
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् ।
धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
डेङ्गुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको विषय बनेको डा. पोखरेलको भनाइ छ । 'अघिल्ला वर्ष पनि देखिएको थियो, अहिले पनि एउटै समयमा देखियो,' पोखरेलले भने, 'खाल्डाखुल्डीमा पानी जम्ने, ग्यारेजहरूमा सफाइ नहुने समयमा सङ्क्रमण बढी देखिएको छ ।'
असार साउन महिनामा पानी धेरै जम्ने समस्या हुँदा डेङ्गु भेटिएको उनले बताए ।
त्यसो त अघिल्ला वर्ष पनि डेङ्गुका बिरामी भेटिने गर्थे । यो वर्ष पनि डेङ्गुका बिरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय बागलुङ र अस्पतालले नियन्त्रण प्रयास थालेका छन् ।
बागलुङ नगरपालिका-७ र ९ का एक महिला र एक पुरुष बिरामी अस्पतालमा आएपछि डेङ्गुबारे धेरैको चासो बढेको हो ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । हाल अस्पतालमा भर्ना भएका बिरामीको भने अवस्था सामान्य रहेको उनले बताए । -रासस