
दर्शक/श्रोताबाट आलोचना भएपछि ‘पापाकी परी’ गीतबाट केही शब्द र दृश्य हटाइएको छ ।
शिव हमालको रचना, आशिष अविरलको संगीत एवं संगीत संयोजन र सुशीला पाठकको स्वर रहेको गीत सार्वजनिक भएसँगै आलोचना भएको थियो ।
आशिष अविरलको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा मोडल करिश्मा ढकाल पेटिकोट लगाएर नाचिएको दृश्य र केही शब्दलाई लिएर दर्शक श्रोता एवं कलाकारहरूले आलोचना गरेका थिए ।
संगीतकार अविरलले दर्शक /श्रोता एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आपत्तिलाई आत्मसाथ गर्दै गीत सम्पादन गरिएको जानकारी दिए ।
आफूहरूले दर्शक श्रोताकै लागि गीत निर्माण गरेको बताउँदै दर्शकहरूको आपत्तिलाई सहज रुपमा लिएको बताएका छन् ।
‘आखिर दर्शक श्रोताकै लागी गीत संगीत निर्माण गरेको हो । किन तर्क कुतर्क गरी रहने भन्ने ठानेर हामी दृश्य सम्पादन गर्ने निर्णयमा पुग्यौं । र, दृश्य मात्र होइन शब्दसहित त्यो भाग हटाइयो’ संगीतकार अविरलले सम्पादित गीत फेसबुकमा शेयर गर्दै लेखेका छन् ।
उनले दृश्य सम्पादनको लामो समय भइसक्दा पनि गालीगलौज भइरहेको बताउँदै यसलाई भने सहज रुपमा लिन गाह्रो परिरहेको उल्लेख गरेका छन् ।
उनले सम्पूर्ण गीत नै गलत हो त ? भन्ने प्रश्न गर्दै यसमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आधिकारीक धारणा आउनु आवश्यक रहेको बताएका छन् ।
उनले शृङ्गारिक शब्दको प्रयोग रहेको गीत नितान्त मनोरञ्जनका लागि बनाइएको बताउँदै प्रश्न गरेका छन् – गीतलाई अश्लीलताको पराकाष्टा देख्नु नियत हो की वास्तविकता ? दर्शक श्रोताकै आपत्ति हो की संगीत क्षेत्रको प्रतिशोध ?'
गीत पूरा हेरेर /सुनेर प्रतिक्रिया दिन संगीतकार अविरलले अनुरोध गरेका छन् ।