०७ साउन २०८३, बिहीबार

स्वास्थ्य बीमा सहजरूपमा भुक्तानी गर्न निर्देशन

स्वास्थ्य बीमा सहजरूपमा भुक्तानी गर्न निर्देशन

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा गरेका नागरिकलाई सरल र सहजरूपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकले स्वास्थ्य बिमा गरिसकेपछि सहज र सरलरूपमा भुक्तानी पाउनुपर्ने भन्दै त्यसो नभएको पाइएमा त्यो त्रुटि भए सच्याउन सरकार तयार रहेको जानकारी गराए । उनले स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री खापुङले हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिए । उनले भने, ‘खोप कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्छ ।’

मन्त्रालयका सचिव डा रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराए । यो महिनादेखि कोभिडको समयमा करारमा नियुक्त गरिएका कर्मचारीको करार नवीकरण नगरिएको उनले बताए । उनले भने, ‘कोरोना संक्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको छ ।’

शहीद गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजिनेरेटर पर्याप्त नभएको तर ज्यान बचाउनुपर्ने गम्भीर मुटुका बिरामीको शल्यक्रिया नरोकिएको स्पष्ट पारे । अस्पतालले  प्रौढ उमेरका बिरामी दैनिक आठ जनाको शल्यक्रिया गर्दै आएकामा हाल दैनिक आकस्मिक तीन जनासम्मको शल्यक्रिया गर्ने गरेको अस्पतालले जनाएको छ । 

बैठकमा सांसद गिरीराजमणी पोखरेल, योगेश भटटराई, सरिता न्यौपाने, अन्जना विसुङ्खे, सुरेन्द्र यादव र नविना लामाले स्वास्थ्यजन्य सामानको खरिद झन्झटिलो रहेको भन्दै सार्वजनिक खरिद ऐनलाई संशोधन गरिनुपर्ने धारणा राखेका थिए । रासस
 

कमेन्ट गर्नुहोस्