
भरतपुर महानगरपालिकाका किशोरीलाई मंगलवारदेखि एचपीभी खोप लगाउन शुरू गरिएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप ११–१३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ७ बाट खोपको शुभारम्भ गरिएको छ । यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले यो खोप लगाउनु पाउनु नै ठूलो कुरा भएको बताए । धेरै प्रयासपछि खोप ल्याइएको भन्दै उनले यो उमेर समूहका सबैले खोप लगाउन आग्रह गरे ।
कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी दिए ।
अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिँदै उनले वडा नम्बर ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रूपमा लगाइने बताए । उनका अनुसार साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ ।
क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका ६ हजार किशोरीलाई यो खोप लगाउँदैछ । डा. शर्माले १२ हजार खोप आएको जानकारी दिँदै १ जनालाई ६ महिनाको फरकमा २ पटक खोप दिनुपर्ने बताए ।
यो एचपीभी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ । यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई यौनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै साइड इफेक्ट छैन । कसैकसैलाई यो खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, एलर्जी हुने लक्षण देखा पर्नसक्ने चिकित्सकले बताएका छन् ।
धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटक–पटक गर्भपतन गराएमा, धुमपान गरेमा, लामो समयसम्म हर्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने विज्ञले बताएका छन् ।
एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपीभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष ३ लाख महिलाको ज्यान जाने गरेको छ ।