
आज साउनको पहिलो सोमवार । बागलुङका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ ।
शिवभक्तले साउने सोमवारलाई पवित्र दिनका रूपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष ५ सोमवार परेका छन् ।
साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेषगरी महिलाले यसलाई बढी महत्त्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल शुरू भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताए ।
‘बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौं,’ उनले भने, ‘२ वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमंगको वातावरण छ ।’
अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताए । श्रद्धालुको सुविधालाई हेरेर खानेपानीको निःशुल्क प्रबन्ध गरिएको छ । विक्रम संवत् २०५८ सालमा निर्मित मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमवारमा विशेष पूजाआजा हुने गर्छ ।
बागलुङ–९ तित्याङस्थित शिवालय मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको छ । बागलुङ बजार र आसपासका गाउँबाट श्रद्धालु शिवको पूजाआरधाना गर्न त्यहाँ आउँछन् । काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा पनि साउने सोमवारमा विशेष पूजाआजा हुन्छ ।
विक्रम संवत् २०४० सालमा दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले स्थापना गरेको मन्दिरमा ५०० किलोको शिवलिङ्ग छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्गलाई त्यहाँ प्रतिस्थापन गरिएको हो ।
मन्दिरमा बर्सेनि जेठ ११ गते भगवान् शिवको रथयात्रा पनि निकाल्ने गरिन्छ । शिवरात्रि, बालाचर्तुरदशी लगायतका पर्वमा त्यहाँ धार्मिक मेला लाग्छ ।