वडाध्यक्षलाई घोक्र्याउँदै पौडी पोखरी (स्वीमिङ पुल) मा हुत्याउने इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई कारबाही गर्न चौतर्फी माग गरिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई डीएसपी केसीले नगरसभा भइरहेको मणिग्रामस्थित एक होटलको ‘स्वीमङपुल’ आइतवार धकेलिदिएका थिए ।
नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले नाराबाजी गरेका थिए । त्यहीँ विषयमा आफ्नो कुरा राख्दै गर्दा डीएसपीलाई आफूलाई अभद्र व्यवहार गर्दै पौडी पोखरीमा फालेको भन्दै वडा अध्यक्ष क्षेत्रीले कारबाहीको माग गरे ।
केसीले लछारपछार गर्दै आफूलाई स्वीमिङ पुलमा फालिदिएको बताए । नागरिकको जिउ ज्यानको सुरक्षामा खटिनुपर्ने प्रहरी आफैँ जनप्रतिनिधिमाथि जाई लाग्नु दुःखदायी भएको उनको भनाइ छ ।
नगरसभामा बहुमत संख्या भए पनि एमालेका जनप्रतिनिधिलाई हाजिरी गर्न नदिएर कोरम नपुगेको भन्दै नगर प्रमुखले नगरसभा स्थगित गरेको एमालेको आरोप छ । एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराई गृहमन्त्रीले आफ्ना भाइ मेयर भएको नगरमा प्रहरीले वडा अध्यक्षमाथि ज्यादति गरेको भन्दै डीएसपी केसीलाई कारबाही गर्न माग गरेका थिए ।
एमाले रूपन्देहीले डीएसपी केसीलाई कारबाही गर्न माग गर्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले वडा अध्यक्ष र एमालेका जनप्रतिनिधिलाई दमन गर्ने प्रहरी र विवादास्पद भूमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारबाही गर्न प्रजिअलाई निवेदन दिएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख सन्तोष आचार्यले घटनाका स्थलगत अनुगमन गरी घाइते वडा अध्यक्ष र प्रहरीसँग पनि घटनाको बारेमा छलफल गरिएको बताए । उनले प्रहरीले त्यसरी धकेल्नु मानव अधिकार उल्लंघनको विषय रहेको बताए ।
एमालेनिकट युवा संगठन युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाणको आडमा निर्वाचित जनप्रतिनिधिमाथि भएको प्रहरी ज्यादतिको विरोधमा नगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।

नियतबस धेकेलेको होइन : डीएसपी केसी
डीएसपी केसीले नियतबस नभई दुर्घटनाबस् घटना हुन पुगेको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई उहाँहरूले आक्रमण गर्न लाग्नुभयो । उहाँलाई रोक्न खोज्दा धकेलिएर पुलमा खस्नुभएको हो । रियालिटी त्यहीँ हो । को व्यक्ति भनेर चिनेको पनि थिइन,’ डीएसपी केसीले लोकान्तरसँग भने ।
नगरसभा सोमवार पनि स्थगित
तिलोत्तमा नगरपालिकाको नगरसभाको बैठक पाँचौपटक स्थगित भएको छ । असार २६ गतेदेखि स्थगित हुदै गएको नगरसभा पटक–पटक बस्ने प्रयत्न भएपनि सहमति हुने अवस्था नभएपछि सोमवार पुनः सूचना टाँसेर स्थगित गरिएको छ ।
आइतवार बोलाइएको नगरसभामा गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाणले स्थगित गरेपछि चर्किएको विवादले उग्र रूप लिएपछि सोमवार बैठक बोलाइएको थियो । सोमवार दिउँसो १ बजेका लागि बोलाइएको नगरसभा पौने १ बजे सूचना टाँस गरी स्थगित गरिएको हो । नगर कार्यपालिकाका सदस्य सचिव माधव पोखरेलले सूचना प्रकाशित गरी मंगलबार बिहान ११ बजेसम्मका लागि नगरसभा स्थगन गरिएको उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुखलगायत नगरसभा सदस्यहरूले पहिले बजेट पास गर्नु पर्ने अडान राखेका छन् । तर, एमालेबाट निर्वाचित उपप्रमुखलगायतका जनप्रतिनिधिहरूले विषयगत समितिहरूको टुंगो यसै नगरसभाबाट लगाउनु पर्ने अडानमा राखेका छन् । दुवै पक्षको अडानका कारण नगरसभा बस्न सकेको छैन ।
कांग्रेसले एमालेले बहुमतको दम्भ देखाएको आरोप लगाउँदै आएको छ । भने, एमालेले सत्ता र शक्तिको दुरुपयोग गरी कांग्रेसले न्यायिक समितिजस्तो गम्भीर विषयलाई अलपत्र पार्न खोजेको आरोप लगाएको छ ।