
कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक करीब ५ हजार बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ फिर्ता नगरी सम्पर्कविहीन भएका छन् । दुई दशकदेखि सञ्चालनमा रहेको र विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलेको यो सहकारी सञ्चालकले बचतकर्ताको पैसा फिर्ता दिन नसकेपछि बुधवारबाट सम्र्पकविहीन भएका हुन् ।
सहकारीका अध्यक्ष रामबहादुर गौतम हुन् । उनीसहित सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता रकम फिर्ता लिन नपाएको गुनासो गर्दै बिहीवारबाटै सहकारी धाउन थालेका थिए । सञ्चालक सम्पर्कविहीन भएको थाहा पाउनाथ सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शुक्रबार शिल गरेको सूचना टाँस गरेको छ । सहकारीले एभरेष्ट बैैंकको पैसा चलाएकोले भवन शिल गरेको हो । बैंकले शिल गरेको सूचना टाँसेपछि सहकारीका बचतकर्ता कालिमाटी प्रहरी र सहकारी विभागको शरणमा पुगेका छन् ।

यो सहकारीमा एकै व्यक्तिले ६ करोड रुपैयाँसम्म राखेको र पैसा फिर्ता दिलाइपाउँ भन्दै सहकारी विभागमा उजुरी दिन पुगेका छन् । विभागमा आइतवार बचतकर्ताहरू बचत रकम फिर्ता र सहकारीका सञ्चालकलाई कारबाही गर्न उजुरी दिन पुगेको छन् ।
विभागमा आइतवार दिउँसोको दर्के पानीमा भिज्दै सहकारीका बचतकर्ता उजुरी दिन लाइन लागेका थिए । आइतवार मात्रै करिब ५ सय सय बचतकर्ता उजुरी दिन सहकारी विभाग पुगेका छन् ।
विभागमा उजुरीमा दिन पुगेका बचतकर्ता विजय रञ्जितले मात्रै उक्त सहकारीमा डेढ करोड बचत फिर्ता लिनुपर्ने छ । रञ्जितले परिवारका अन्य सदस्य र आफूनिकट साथीहरूको रकम सहकारीले फिर्ता नदिएपछि उजुरी गर्न विभाग पुगेको लोकान्तरसँग बताए ।

उनले भने ‘म र मेरो श्रीमतीले मात्रै उक्त सहकारीमा ४७ लाख रुपैयाँ बचत गरेका छौँ ।’ वाणिज्य बैंकले कम ब्याज दिन थालेपछि सात वर्षअघिबाट उक्त सहकारीमा पैसा राख्न थालेको रन्जितले बताए । बैंकको तुलनामा सहकारीले धेरै व्याज दिने भएकाले रकम जम्मा गरेको उनको भनाइ छ ।
बैंकले बचतमा डेढ÷दुई प्रतिशत मात्रै ब्याज दिएको बेला गौतमश्रीले १४ देखि १८ प्रतिशतसम्म ब्याजदर दिएको थियो । ‘आफन्तहरूले २०औँ वर्षदेखि सोही सहकारीमा कारोबार गरिरहेकोले विश्वास मानेर आफूले पनि भएभरको पैसा लगेर राखियो, सहकारी भाग्छ भन्ने कुनै शंका नै थिएन्’, रञ्जितले भने ।
यो सहकारीमा बचत गरेका बचतकर्ताहरूले संघर्ष समिति गठनसमेत गरेका गरिसकेका छन् । समितिको संयोजकमा सञ्जय बानियाँ रहेका छन् । रञ्जित पनि सदस्य समितिको सदस्य छन् ।
सहकारी विभागले उजुरीसँगै कानूनी प्रक्रियामासमेत जानु भनेकोले विभागमै उजुरीसँगै कानूनी लडाइँको प्रक्रिया थालेको बचतकर्ताहरूको भनाइ छ । बचकर्ताले विभागमै अधिवक्ताको लागि लाग्ने शुल्कका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन समेत गरेका छन् ।
सहकारीले ७६ लाख रुपैयाँ लिएर फिर्ता नदिएका कुलेश्वरकै स्थानीय शरदकृष्ण मानन्धर पनि उजुरी दिन विभागमै भेटिए । परिवार लागेर सानो–सानो रकम जम्मा गरेको पैसा डुब्ने भयो भनेपछि विभागसम्म उजुरी दिन आएको उनले बताए । २० वर्षदेखि सहकारीसँग कारोबार गरेका मानन्धरले सञ्चालक बुधबारदेखि नै सम्पर्कमा नआएको थाहा पाएपछि सहकारी विभागमा सम्पर्क गर्न पुगेको बताए ।

सहकारी बिहीवारसम्म खुलै थियो । एक्कासी शुक्रवार एभरेष्ट बैंकले सूचना टाँस गरेर भवन शिल गरेपछि शुक्रवार नै प्रहरी र विभाग आइपुगेको मानन्धरले बताए । मानन्धरले आफ्नो व्यापारबाट जम्मा भएको पैसा, आमाको पेन्सन, श्रीमती र छोराको रोजगारीबाट आएको पैसा सहकारीमा राखेको बताएका छन् । सरकारीले राम्रो कारोबार गरिरहेको भए पनि एक्कासी सञ्चालक भागेपछि जीवनभर दुःख गरेको कमाई डुब्ने भयो भन्दै विभागको शरणमा आइपुगेको उनले बताए ।

अर्का बचतकर्ता राजेशकुमार सिंहले पनि उक्त गौतमश्री सहकारीमा ६४ लाख रुपैयाँ जम्मा गरेको बताएका छन् । उनको परिवारका सदस्यले २०औँ वर्ष लगाएर कमाएको रकम आकर्षक ब्याजदर दिने भनेपछि ३ जना दाजुभाइ, आमा र दिदीले उक्त रकम जम्मा गरेको लोकान्तरलाई बताए ।
सहकारीको कारोबार रोक्का गरेर अध्ययन गर्दैछौँ– सहकारी विभाग
सहकारी विभागले बचतकर्ताहरूले सहकारीका सञ्चालकहरू सम्पर्कमा नआएकाले बचत रकम फिर्ता गरिदिन माग गर्दै उजुरी दिएको बताएको छ । उजुरीपछि कुलेश्वरको उक्त गौतमश्री बहुउद्देश्यीय सहकारीको कारोबार रोक्का गरेर अध्ययन शुरू गरेको विभागले जानकारी दिएको छ । विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले पीडितले शुक्रबारदेखि नै उजुरी दिन थालेको बताए । बचतकर्ताको उजुरीका आधारमा अध्ययन शुरू भइसकेको उनको भनाइ थियो ।
सहकारीका उपरजिष्टार तथा सूचना अधिकारी टोलराज उपाध्याय ले आइतवारसम्ममा २२५ जनाले उजुरी दिएको बताए । आइतवार विभाग आइपुगेको थप बचतकर्ताले ठूलो वर्षातका कारण उजुरी दिन नभ्याएकोले पुनः थप उजुरी सोमवार आउने भएको छ । आइतवार नै विभागमा करीब ५ सय बचतकर्ता पुगेको पनि संघर्ष समितिले बताएको छ ।

सहकारीका सञ्चालक भागेको उजुरी पर्नासाथ विभागले शुक्रवार नै प्रहरी प्रधान कार्यालयलाई सञ्चालक खोजेर उपस्थित गराउन पत्र लेखेको छ । अब बचतकर्ताको उजुरीमा टेकेर विभागले सहकारीमा भएको समस्या अध्ययन गर्ने र सहकारीको सम्पत्ति र दात्यिव कति रहेछ भनेर अध्ययन गर्ने सूचना अधिकारी उपाध्यायले बताए ।
उपाध्ययका अनुसार अब विभागले सहकारी संस्थाको विषयवस्तु र अवस्था बुझेर उपयुक्त कारबाहीको लागि सिफारिस गर्ने छ । उनले भने ‘सहकारी समस्याग्रस्त घोषणा हुन सक्छ । समस्याग्रस्त घोषण भए पनि दायित्व र सम्पत्ति यकीन गरेर सोहीअनुसार राफसाफ हुन्छ ।’