
भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिरामी परेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार १२ वर्षका ति बालकले युट्युबमा हेरेर मदिरा बनाउने कोसिस गरेका थिए । एक सरकारी विद्यालयमा अध्ययनरत उनले घरमा अभिभावकले ल्याएको अंगुर प्रयोग गरेर मदिरा बनाउने कासिस गरेका थिए ।
उनले अंगुरको रसलाई बोतलमा जम्मा गरेर लामो समयसम्म जमिनमुनी गाडेका थिए । त्यसपछि उनले आफूले बनाएको मदिरा साथीहरूलाई खान दिएका थिए ।
उक्त मदिरा खाएका सबै साथीहरू गम्भीर बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । भारतीय प्रहरीले उक्त बालकले बनाएको मदिराको नमूना परीक्षणका लागि संकलन गरेको छ ।
ति बालकले मदिरा बनाउने क्रममा कुनै प्रकारको स्प्रिट तथा रसायन प्रयोग नगरेको प्रहरीलाई बताएका छन् । यद्यपि, मदिराको नमूना परीक्षणपछि मात्र उनले रसायनिक पदार्थ प्रयोग गरे–नगरेको विषयमा जानकारी बाहिर आउनेछ ।
यदि मदिरा निर्माणका क्रममा उनले कुनै पनि प्रकारको स्प्रिट वा रसायनिक पदार्थ प्रयोग गरेको पुष्टि भएमा कानूनी कारबाही हुने बताइएको छ ।