपमाथि आक्रमण गर्नबाट रोक्नका लागि निवारण संयन्त्रका रूपमा नेटो उभिएको भन्ने भाष्य युक्रेन युद्धले चकनाचुर बनाइदिएको छ ।

त्यही मापदण्ड अपनाएर नेटोले हिन्द प्रशान्त क्षेत्रमा पश्चिमी प्रभुत्वको सुरक्षा संरचना बनाउँदै चीनको घेराबन्दी गर्न खोजेमा त्यस संरचनालाई बेइजिङले ध्वस्त पार्नुको विकल्प नरहने टाइम पत्रिकामा चार्ली क्याम्पबेल लेख्छन् । त्यसमा रुसको दह्रो साथ चीनले पाउनेछ जसबाट नेटोको अस्तित्व समेत खतरामा पर्न सक्छ । 

युक्रेनलाई युरोपेली मुलुकहरूसँग रहेको सोभियतकालीन हतियार सहयोगका रूपमा दिन लगाएर अमेरिकाले आफ्ना हतियार बेच्ने प्रपञ्च रचेको हो । नेटोका नयाँ दुई आकांक्षी फिनल्यान्ड र स्विडनलाई पनि अमेरिकी हतियारको नशा लगाउन खोजिँदैछ । 

नेटोलाई किन यसरी आक्रामक रूपमा विस्तार गरिँदैछ त ? यसमा अमेरिकाको हतियार बिक्रीको स्वार्थ रहेको विश्लेषकहरू बताउँछन् । 

युक्रेनलाई युरोपेली मुलुकहरूसँग रहेको सोभियतकालीन हतियार सहयोगका रूपमा दिन लगाएर अमेरिकाले आफ्ना हतियार बेच्ने प्रपञ्च रचेको हो । नेटोका नयाँ दुई आकांक्षी फिनल्यान्ड र स्विडनलाई पनि अमेरिकी हतियारको नशा लगाउन खोजिँदैछ । नेटो मुलुकहरूलाई आफ्नो रक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको कम्तीमा २ प्रतिशतले बढाउने प्रतिबद्धता व्यक्त गर्न लगाएर अमेरिकाले आफ्ना हतियार खरिदका लागि उनीहरूलाई प्रेरित गरिरहेको हुनसक्छ । 

अमेरिकाले हतियार व्यापारमार्फत आफ्नो पतनोन्मुख अर्थतन्त्र तथा विश्व प्रभुत्वलाई पुनर्ताजगी दिँदै चीनसँगको प्रतिस्पर्धामा दह्रो खुट्टा टेक्न खोजेको चीनले चित्त बुझाएको छैन । त्यसैले रुससँग मिलेर नेटोलाई बेकामे बनाउन चीन क्रमशः प्रेरित भइरहेको छ । यसरी अन्धाधुन्ध विस्तारको प्रयास गरी नेटोले आफ्नो चिहान आफैं खनिरहेको आभास हुन्छ । 


कमेन्ट गर्नुहोस्