
गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ ।
गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी ५ वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका मन्दिरलाई संरक्षण, थप कलात्मक तथा मन्दिर वरपरका क्षेत्रमा योजनाबद्ध विकास गर्नका लागि पञ्चवर्षीय रणनीति तयार पारेको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले आफू आए पनि आगामी ५ वर्षभित्र कालिका मन्दिरमा गर्न सकिने विकास, सामाजिक कार्य तथा कालिकाको महिमा बढाउने विषयमा रणनीति तयार पारेर अघि बढेको बताए ।
उनले कालिका मन्दिरको विकासका लागि ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको र यसै योजनामार्फत आफूले काम गर्ने बताए । कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिर परिसरभित्र रहेका जीर्ण संरचना पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला निर्माण गर्ने, धार्मिक संग्रहालय निर्माण गर्ने, मन्दिर परिसरमा अखण्डधुनी निर्माण गर्ने, हवन कुण्ड निर्माण गर्ने, मन्दिर परिसरमा प्रयावरण सन्तुलन राख्नेजस्ता महत्त्वपूर्ण कार्य हुनेछन् ।
खड्काले भने, ‘पर्यटकीय गाइड राख्नेदेखि अपाङ्गमैत्री संरचना निर्माण गर्ने रणनीतिक योजनामा छ, यस्तै भक्तजनको रेकर्ड राख्ने, सिसी क्यामेराले निगरानी गर्ने र आफ्नै वेबसाइट निर्माण गर्नु हो ।’ मन्दिर प्रवेश गर्ने २ स्थानमा सुरक्षा गेट निर्माण गर्ने, मन्दिर परिसरको जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने लगायतका योजना समावेश गरिएको छ । कनिदर परिसरको घना जंगलमा चितुवा, मृग तथा कालिज प्रशस्त पाइन्छन् ।
रणनीतिक योजनाअनुसार काम गर्दा मन्दिरको भइरहेको संरचनामा क्षति नपुग्ने, कम खर्च लाग्ने र मन्दिरको स्वरूप नबिग्रने खड्काको भनाइ छ । मन्दिरले सामाजिक उत्तरदायित्वअनुसार योगा स्थानको व्यवस्था गर्ने, गरीब, जेहेन्दार, अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने, बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई व्यवस्थित गराउनका लागि पार्किङ व्यवस्थापन आश्रमले नै गर्ने र आम्दानी समेत आश्रमले नै लिने व्यवस्था मिलाइने मन्दिरको योजनामा समावेश गरिएको छ ।